माओवादीप्रति जनमत सकारात्मक : दाहाल

पुस ४, २०८१

कान्तिपुर संवाददाता

Public opinion is positive towards Maoists: Dahal

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकरात्मक देखिएको बताएका छन् ।

उपनिर्वाचनको परिणामपछि उत्साहित दाहालले गत साता भएको पत्रकार महासंघको निर्वाचनमा पार्टीको निकट संगठन प्रेस सेन्टरले एक कोषाध्यक्ष र छ केन्द्रीय सदस्य जितेपछि सन्तुष्टि जनाएका हुन् ।

उनले कांग्रेस निकट  प्रेस युनियन र एमालेको प्रेस चौतारीको गठजोड भए पनि सेन्टरले कोषाध्यक्षसहित केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष जित्नु सकारात्मक संकेत भएको बताए ।

‘स्थानीय तह उपनिर्वाचन र पत्रकार महासंघको चुनावी परिणामले उत्साहित बनाएको छ,’ उनले भने, ‘पत्रकार साथीहरु सचेत भएर सेन्टरलाई जिताउनु भयो । यो जनमत सकारात्मक मान्नुपर्छ ।’

दाहालले आफ्नो निवास खुमलटारमा बिहीबार महासंघमा जित्ने कोषाध्यक्ष, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षलाई बधाई दिएका थिए ।

सेन्टरले पत्रकार महासंघको ५१ सदस्यीय केन्द्रीय समितिमा कोषाध्यक्षसहित  ६ केन्द्रीय सदस्य जितेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully