सहकारी ठगीमा लेखा समिति सभापतिकी पत्नीविरुद्ध पक्राउ पुर्जी

सहकारी ठगीमा पूर्वसांसद, मेयरदेखि दर्जन नेता जेलमा, केही अझै फरार

पुस ३, २०८१

यज्ञ बञ्जाडे

Arrest warrant against wife of chairman of audit committee in co-operative fraud

काठमाडौँ — संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध सहकारी ठगी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । मोरङको धनपालथान–३ मा सञ्चालित उमा–गौरी कृषि सहकारीको बचत अपचलनमा संलग्न देखिएपछि मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।

उक्त सहकारी ठगीमा मंसिर २७ मै कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । 

एमाले नेता पोखरेलकै पहलमा स्थापना गरिएको सहकारीमा कोइरालालाई सञ्चालक समितिमा राखिएको थियो । उनी २०७२ देखि २०७८ सम्म सञ्चालक सदस्य थिइन् । कोइरालासमेतको हस्ताक्षरबाट भएको निर्णयको आधारमा सहकारीले बुटवलस्थित आरएसडीसी लघुवित्तबाट ११ करोड ५६ लाख ऋण लिएको थियो ।

ऋण नतिरेपछि लघुवित्तले यसअघि नै कोइरालालगायतलाई कालोसूचीमा राखिसकेको छ । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ मा राजीनामा दिएकी थिइन् । 

उजुरीमा कोइरालाको नाम भए पनि प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले गत भदौ २४ मा सहकारीका अन्य १० जनामाथि मात्र अनुसन्धान गर्न प्रहरीलाई निर्देशनात्मक पत्र पठाएको थियो । त्यति बेला राजनीतिक दबाबमा कोइरालाको नाम हटाइएको भन्दै प्रश्न उठेको थियो ।

इलाका प्रहरी कार्यालय रंगेलीले गरेको अनुसन्धानमा रकम अपचलनमा कोइरालासमेत संलग्न देखिएपछि २६ जनाविरुद्ध साढे २२ करोड बिगो र ८ वर्ष कैद मागदाबी गरेर जिल्ला अदालतमा गत बिहीबार मुद्दा दायर गरिएको हो । त्यसअनुसार पहिले पक्राउ परेका एक जनाबाहेक कोइरालासहित २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । 

सहकारी ठगीमा बलियो राजनीतिक पहुँच भएका व्यक्ति मुछिएको यो पहिलो घटना होइन । सर्वसाधारणले सहकारीमा गरेको बचत हिनामिनामा नेता, नेताकी पत्नी वा बलियो राजनीतिक पहुँच भएका व्यक्ति जोडिएका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।

तीमध्ये कतिपय फरार छन् भने कोही पक्राउ परेर अदालतमा मुद्दा चलाइएका छन् । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । सूर्यदर्शन सहकारी ठगीमा उनीसहित कुल ५१ जनालाई प्रहरीले आरोपित भनेको छ । 

एमालेका पूर्वसांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ सहकारी ठगीकै अभियोगमा जेलमा छन् । सिभिल सहकारीमा सर्वसाधारणले जम्मा गरेको करिब ८ अर्ब अपचलन गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

सोही कसुर अनुसन्धानका लागि २०७८ असोज १८ मा पक्राउ परेका तामाङ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि डिल्लीबजार कारागारमा छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा भने तामाङलाई विशेष अदालतले २०८० माघमा दोषी ठहर गरिसकेको छ । तामाङको मुद्दामा फैसला गर्ने क्रममा अदालतले सहकारीको रकम निजी कम्पनीमा लगानी गर्नु दण्डनीय कसुर मानिने व्याख्या गरेको छ । 

रकम अन्यत्र लगानी गरेर व्यक्तिगत लाभ लिए सम्पत्ति शुद्धीकरण कसुर हुने अदालतको ठहर छ । ‘सहकारीको रकम निजी कम्पनीमा लगानी गर्ने र त्यसबाट व्यक्तिगत फाइदा उठाउने मनसायबाट गरिने कार्यलाई सम्पत्ति शुद्धीकरणको कसुर हुने,’ फैसलामा भनिएको छ । तामाङ दोस्रो संविधानसभामा एमालेका तर्फबाट सदस्य थिए । 

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । २०८० वैशाख ७ मा तरलता अभाव देखाएर सहकारी बन्द गरेका नेपाली त्यही वर्ष जेठ ४ देखि बेपत्ता भएका थिए । उनीविरुद्ध १ हजार ५ सय ४३ बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा अनुसन्धान गरिएपछि सरकारी वकिलको कार्यालयले २०८० असार २५ मा १ अर्ब ५४ करोड रुपैयाँ ठगी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले नेपालीलाई गत असोजमा भारतको नयाँदिल्लीमा पक्राउ गरेर ल्याएको थियो । त्यसपछि उनलाई बागलुङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । नेपाली एमालेबाट लगातार दुई पटक निर्वाचित मेयर हुन् । 

एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका सचिव कृष्णबहादुर (केबी) उप्रेती सहकारी ठगीकै अभियोगमा डिल्लीबजार कारागारमा छन् । उनको नेतृत्वमा रहेका राष्ट्रिय सहकारी बैंक र आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा ६ अर्ब २६ करोड ८५ लाख बचत अपचलन भएको थियो । उप्रेतीलाई प्रहरीले गत असारमा पक्राउ गरेको थियो । करिब एक महिनापछि मुद्दा चलाइएकामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था) का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी र पूर्वअध्यक्ष चन्द्रबहादुर (सीबी) लामा अहिले डिल्लीबजार कारागारमा छन् । लामा २०७४ को निर्वाचनमा कांग्रेसबाट काभ्रेमा उम्मेदवार बनेका थिए । कान्तिपुर सेभिङ्समा करिब ८ अर्ब रुपैयाँ हिनामिना भएको छ । लामा पशुपति सहकारीको बचत अपचलनमा पनि जोडिएका छन् । उनी गत जेठमा पक्राउ परेका हुन् । 

पोखराको सूर्यदर्शन सहकारी ठगीमा गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक तथा पूर्वप्रबन्ध निर्देशक लामिछानेलगायतमाथि अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ । सरकारी वकिलले मुद्दा चलाएपछि पुर्पक्षको बहस हुनेछ ।

सूर्यदर्शन सहकारी ठगीका आरोपित तथा गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल यसअघि नै पुर्पक्षका लागि कास्की कारागारमा छन् । राजनीति गर्न लामिछाने गोर्खा मिडियाबाट बिदा भएपछि रम्तेल सञ्चालकका रूपमा भित्रिएका थिए । लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, भरतपुरको साहारा चितवन र वीरगन्जको सानो पाइला सहकारीको बचत ठगीमा पनि अनुसन्धान चलिरहेको छ । 

सहकारीको बचत ठगीकै आरोपित राप्रपाकी सांसद गीता बस्नेत ६ महिनादेखि फरार छिन् । नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारीबाट गैरकानुनी रूपमा रकम बर्दियाको कृष्णसार रिसोर्टमा लगेर हिनामिना गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रास्वपा सभापति लामिछानेजस्तै बस्नेत पनि कुनै सहकारीको सञ्चालक वा बचतकर्ता होइनन् । 

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी प्रकरणमा महाप्रबन्धक ज्योति गुरुङ फरार छिन् । उनी कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् । सहकारीको करिब १४ करोड हिनामिना भएको थाहा पाएपछि सहकारी सञ्चालकहरूले धनराज र ज्योति गुरुङसहितलाई उपस्थित गराएर २०७६ पुस १६ मा छलफल गराएका थिए ।

त्यसको दुई महिनापछि धनराज र ज्योतिले ललितपुर अदालतमा सम्बन्धविच्छेद गरेका थिए । तर एक वर्षपछि धनराजले सहकारीबाट ऋण लिँदा श्रीमतीको नाममा ज्योति गुरुङ उल्लेख गरेका थिए । त्यही कारण कानुनी कारबाहीबाट उन्मुक्ति लिन धनराजले ज्योतिसँग कागजी सम्बन्धविच्छेद गरेको आरोप सहकारी सञ्चालकहरूले लगाउँदै आएका छन् ।

सहकारी बचत अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिले कांग्रेस उपभापति धनराजमाथि पनि अनुसन्धान सिफारिस गरेको थियो । प्रहरीले उनलाई बोलाएर बयान लिएको छ तर गम्भीर अनुसन्धान नगरिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार सहकारी ठगीमा प्रहरीले एक दशकमा ६ सय ६९ जनालाई पक्राउ गरेको छ भने अदालतले पक्राउ पुर्जी जारी गरे पनि १ हजार ५ सय ४० जना फरार छन् । त्यस बीचमा २४ हजार २ सय २४ जना पीडित सर्वसाधारणका २ सय ५८ उजुरी प्रहरीमा परेका थिए । यी उजुरीमा अनुसन्धान गरेर प्रहरीले प्रतिवेदन बुझाएपछि १ सय ११ मुद्दा दर्ता गरिए ।

ती मुद्दामा १ हजार ३ सय ९१ जनालाई अभियुक्त बनाइएको छ । अदालत पुगेका मुद्दामा १ अर्ब ९० करोड ४६ लाख बिगो मागदाबी गरिएको छ । संसदीय छानबिनको प्रतिवेदन सार्वजनिक भइसकेपछि केही आरोपित पक्राउ परेका छन्, पक्राउ पुर्जी जारी भएपछि कतिपय फरार छन् । 

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully