‘दशी धारा पो नरोए आमा बाँची पठाउँला तस्बिरै खिचेर’

दलाललाई सात/सात लाख बुझाएर रुस पुगेका कञ्चनपुरका विराजन विष्ट लडाइँमा मारिए, भाइ निराजनलाई गोली लाग्यो, छिमेकी लोकेन्द्र ६ महिनादेखि सम्पर्कविहीन

पुस ४, २०८१

भवानी भट्ट

”If Dashi Dhara doesn't cry, mother will send it alive by taking a picture”

कञ्चनपुर — ‘आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन् ?’ ६ दशकअघि यो गीत गाएका झलकमान गन्धर्व बितेको पनि दुई दशक भइसकेको छ । सुगौली सन्धियता बर्मा, मलाया, कोरिया, युरोप, फोकल्यान्ड, कारगिल र अफगानिस्तानसहित संसारभरका लडाइँमा खुन बगाएका नेपालीको वेदनाले उनको गीतलाई कालजयी बनाएको छ ।

झलकमानको गीतसँगै मिल्दो कथाले कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरकी कमलादेवी विष्टलाई अहिले रुवाइरहेको छ । रुसी सेनामा भर्ती भएर छोरा लोकेन्द्रले गत असारमा मेसेन्जरमा भनेका थिए, ‘चिन्ता नलिनु आमा, ऋण तिरिसकेको छु, अब फर्किएर घर बनाउने हो ।’ छोराको त्यो वचनयता कमलादेवीको फोन सुनसान छ, त्यसैले आमाको आँखाबाट दशधारा रोकिएको छैन । 

 रुस–युक्रेन युद्धमा किन गए होलान् नेपाली ? धेरैतिर अहिले यही टिप्पणी हुन्छ । अरू धेरै युवाजस्तै लोकेन्द्र पनि रहरले बिरानो देशको लडाइँमा गएका होइनन् । रोजगारीकै क्रममा उनले यसअघि नै मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्समा पसिना बगाइसकेका थिए । 

तर त्यहाँको कमाइले घरको गुजारा मात्र चल्यो, एउटा भरपर्दो ओत पनि बनाउन नसकेपछि उनले रुस–युक्रेन युद्धमा होमिने निर्णय गरेका थिए । उता जाने बाटो देखाउने पनि उनीजस्तै पृष्ठभूमि भएका गाउँले हुन् । छिमेकी दाजुभाइ विराजन र निराजन विष्ट रुस जान लागेको थाहा पाएपछि लोकेन्द्रले पनि दलाललाई भेटेका थिए । पैसा पनि थोरै होइन, दलालले उनीहरूबाट सात/सात लाख उठाए । यसका लागि लोकेन्द्रले पनि गाउँमै ऋण काढेका थिए । 

 दिल्ली हुँदै रुस पुगेका उनीहरूलाई एक सातामै सेनामा भर्ना गरियो । त्यसपछि केही दिन सामान्य तालिम दिएर सिधै युद्धमा खटाइयो । सँगै गएका विराजन वैशाख १७ मा युद्धकै क्रममा मारिए । परिवारका सदस्यले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।

विराजनका भाइ निराजनलाई पनि गोली लाग्यो । लामो उपचारपछि उनी घर फर्कने तयारीमा रहेको परिवारले जनाएको छ । लोकेन्द्रकी आमा पनि छोरा फर्कने खबरको प्रतीक्षामा छिन् । तर ६ महिनायता कुनै खबर छैन । 

 सुन्दरपुरमा विष्ट परिवारको कच्ची घर छ । कच्ची घरको छेवैमा पक्की घरको जग हालेर ‘पिलर’ पनि उठाइएको छ । त्यही घर पूरा गर्ने सपनासहित लोकन्द्र युक्रेनको युद्धभूमिमा खटिएका थिए । पछिल्लो पटक असार दोस्रो साता मेसेन्जरमा कुरा हुँदा लोकेन्द्रले मंसिरमा फर्किने र घर बनाउने बताएका थिए । ‘म ठीक छु आमा, चिन्ता नलिनु । मंसिरमा आइहाल्छु, अनि पक्की घर बनाउने हो ।’ 

मेसेन्जरमा नियमित कुरा गर्न पाउने पनि होइन । युद्धबाट ओत लाग्न पाएको दिन मात्र उनी सम्पर्कमा आउँथे । आमासँग कुरा गर्नु एक साताअघि उनले श्रीमती र दिदीसँग एकैछिन बोलेका थिए । त्यसयता उनीहरू सबैजना मेसेन्जर हेरिरहेका छन्, तर लोकेन्द्रको अत्तोपत्तो छैन । कहिलेकाहीं आउने फोनले पनि उनलाई झुक्याउँछ, ‘छोराको केही खबर आयो कि भनेर सोध्ने फोन मात्र आउँछ, भेटियो भनेर खबर कहिले आउनेहोला ?’ 

सम्पर्क विच्छेद भएको केही समयमा ‘लोकेन्द्र लडाइँमा पर्‍यो, घाइते भएको छ’ खबर आएको थियो । आमा भन्छिन्, ‘लडाइँमा पर्‍यो, सामान्य घाइते छ भनेर साथीहरूले खबर गरेका थिए । पछि खबर गर्छौं भनेका थिए । त्यसपछि उनीहरू पनि सम्पर्कमा छैनन् ।’ आफ्नो छोरालाई कस्तो भयो, खबर गर्ने साथीहरूलाई के भयो ? आशा र कामना गर्नेबाहेक केही उपाय उनीसँग छैन । 

”If Dashi Dhara doesn't cry, mother will send it alive by taking a picture”

 लोकेन्द्रले गोरखामा बिहे गरेका थिए । श्रीमती मीना गोरखामै बस्छिन्, साथमा छन् ४ वर्षका छोरा । ‘पुरानो ऋण तिरिसकें, अब गाउँबाट निकालेको ऋण भदौभित्रै तिर्छु भनेको थियो,’ आमा भन्छिन्, ‘मंसिरमा फर्किन्छु, आमा चिन्ता नलिनुस् भन्थ्यो, अहिले उसैको अत्तोपत्तो नै छैन ।’ लोकेन्द्रका भाइ यादव भारतको अहमदावादमा छन् । 

 लोकेन्द्रजस्तै रुसी सेनामा भर्ती भई युक्रेनविरुद्धको युद्धमा होमिएका नेपालीको यकिन तथ्यांक सरकारसँग छैन । त्यहाँ गएका नेपालीहरूका अनुसार करिब १५ सय सेनामा भर्ना भएको अनुमान छ । जसमध्ये ४६ नेपालीको ज्यान गएको परराष्ट्र मन्त्रालयले पुष्टि गरिसकेको छ । लोकेन्द्रजस्तै सम्पर्कविहीन भएका १ सय १८ जनाका परिवारले खोजबिनका लागि कन्सुलर विभागमा निवेदन दिएका छन् । 

नेपाल सरकारको पहलपछि रुसले नेपालीलाई भर्ना गर्न छाडेको परराष्ट्रको दाबी छ । त्यसयता करार नवीकरण गर्न नचाहनेका लागि रुसी सरकारले नीति खुकुलो बनाएको छ । करारपत्र रद्द गरेर नेपाली युवा युक्रेनको युद्धग्रस्त क्षेत्रबाट रुसको राजधानी मस्को फर्कन थालेका छन् ।

तर युद्धमा ज्यान गुमाएको पुष्टि भएका ४६ जनाको परिवारलाई क्षतिपूर्ति दिलाउन र बेखबर भएका लोकेन्द्रजस्ता एक सय १८ नेपालीको खोजबिनका लागि सार्थक पहल भएको छैन । त्यसैले आमाहरू दशै धारा रोएर बस्न बाध्य छन् ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully