सहकारी ठगीमा पक्राउ पुर्जी जारी गरिएका २५ जना समातिएनन् ।
विराटनगर — मोरङको धनपालथान गाउँपालिकास्थित उमा–गौरी कृषि सहकारीको रकम अपचलनमा मुद्दा चलाइएका २५ जना अझै पक्राउ परेका छैनन् । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालगायत अभियुक्त फरार रहेका हुन् ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सहकारीको रकम अपचलनमा २६ जनाविरुद्ध गत बिहीबार जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । अभियुक्तमध्ये रोशन राजवंशी पहिले नै पक्राउ परेर पुपर्क्षका लागि थुनामा छन् । अन्य २६ जनालाई क्राउ गर्न गत मंगलबार मोरङ जिल्ला अदालतले पुर्जी जारी गरेको थियो ।
पुर्जी जारी हुँदा कोइराला विराटनगरमै थिइन् । विराटनगरको महेन्द्र रात्रि विद्यालयकी शिक्षक कोइराला गत शुक्रबार विद्यालयमा उपस्थित थिइन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत उपस्थित उनले आइतबारदेखि भने बिरामी भएको भन्दै पाँच दिन बिदा लिएको विद्यालयले जनाएको छ ।
ठगी आरोपमा सहकारीका अध्यक्ष शम्भु रौनियार, उपाध्यक्ष लक्ष्मण साह रौनियार, सचिव आलम अन्सारी मियाँसहितविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरिएको छ । अधिकांश अभियुक्त पक्राउ नपर्दा सहकारीपीडितले प्रहरी मिलेमतोको शंका गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद जोशीले भने अभियुक्तहरूको खोजी कार्य तीव्र पारेको बताए । ‘आरोपित भारतमा लुकेर बसेको अनुमान छ,’ उनले भने ।
लेखा समिति सभापति पोखरेलले यसअघि सहकारी ठगीमा आफ्नो र परिवारको संलग्नता नभएको दाबी गर्दै आएका थिए । तर प्रहरीको अनुसन्धानमा कोइरालाको संलग्नता देखिएपछि जिल्ला अदालतमा मुद्दा चलाइएको हो । सहकारीले नबिल बैंक र आरएसडीसी लघुवित्तबाट २४ करोडभन्दा बढी ऋण लिएको थियो ।
तर कर्जाको ठूलो अंश सहकारीका पदाधिकारीले नै हिनामिना गरेको आरोप बचतकर्ताले लगाएका छन् । ऋणीका नाममा धितो राखेर लिएको कर्जाको आधा रकम सम्बन्धित व्यक्तिलाई नदिई सञ्चालकले हिनामिना गरेको देखिएको छ ।
२०७२ देखि २०७८ सम्म सञ्चालक समिति सदस्य रहेकी कोइरालासमेतको हस्ताक्षरबाट सहकारीले कर्जा लिएको प्रमाण अभियोगपत्रमा समेटिएको छ । नबिल बैंकमा धितो राखेर लिएको ऋण फिर्ता गर्न नसक्दा सहकारीका करिब पाँच हजार सेयर सदस्य प्रभावित भएका छन् ।
‘कर्सिया क्षेत्रमा धेरै बचतकर्ता पीडित भएका छन्,’ सहकारीका सदस्य श्यामप्रसाद राजवंशीले भने, ‘मेरो पनि डुबेको छ ।’ दसैंको बहाना बनाएर गत कात्तिक १३ मा बन्द गरिएको सहकारी अहिलेसम्म खुल्न सकेको छैन ।
सभापति पोखरेलको राजीनामा माग माओवादी केन्द्रको कोशी संसदीय दलले उमा–गौरी सहकारी संस्था ठगीमा निष्पक्ष अनुसन्धान आवश्यक रहेको भन्दै संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।
संसदीय दलका नेता इन्द्र आङ्बोले सहकारी ठगीमा अञ्जला कोइरालाको संलग्नता प्रहरीको अनुसन्धानमा देखिएकाले पोखरेलले सभापति पदबाट राजीनामा दिनुपर्ने बताए ।
आङ्बोले पोखरेल सत्तारूढ दल एमालेको नेता भएका कारण सहकारीको ठगीसम्बन्धी अनुसन्धान प्रभावित भएको बताए । ‘निष्पक्ष अनुसन्धानका लागि पोखरेलको राजीनामा गर्नुको विकल्प छैन,’ बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘सरकारलाई वित्तीय अनुशासनमा राख्ने निकायको प्रमुखकै पत्नी सहकारी ठगीमा मुछिएको विषय सामान्य होइन ।’
