नेकपाले कपिलवस्तुको शिवगढीमा धान, पहाडमा सिमी, कोदो, फलफूल उत्पादन गर्दै आएको छ । भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा नेताहरूले आफ्नै गार्मेन्टमा उत्पादित कपडाको कोट पाइन्टसमेत लगाएका थिए ।
काठमाडौँ — नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजनीतिक अभियान र कृषि उत्पादनलाई सँगसँगै अघि बढाउने निर्णय गरको छ । कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै ‘नयाँ आर्थिक मार्ग’ को नयाँ प्रस्ताव पनि नेकपाले पारित गरेको छ । यसअघि सामूहिक रूपमा कृषि सहकारी, पशुपालन र गार्मेन्ट उद्योग सुरु गरेको नेकपाको केन्द्रीय समिति बैठकले कृषिमा उपादनको विशेष प्रस्ताव पारित गरेको हो ।
महासचिव नेत्रविक्रम चन्दको राजनीतिक प्रस्तावमा आर्थिक उत्पादनको विषय प्रमुखतासाथ उठाइएको छ । कलिपवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा भएको केन्द्रीय समितिमा चन्दले राजनीतिक र आर्थिक क्रान्ति सँगसँगै अघि बढाउनुपर्ने प्रस्ताव पारित भएको छ ।
२०७७ फागुनमा शान्तिपूर्ण राजनीतिमा आएपछि नेकपाले कपिलवस्तुलगायत केही जिल्लामा भाडामा जग्गा लिएर सामूहिक खेती सुरु गरेको थियो । त्यसअघि नेकपाले भूमिगत रहेर विद्रोहको अभ्यास गरे पनि असफल भएको थियो । पार्टी, नेता–कार्यकर्तालाई आत्मनिर्भर बनाउने आर्थिक अभियान सोचेभन्दा राम्रो प्रभाव र परिणाम आएको नेकपाको दाबी छ । उसले प्रचारात्मक रूपले मात्र होइन परिणामका दृष्टिले समेत अरुले अनुमान गर्ने स्तरभन्दा धेरै सफल भएको जनाएको छ । ‘यो समयमा पार्टीको पहिचान र प्रतिष्ठा नै उत्पादन बन्न पुगेको छ,’ चन्दले प्रतिवेदनमा लेखेका छन्, ‘यो नेकपा र नेता कार्यकर्ताका लागि सुखद अनुभूति हो ।’
चन्दले अब आर्थिक मोर्चाले राजनीतिलाई डोर्याउन उत्पादनमा जोड दिएका छन् ।‘समयले आर्थिक मोर्चाबाट राजनीतिक कमान्ड गर्नुपर्ने आवश्यकता बनेको छ । क्रान्तिमा पैदा भएको उतारलाई चढावतिर, रक्षात्मकतालाई आक्रामकतातिर, पराजयलाई विजयतिर बढाउन अर्थसम्बन्धमा नयाँ विकास अझै आवश्यक बनेको छ,’ चन्दको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘नेकपाले यो बुझेर पनि आर्थिक विषयमा दीर्घकालिक महत्त्वका संश्लेषणहरू गर्दै अगाडि बढिरहेको छ । परिणाम पनि सकारात्मक आइरहेका छन् ।’
नेता सन्तोष बुढाले आर्थिक उत्पादनलाई मुख्य जोड दिएको बताए । ‘यो केन्द्रीय समितिले आर्थिक उत्पादनलाई बढाउने महत्त्वपूर्ण निर्णय गरेको छ,’ उनले भने । नेकपाले हिमाल, पहाड र तराईमा १२० बिघामा धान, दाल, तेलजन्य, फलफूल खेती सुरु गरेको जनाएको छ । यसले पार्टीका साथै समग्र देशलाई योगदान गर्ने विश्वास गरेको छ ।
‘असारदेखि यता भएको उत्पादन गत वर्षभन्दा माथि पुगेको छ । १२० बिघामा धान र पहाडमा सिमी, कोदो, फलफूल उत्पादन गरियो । यसबाट दुई हजार क्विन्टल धानलगायत खाद्यान्न, दलहन र फलफूल उत्पादन भएको छ,’ राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘नेकपाको उत्पादन कार्य नेपालको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा नयाँ भइरहेको छ र विगतमा केही पर्यत्नहर" भएको पाइन्छ तर ती आन्दोलनका रुपमा उठन सकेनन् न त टिक्न नै सके ।’
चन्दले यसअघि कम्युनिस्ट पार्टीले उत्पादन गर्ने बताएपछि असफल भएको संकेत गरेका छन् । माओवादी सशस्त्र युद्धका बेला रोल्पा, रुकुममा सामूहिक खेती गरे पनि शान्ति प्रक्रिायमा आएसँग बन्द भइसकेको छ । माओवादीले २०६९ माघमा भएको हेटौंडा महाधिवेशनले उत्पादन बिग्रेड घोषणा गरे पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन ।
चन्दले उत्पादन सुरु गरेपछि सफल परिणाम पाइएको उल्लेख गर्दै राजनीतिक रूपमा सकरात्मक सन्देश गएको दाबी गरेका छन् । ‘यसले पार्टीको ओझ, गरिमा र सारतत्वलाई नयाँ उचाइमा उठाइदिएको छ । हाम्रो उत्पादन अभियानमा कैयौं व्यवसायी, बुद्धिजीवी, कर्मचारी र पार्टी प्रतिनिधिहरूको सकारात्मक सहयोग रहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार मोरङ र कलिपवस्तुमा भएको गाईपालनले आम्दानी दिन सुरु गरेको छ । उत्पादनका क्षेत्रमा नयाँ प्रयोग गर्दै दुईवटा गाईपालन मोरङ र कपिलवस्तुमा सुरु गरेको र कपिलवस्तु गाई फारमले २ लाख आम्दानी गरी केन्द्रीय कार्यालयमा पठाएको विवरण छ । त्यस्तै काठमाडौं उपत्यका क्षेत्रमा स्थापना भएको फिनेल उद्योगले आम्दानी सुरु गरेको छ ।
‘नेकपाले आर्थिक क्षेत्रमा आत्मनिर्भरताको विचार लागू गरेपछि पार्टीलाई मात्र होइन देशलाई नै प्रभावित पारेको छ,’ चन्दले भनेका छन्, ‘सबै क्षेत्रमा रहेका सकारात्मक सोच भएका नागरिकले सक्दो सहयोग गरिरहेका छन् । सबै शक्तिलाई युद्धस्तरमा परिचालित गर्ने हो भने कसैले अनुमान नगरेको परिणाम हासिल गर्न सकिन्छ ।’
‘श्रमबाट समृद्धिका लागि उत्पादन’
नेकपाले सुरु गरेको उत्पादन कार्यले नयाँ समाजवादी आर्थिक सम्बन्ध विस्तार गर्ने र त्यसले समाजवादको आधार तयार गर्ने जनाएको छ । ‘हामीले अनुसरण गरेको उत्पादन कार्य केवल पार्टीलाई आत्मनिर्भर गराउनेसँग मात्र पनि सम्बन्धित छैन,’ नेकपाको प्रतिवेदन भन्छ, ‘यसको दीर्घकालिक सम्बन्ध पुरानो आर्थिक आधारलाई भत्काउने र समाजवादी प्रकारको आर्थिक सम्बन्धको निर्माण गर्ने र आम नागरिकलाई श्रमबाट समृद्धि ल्याउन सकिन्छ भन्ने विश्वास दिनेसँग पनि छ । तसर्थ यसको महत्वलाई विशेषरुपले ग्रहण गर्नु पर्दछ ।’
आर्थिक उत्पादनलाई नयाँ ढंगले परिमार्जन गरी अघि बढेमा मात्र सफल हुने नेकपाको विश्लेषण छ । पुरानो तरिकाले राजनीतिक र आर्थिक क्रान्ति पूरा नहुने भएकाले सामूहिक उत्पादनमा जोड दिएको छ । ‘आर्थिक क्षेत्रमा विकास गरेको एकीकृत स्वामित्वको मौलिक दृष्टिकोण तथा जीवनव्यवहारमा लागू गरेको आत्मनिर्भरतालाई नयाँ उचाइ दिन आवश्यक छ । यसका लागि आर्थिक कार्य र व्यवहारमा नयाँ र फरक मार्ग अपनाउन जरुरी भएको छ,’ महासचिव चन्द लेख्छन्, ‘यसलाई एकीकृत स्वामित्व, सामूहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्वको नयाँ मार्ग भन्नु उचित हुन्छ । यसले पार्टीभित्र समाजवादको प्रयोगलाई व्यक्त गर्ने छ भने उत्पादनले आत्मनिर्भरता र समृद्धितिर बढाउने छ ।’
'नेताहरूको आर्थिक जीवनको लेखाजोखा आवश्यक'
नेपालका कम्युनिस्ट पार्टीहरूका नेता धनी र पार्टी गरिब हुने तथ्य छ । आर्थिक उत्पादनलाई पार्टीसँग जोड्न नसक्दा नेताहरु धनी हुने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा पार्टी र नेताको आर्थिक उत्पादनलाई महत्वका साथ हेर्नुपर्ने बताएका छन् ।
‘हरेक नेताले आफ्नो निजी आर्थिक कार्य र पार्टीको आर्थिक कार्यलाई तालमेलमा राख्न सिक्नु हो। । नेताहरुको आर्थिक जीवन कसरी चलेको छ या नेताले गर्ने कार्यबाट पार्टीको आर्थिक कार्यलाई कसरी मद्दत पुगेको छ भन्ने विषय ज्यादै महत्वको छ,’ चन्दले राजनीततिक प्रतिवेदनमा लेखेका छन्, ‘यो मिलाउन सकिएन भने समाजवाद फेरि पनि उत्पादन विनाको वितरणको कुहिरोमा हराउने छ ।’
नेकपाले उत्पादनमा मौलिक विशेषता अपनाएर नेता कार्यकर्ताको सहभागी भएकाले सफलता पाएको दाबी गरेको छ । ‘यो योजनाबाट थप विकास गर्दै पार्टीबाट नेता कार्यकर्तालाई होइन, नेता कार्यकर्ताको उत्पादन पार्टीलाई भन्ने विचार र नीति प्रयोग गर्नु हो,’ नेकपाको प्रतिवेदनमा भनिएको छ । पार्टीको उत्पादन गर्ने नीतिलाई कडाइपूर्वक लागू गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ । यो नीति प्रयोग गर्यो भने आफूलाई चाहिनेभन्दा कैयौं गुणा बढी उत्पादन गर्न सक्छ र पार्टीलाई पनि बलियो बनाउने छ । केन्द्रीय समिति, प्रतिनिधि समितिसम्म उत्पादनमा अनिवार्य सहभागी बन्नुपर्छ,’ चन्दले भनेका छन्, ‘नेता र कार्यकर्ता एकीकृत स्वामित्वबाट सामूहिक स्वामित्वतिर र जनता निजी स्वामित्वबाट एकीकृत स्वामित्वतिर अगाडि बढ्ने विधि अवलम्बन गर्न सकिन्छ । यसो गर्न सक्दा कम्युनिस्ट आन्दोलनले नै युगान्तकारी मार्ग निर्माण गर्ने छ ।’
आफैंले उत्पादन गरेको ‘युनिफर्म’ मा केन्द्रीय नेता
नेक्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा सबै सदस्यले आफ्नै गार्मेन्टमा तयार गरिएको ‘युनिफर्म’ लगाएका थिए । कपिलवस्तुको शिवगढीमा जारी बैठकमा १४५ जना केन्द्रीय सदस्यले चिटिक्क परेको कालो कोट पाइन्ट र कमिज लगाएर बैठकमा सहभागी भएका थिए ।
शिवगढी केन्द्रीय कार्यालयमा स्थापना भएको गार्मेन्टमा सिलाएका युनिफर्म उपलब्ध गराइएको नेता सुदर्शन मंगोलले बताए । ‘नेताहरूको पोसाकमा एकरूपता देखियोस् भनेर आफ्नै गार्मेन्टमा उत्पादन भएका कपडा लगाएका हौं,’ उनले भने, ‘कपडा किनेर आफ्नै उद्योगले सिलाउँदा सस्तो र राम्रो पनि हुने भयो ।’
नेकपाले केन्द्रीय कार्यालय रहेको शिवगढीमा करिब १० लाख लगानीमा गार्मेन्ट स्थापना गरेको छ । काठमाडौंको कपुरधारामा पनि पार्टीले अर्को गार्मेन्ट स्थापना गरी पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यक पर्ने कोट, पाइन्ट, कमिज र ट्रयाक सुट सिलाउँदै आएको मंगालले बताए ।
नेकपाले हिमाल, पहाड र तराईमा गरी १२० बिघा जमिनमा खेती लगाएको जनाएको छ । नेकपाले खेती लगाउने मौसममा सबै केन्द्रीय सदस्यहरु एक महिना अरु राजनीतिक कार्यक्रम बन्द गरेर उत्पादमा केन्द्रित भइरहेको उसको भनाइ छ ।
पूर्व माओवादी नेता एवं मन्त्री लोकेन्द्र विष्ट पनि ड्रागन खेती, कालोधान उत्पादन क्षेत्रमा लागेका थिए । उनले मुलुकमा उत्पादन नगरी अघि बढ्न नसक्ने उल्लेख गर्दै जनताको हितमा समाजवादतिर जानुपर्ने बताए । नेकपा (चन्द) को पार्टीले सुरु गरेको उत्पादन अभियानले राम्रो सन्देश दिएको उल्लेख गर्दै त्यसलाई टिकाउने आधार स्पष्ट हुनुपर्ने बताए । ‘उनीहरूले जे उत्पादन गरिरहेका छन्, त्यो राम्रो हो । टिकाउ हुन्छ कि हुन्न भन्ने प्रश्न हो,’ उनले भने, ‘ केही समय स्टन्टबाजी भयो भने उत्पादन अभियान सफल हुने देखिँदैन । जनतासँग जोडेर लिएर गए भने सफल हुने सम्भावना हुन्छ ।’
आर्थिक उत्पादनलाई जनताको पक्षमा हुने राजनीति कार्यदिशासँग जोड मात्र सफल हुने उनको भनाइ छ । ‘माओवादीसँग एकता गर्ने भनेका छन्, त्यो भयो भने बसिबसी खाने बानी लाग्यो भने काम लाग्दैन,’ उनले भने, ‘साँच्चै गरिखान्छौ भन्ने हो भने जनताको पक्षमा राजनीति र आर्थिक उत्पादनलाई जोडेर समाजवादको बाटोमा अघि बढ्नुपर्छ ।’
'हामीले राजनीतिक र कृषि उत्पादन सँगसँगै लगेका छौँ'
नेकपाले साँच्चिकै कृषि उत्पादनमा जोड दिएको हो कि प्रचारमात्र हो ?
हामीले राजनीतिक र कृषि उत्पादन सँगसँगै लगेका छौ । यो साँच्चै आत्मनिर्भर हुने बाटो हो भनेर कृषि उत्पादनमा लागेका हौँ । प्रचारमात्र होइन, तपाईं खेती भएको क्षेत्रमा आएर हेर्न सक्नुहुन्छ ।
तपाईंहरूले कसरी खेती गर्नु भएको छ ?
हामीले १२० बिघा भाडामा लिएर खेती भइरहेको छ । अब तराईमा थप एक सय बिघा भाडामा लिँदैछौँ । सरकारको बाँझो जमिन नराख्ने नीति छ । त्यसलाई कार्यान्वयन गर्दै बाँझो जमिनलाई उपयोग गर्नेछ ।
नेकपाले सार्वजनिक र व्यक्तिको जग्गा कब्जा गररे खेतीपाती गरेको भनिन्छ नि ?
हामीले कसैको कब्जा गरेर खेती गरेका छैनौँ । हामीले पाँच, दस वर्ष भाडामा लिएर खेती गरेका छौँ । केही जनयुद्धका बेला छाडेको केहीमा जग्गामा जनताले खेती गरेका होलान् । त्यो कब्जा गरेको भन्न मिल्दैन ।
केन्द्रीय सदस्यलाई एउटै युनिफर्म किन लगाउनु भएको हो ?
एकरुपता आओस् भनेर पनि हो । आफ्नै गार्मेन्टमा सिलाएको सेट सस्तो पर्यो । कोट, सर्ट र पाइन्ट जम्मा छ हजार मात्र हो । बैठकमा केन्द्रीय सदस्य समान देखिनुपर्छ भनेर एउटै युनिफर्म बनाएका हौँ ।
नेकपाले सहकारी पनि चलाएको छ ?
काठमाडौं, कपिलवस्तुलगायत जिल्लामा सहकारी पनि चलाएका छौँ । त्यस्तै कपिलवस्तुमा सामुदायिक अस्पताल बनाउँदै छौँ । त्यसबाट जनताले सुलभ स्वास्थ्य सेवा पाउने छन् ।
