सबै तहका सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ : प्रधानमन्त्री

'नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ, नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतंकमा रहनुपर्ने अवस्था हुनुहुँदैन'

पुस २, २०८१

कान्तिपुर संवाददाता

Government at all levels should be accountable to the people: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

 प्रधानमन्त्री ओलीले भने, 'नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतंकमा रहनुपर्ने अवस्था हुनुहुँदैन । हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नुहुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीव्रताका साथ अगाडि बढ्नुपर्छ ।'

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।

व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएका प्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठूला उद्योग सञ्चालनमा आएका बताए ।

अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि बताए । उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको जनाए । आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गरेका थिए । 

विभिन्न क्षेत्रमा योगदानकर्तालाई महानगर गौरव सम्मानबाट पुरस्कृत गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरपालिकाको एकद्वार प्राणली, विद्युतीय नक्सापास प्रणाली र फोहोर संकलनका लागि मोबाइल एप्सको सुरुवात गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully