पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत नौमती बाजा सिकेर तिलोत्तमाका विद्यार्थीले स्थानीयस्तरमा हुने महोत्सव, पूजाआजा, विद्यालय तथा पालिकाको कार्यक्रममा बजाउन थालेका छन् ।
लुम्बिनी — कक्षा ६ मा पढ्ने रिजन जीसी दमाहा, ट्याम्को, ढोलक बजाउन पोख्त छन् । रूपन्देहीको तिलोत्तमा–५ शान्ति नमुना माध्यमिक विद्यालयमा पढ्ने उनले विद्यालयको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत यी बाजा बजाउन सिकेका हुन् । ‘अरूले बाजा बजाएको देख्दा मलाई पनि रुचि लाग्थ्यो,’ उनले भने, ‘अहिले विद्यालयमै सिक्न पाएँ ।’ विद्यालयका कार्यक्रमबाहेक अन्यत्र पनि बाजा बजाउन थालेको उनले बताए ।
सोही विद्यालयमा कक्षा ९ मा पढ्ने सिमन बस्नेत सहनाई बजाउँछन् । ‘सुरुसुरुमा सास फुलेर हैरान हुन्थें,’ उनले भने, ‘अहिले बानी पर्यो मजाले बज्छ । अरू साथीले सहनाईमा त्यति रुचि देखाएनन् । मैले सिकेर मुख्य लिडर बन्न पाएँ । रमाइलो लाग्छ, बजाउने काम ।’
कक्षा ९ कै रिता नेपाली, रोशनी कार्की, पारस जीसी र विनोद भट्टराईले दमाहा बजाउँछन् । ‘कुनै समुदायलाई बाजा बजाउने भनेर छुट्याउने जमाना गए । हामीले सिकेको बाजाले हामीलाई चिनाउन थालिसकेको छ,’ रोशनीले भनिन्, ‘परिवारले जे सीप भए पनि सिक्नुपर्छ भनेकाले सिक्यौं ।’
नौमती बाजामा रहेको झ्याली भरत अर्यालले र सहनाई कुशमाया उपाध्यायले बजाउँछन् । यही समूहका रन्जित ज्ञवाली रिजनसँगै ट्याम्को बजाउँछन् । सुजन न्यौपाने समूहका ढोलक वादक हुन् । भजनकीर्तनमा रुचि भएकाले मादल र ढोलक बजाउन ध्यान दिएको उनले बताए ।
नौमतीमा सबैभन्दा लामो बाजा कर्नाल हो, जसलाई विवश घर्ती मगरले बजाउँछन् । बाजा बजिरहेको बीचमा बजाइने कर्नाललाई बजाउँदै माथि सार्दा हात गलेर फतक्कै हुने उनले बताए ।
विद्यालयले नेपाली लोकबाजा संरक्षण र सीप सिकाउन विद्यार्थीलाई नौमती बाजा बजाउने तालिम दिएको हो । पहिलो चरणमा १० विद्यार्थीलाई दुई महिना तालिम दिइएको गुरु यमबहादुर परियारले बताए । विद्यालयका सांस्कृतिक संयोजक रन्जित भण्डारीले १ लाख ७० हजार रुपैयाँमा बाजा सेट किनेर सिकाउन थालेको बताए । ‘१५ हजार रुपैयाँ मासिक तलब दिएर प्रशिक्षक राखेका छौं,’ उनले भने, ‘अहिले कक्षा ११ र १२ का विद्यार्थीले सिकिरहेका छन् ।’
शान्ति नमुना मावि पन्चेबाजा टोली नाम दिइएको यो समूहले स्थानीयस्तरमा हुने महोत्सव, पूजाआजा, विद्यालय तथा पालिकाको कार्यक्रममा बाजा बजाउने गरेको छ । बाजा बजाएबापत प्रतिविद्यार्थी ५ सय रुपैयाँ विद्यालयबाट पाउँछन् ।
‘बाँकी पैसा बाजा मर्मतका लागि राखिदिएका हुन्छौं,’ भण्डारीले भने, ‘यसबाहेक बाहिरी कार्यक्रममा समेत कसैले बोलाउँदा आफैं जान्छन्, कमाउँछन् ।’
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बाजासँगै विद्यार्थीले खेती, वेल्डिङ, अन्य सीप सिकिरहेको बताए । पढ्दै कमाउँदै कार्यक्रमबाट विद्यालयस्तरमै सीप सिकाउने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । यसले देशमै केही गर्न सकिन्छ भन्ने सन्देश पनि जाने र जनशक्ति विदेशिन रोकिने अपेक्षा राखेको उनको भनाइ छ ।
