त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ : पूर्वशिक्षामन्त्री श्रेष्ठ

पुस ३, २०८१

कान्तिपुर संवाददाता

The report of the Tertiary Land Inquiry Committee should be made public immediately: Former Education Minister Shrestha

काठमाडौँ — प्रतिनिधि सभा सदस्य एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छिन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा उच्चस्तरीय समितिको उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएकी हुन् ।

श्रेष्ठले कुलपतिको हैसियतमा रहेका प्रधानमन्त्रीलाई समेत समितिमा निम्त्याएर छलफल गर्नुपर्ने माग राखिन्।  ‘अशोक राइज्यू शिक्षामन्त्री हुँदा हालका मन्त्रीज्यू र म नै सांसद थियौँ। हामीले त्यतिबेलै उच्च शिक्षाबारे छलफल गर्न कुलपतिज्यूलाई बोलाउँ भनेका थियौँ। अहिले त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदनबारे छलफल गर्न पनि कुलपतिज्यूलाई निम्त्याउनुपर्छ,’ उनले भनिन् ।

त्रिविको दर्जनौँ रोपनी जग्गा विश्वविद्यालयकै पूर्व पदाधिकारी र केही राजनीतिक व्यक्तिहरूको संलग्नातामा हिनामिना गरिएको गुनासो आएपछि गत जेठ १७ गते नेपाल सरकारले तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको प्रस्तावमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको थियो। त्रिविको जग्गामा कतै निजी घर बनाइएको त कतै निजी स्कुल र पेट्रोल पम्प चलाइरहेको समाचार आउने गरेका थिए । 

त्रिभुवन विश्वविद्यालयको जग्गा छानबिन गर्न नेपाल सरकारले बनाएको उच्चस्तरीय समितिले प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा हिनामिना गर्ने जो कोही भए पनि कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने बताएका छन् । त्रिविको जग्गा तथा सम्पत्ति खोजविन आयोगको प्रतिवेदन सरकारलाई प्राप्त भइसकेको भन्दै प्रधानमन्त्री ओलीले आयोगको सिफारिसबमोजिम सरकारले कारबाही अघि बढाउने बताएका हुन् ।

कान्तिपुर

Link copied successfully