आँखा शिविरमा १४३ जनाको शल्यक्रिया

पुस ३, २०८१

ऋषिराम पौड्याल

143 people operated in eye camp

काठमाडौँ — सिन्धुपाल्चोकको विभिन्न बस्तीका १३ वर्षीया दृष्टिविहीनसहित १४ सय भन्दा बढी आँखाका बिरामीको निःशुल्क उपचार गरिएको छ । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १३ देखि ९३ वर्ष उमेरका बिरामीको मोतियाबिन्दु तथा टेरिजिएमको शल्यक्रिया गरिएको छ । टेरिजिएम आँखाको नानीमा ऐजेरुजस्तै मासु पलाउने समस्या हो ।

शिविरमा आएकी सबैभन्दा कम उमेरकी भोटेकोशी गाउँपालिका-४ नारायणस्थानकी १३ वर्षीया रेविता थामीको दुवै आँखामा रहेको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

आँखा विशेषज्ञ आशिषराज पन्त भन्छन्, 'मोतियाविन्दु भएको लगभग तीन वर्ष भएको रहेछ, ‘अब उनले राम्ररी देख्न सक्नेछिन् ।’ शल्यक्रियाअघि अँध्यारो र उज्यालो मात्र थाहा पाउने गरेको थिइन् । उनको १० वर्षको उमेरमा मोतियाविन्दु भएको अनुमान चिकित्सकले गरेका छन् । पन्तले भने, ‘समयमा उपचार भएकाले आँखा देख्न सक्ने भएकी छन् । यो असामान्य घटना हो ।’ उनका अनुसार आँखाको भित्री भागमा इन्फेक्सन भएमा बढ्दै गएर मोतियाविन्दुका रूपमा लिने बताए । बालिका थामीले सुरुमा आँखा राम्ररी देखे पनि विस्तारै बन्द जस्तै भएको थियो । चिकित्सक पन्तले शिविरमा एक्लै एकै दिन ८० जनाको मोतियाविन्दुको शल्यक्रिया गरेका थिए । शिविरमा १ सय ४२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो ।  

143 people operated in eye campसुनकोशी–इन्द्रावती समाजको आयोजना तथा बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र शिक्षण अस्पताल महाराजगन्जको प्राविधिक सहयोगमा सञ्चालन भएको दशदिने शिविरमा बस्तीबस्तीमा पुगेर १४ सय जना आँखाका बिरामीको उपचार गरिएको छ । शल्यक्रिया गर्ने बिरामीलाई बाह्रबिसे शिविरमा ल्याइएको थियो भने अन्य बिरामीलाई स्थानीय गाउँमा भेला लगाएर उपचार गरिएको थियो । आयोजक समाजका अध्यक्ष भुपेन्द्र थापाका अनुसार शल्यक्रिया गर्नु अघि जिल्लाको लिसंखु पाखर र भोटेकोशी गाउँपालिका तथा बाह्रबिसे नगरपालिकाका बस्तीमा आँखामा चिकित्सकले बिरामी जाँच गरेका थिए ।

उपचारका क्रममा मोतियाविन्दु तथा आँखाको नानीमा मासु पलाउने(टेरिजिएम) का बिरामी स्क्रिनिङ गरेर बाह्रबिसेको शिविरमा ल्याइएको थियो । जिल्लाको सिलढुंगा, डाँडाकटेरी, चाकु, नारायणस्थान, दुगुना, लिस्ती, सेबुङ, घिप्चे, घुमथाङ तातोपानी, मानेश्वाँरालगायतका बस्तीमा स्थानीय भेला गराएर सामान्य आँखा जाँच, उपचार तथा औषधि वितरण गरिएको जानकारी थापाले दिए । स्थानीय विकट बस्तीमा गरिएको स्क्रिनिङका क्रममा  शल्यक्रिया गर्नुपर्ने बिरामीलाई तीन दिन बाह्रबिसे शिविरमा राखेर उपचार गरिएको थियो ।

माथिल्लो भोटेकोशी पावर कम्पनीको विशेष आर्थिक सहयोग तथा स्थानीय तहकोसमेत समन्वय एवं सहयोगमा भएको शिविरमा लायन्स क्लबका प्रकाश पौडेलको व्यवस्थापनमा चिकित्सकको टोली जिल्ला गएको थियो । आँखाको उपचार तथा शल्यक्रियामा संलग्न चिकित्सकहरूलगायतका स्वास्थ्यकर्मीहरूको टोलीको नेतृत्व भने आँखा विशेषज्ञ पन्तले गरेका थिए ।

शिविर सञ्चालन हुनुअघि स्क्रिनिङ क्याम्पमा दृष्टि विशेषज्ञ सञ्जीव भट्टराईसहितको ४ जनाको टोलीले सहयोग गरेको थियो । गाउँका एकै स्थानमा झन्डै दुई सय बिरामीको आँखा जाँच गरिएको थियो ।  समाजले बाह्रबिसेमा भएको शिविरमा बिरामीलाई खान, बस्न र औषधि वितरण नि:शुल्क गरेको थियो । बिरामीको आवश्यकताअनुसार कालो चश्मा पनि वितरण गरिएको थियो । 

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully