सत्ता भीडले होइन, कानुनले चल्छ : गृहमन्त्री लेखक 

आर्थिक अपराध, रकम अपचलन र वित्तीय अपराधलाई भीडले ढाकछोप गर्ने प्रयास भइरहेको गृहमन्त्रीको दाबी

पुस २, २०८१

घनश्याम गौतम

Power is not by crowd, but by law: Home Minister Author

बुटवल — गृहमन्त्री रमेश लेखकले शासनसत्ता भीडले नभई कानुनले चल्ने बताएका छन् । त्यस्तो भीड नियन्त्रण गर्ने दायित्व सुरक्षा निकायकै भएको पनि उनले बताएका छन् । पछिल्लो समय साइबर अपराध बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै गृहमन्त्री लेखकले त्यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिए । 

‍‘सत्ता चलाउने कानुनले हो, भीडले होइन,’ गृहमन्त्री लेखकले भने, ‘पछिल्ला दिनहरूमा प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, अदालत लगायतका स्थानहरूमा भीडले प्रभावित गर्ने प्रयास भइरहेको छ, त्यो नियन्त्रण हुनैपर्छ ।’

समाजमा अराजकता फैलाउने गतिविधि कुनै हालतमा स्वीकार्य नहुने पनि गृहमन्त्री लेखकको भनाइ थियो ।  ‘समाजलाई दुषित गराउने तत्वको संरक्षण कुनै पनि अवस्थमा स्वीकार्य हुँदैन,’ उनले भने । 

संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताउँदै गृहमन्त्री लेखकले त्यस्ता कार्यका लागि प्रदेश स्तरीय सुरक्षा गोष्ठी महत्त्वपूर्ण रहेको बताए । शान्ति सुरक्षा खलबलिने बित्तिकै मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्वसर्त नै शान्तिसुरक्षा रहेको उनले बताए । सीमा क्षेत्रको तस्करी र राजश्व चुहावट रोक्न पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मंगलबारदेखि भैरहवामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सिमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट रोक्न निर्देशन गरेका हुन् । 

अहिले पनि सीमा क्षेत्रमा राजश्व चुहावट र तस्करी बढेको सुचना मन्त्रालयसम्मै आइरहेको गृहमन्त्री लेखकको भनाइ थियो । ‘सीमापार अपराध भइरहेको छ, तस्करी मौलाएको र राजस्व चुहावट भइरहेको सूचना आइरहेका छन्,’ उनले भने, ‘आजको यो सुरक्षा गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् ।’

गोष्ठीमा  लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल, गृहसचिव गोकर्णमणी दुवाडी, नेपाल प्रहरीका प्रहरी प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापासहित लुम्बिनी प्रलेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको छ । 

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully