विराटनगर — मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट उच्च अदालत विराटनगरको इलाम इजलासले मंगलबार खारेज गरिदिएको छ । यससँगै उनले बैंकबाट लिएको ऋण असुल्न बैंकहरूलाई सहज भएको छ ।
मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको उच्च अदालतका प्रवक्ता युगेन काजी बान्तवाले जनाए । उनका अनुसार बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित २०८० असार ८ गते रिट दायर गरेका थिए ।
कुमारी बैंकको शाखा कार्यालय विर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर प्रसाईंले निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । यो रिटमा इलाम इजलासले २०८० असार १० गते 'कारण देखाऊ' आदेश जारी गरेको थियो । १८ पटक पेशी चढेको यो रिटको सुनुवाइ ९ पटक स्थगित भएको थियो ।
