विपन्न विद्यार्थी पढाउँदै टोल सुधार समिति

सरकारी विद्यालयमा पढेका थारू, दलित र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि सामुदायमा आधारित अतिरिक्त कक्षा

पुस १, २०८१

विवेक पोख्रेल

Toll Reform Committee teaching underprivileged students

काठमाडौँ — कक्षा ४ मा पढ्ने राजन महतो हरेक बिहान घर नजिकैको थारू तथा मध्य पहाडी क्षेत्र संग्रहालयको भवन पुग्छन् । संग्रहालय हेर्न होइन, पढ्नका लागि । जान त उनी हरेक दिन विद्यालय पनि जान्छन् । तर, विद्यालय जानुअघि संग्रहालय पुगेर डेढ घण्टा नेपाली, अंग्रेजी र गणित पढ्छन् । 

उनी जस्तै थारू समुदायमा हुर्किएका कक्षा ४ र ५ मा पढ्ने ९ विद्यार्थीको दैनिकी यस्तै छ । विद्यालयमा पढेर फर्किएपछि भने १ देखि ३ कक्षासम्म पढ्ने १३ विद्यार्थी यहाँ पढ्छन् । उनीहरूलाई यसरी पढ्ने चाँजो मिलाएको हो, भरतपुर महानगरपालिका वडा नम्बर ६ मा रहेको ब्रह्मदेव टोल विकास संस्था पुल्लरले । 

३२ वर्ष टोल नजिकैको श्री हिमालय दण्डपाणि न्यौपाने माविमा अस्थायी सेवामा शिक्षण पेसा गरेर अवकाश लिएका दीपक अर्याल ब्रह्मदेव टोल विकास संस्था भरतपुर–६, पुल्लरको अध्यक्ष भएपछि २०७५ मा टोलको तथ्यांक लिने काम भएको थियो । जात, लिङ्ग, शैक्षिक विवरण, टोलवासीको आम्दानीको स्रोत, स्वास्थ्यलगायत विभिन्न विषयको तथ्यांकसहितको सर्वेक्षणले अर्याललाई झस्कायो । 

उनका अनुसार टोलको जनसंख्या १ हजार २ सय १२ रहेकोमा ५ सय १३ जना थारू समुदायको संख्या थियो । तर थारू समुदायबाट १० पुरुष र ८ जना महिला गरी १८ जनाले मात्र १२ कक्षा पास गरेका थिए । 

अधिकांश विद्यार्थी ५/६ कक्षा पढेर छाडेको भेटियो । पढेकाहरू खाडीलगायतका मुलुकमा गएको र नेपालमा भएकालाई बिहान/बेलुका छाक टार्न मजदुरी गर्नुपर्ने बाध्यताले बालबालिकामा परिवारको ध्यान गएको भेटिएन ।

‘थारू समुदाय भएकाले घरमा नै रक्सी पार्नु, सेवन गर्नु सामान्य हो । घरै छेउछाउ भट्टी छ । यसको असर साना बालबालिकामा पनि प्रत्यक्ष परेको हामीले भेट्यौं,’ अर्याल भन्छन्, ‘अझ थारू समुदायका विद्यार्थी टोलमा हुने हाजिरीजवाफ, वक्तृत्वकला लगायतका कार्यक्रममा कहिल्यै उपस्थिति भएको पाएनौं ।’ 

उनले थपे, ‘उनीहरू स्कुल जान नमान्ने, फुर्सद हुनासाथ गुलेली लिएर चरा मार्न जाने, पौडी खेल्न खोला नहरतिर पुग्ने र कुलतमा समेत लागेको भेटेपछि विद्यार्थीलाई नियमित स्कुल पढाउन र पढाइमा ध्यान दिने बनाउन के गर्न सकिन्छ भन्नेतर्फ लाग्यौं । सरकारी विद्यालयमा पढेका थारू, दलित र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि समुदायमा आधारित अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णयमा पुग्यौं ।’ 

सुरुका दिनमा विद्यार्थी कक्षामा सहजै आएनन् । अर्याल भन्छन्, ‘म र टोल विकास संस्थाका साथीहरू आफैं विद्यार्थी खोज्न घरघर पुग्यौं ।’ अहिले यो मिहिनेतको नतिजा देखिन थालेको छ । सुरुका दिनमा के हुँदै छ भनेर प्रश्न गर्ने अभिभावकले समेत यो अभियानलाई सहयोग गर्न थालेको संस्थाका अध्यक्ष कृष्णराज सुवेदीले बताए ।

‘पहिला थारू भाषामा मात्र कुरा गर्ने हाम्रो छोरो राजन नेपाली र अंग्रेजीमा पनि कुरा गर्छ, किताबमा लेखेको पढ्नै सक्थेन, तर अचेल मलाई पढेर सुनाउँछ,’ स्थानीय राजकुमारी महतोले भनिन्, ‘घर नजिकै निःशुल्क रूपमा यसरी पढाइ हुने भएपछि हामीलाई पनि राम्रो लागेको छ । हामीले पढ्न जान्दैनौं स्कुलबाट आएपछि होमवर्क गरेको पनि हेर्न आउँदैन । यो कामले धेरै राम्रो भएको छ ।’ राजनका बाबु अरूको ट्र्याक्टर चलाउने काम गर्छन् ।

‘अचेल समयमा नै गृहकार्य सकेपछि सरले भोलि पढाउने विषयका बारेमा पनि अघिल्लो दिनै तयारी गरेर स्कुल पुगेकी हुन्छु । शिक्षकले सोधेको कुरा भन्न सक्दा खुसी लाग्छ,’ ५ कक्षामा पढ्ने दीपिका महतोले भनिन् । स्कुलमा पढाएको कुरा बुझियोस् र स्कुलमा सजिलो होस् भन्ने उद्देश्यले सुरु गरिएको अभियानको सकारात्मक नतिजा आएको भन्दै टोल विकासका प्रतिनिधिहरू पनि खुसी छन् ।

२० भदौदेखि टोल विकासले कक्षा सुरु गरेको हो । कक्षाका लागि स्थानीय अरुणोदय माविबाट बोर्ड र मार्कर सहयोगमा प्राप्त भएको थियो । पूर्वशिक्षकसमेत रहेका टोल विकास संस्था उपाध्यक्ष रामनाथ पौडेलका अनुसार १ सय ५८ दिन पढाउने लक्ष्य छ । यो शैक्षिक सत्रको अन्तिम परीक्षा हुने समय चैतसम्म यसरी नै कक्षा सञ्चालन हुनेछ ।

पौडेल भन्छन्, ‘हामीले स्नातक उत्तीर्ण थारू समुदायकै महिलालाई शिक्षिकाका रूपमा राखेका छौं, उहाँलाई प्रतिकक्षा दुई सय २५ रुपैयाँ दिने सम्झौता भएको छ । दिनमा बिहान एक र बेलुका एक गरेर दुई कक्षा हुन्छ । कक्षा व्यवस्थापन र शिक्षक तलबसहित हामीले १ लाख १७ हजार ६ सय रुपैयाँ खर्चको अनुमान गरेका छौं ।’ 

टोल विकास संस्थाले खर्च व्यवस्थापनका लागि वडा कार्यालय र भरतपुर महानगरपालिकासँग आग्रह गरे पनि सुनुवाइ नभएको पौडेलले सुनाए । ‘टोलमार्फत थारू तथा मध्य पहाडी क्षेत्र सांस्कृतिक संग्रहालय बनाउन लागेको ऋण तिर्न भनेर यस पटक देउसीभैलो खेलेका थियौं, त्यहाँबाट संकलितमध्ये ४५ हजार रुपैयाँ झिकेर शिक्षिकालाई तलब दिएका छौं, बाँकी कसरी व्यवस्थापन गर्ने टुंगो लागेको छैन ।’ 

खर्च घटाउन समितिमै रहेका पूर्वशिक्षकहरूले समेत निःशुल्क पढाउन थालेका छन् । भरतपुर महानगरपालिका–६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ टोलको सक्रियतामा भएको कार्यक्रम सकारात्मक भए पनि सहयोग गर्न मिल्ने शीर्षकमा बजेट नभएको बताउँछन् ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully