संसदीय गतिविधिको रचनात्मक आलोचना गर्न राष्ट्रिय सभा अध्यक्षको आग्रह

पुस १, २०८१

कान्तिपुर संवाददाता

The Speaker of the National Assembly urges constructive criticism of parliamentary activities

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय गतिविधिका विषयमा रचनात्मक आलोचना गर्न आग्रह गरेका छन् । संसदीय मामिला पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले संसदीय अभ्यासमा आलोचना गर्दा ध्वंसात्मक नभई रचनात्मक हुनुपर्ने आग्रह गरेका हुन् ।

अध्यक्ष दाहालले संसद्का कतिपय सांसद एवं सचिवालयका पदाधिकारीहरूबारे हुने आलोचनामा रचनात्मकताको कमी देखिने गरेको बताएका हुन् । उनले संसदीय गतिविधिमा कलम चलाउने पत्रकारहरुले सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्न जरुरी रहेको बताए । 

‘संसदीय व्यवस्थामा हाम्रो चेत आलोचनात्मक नै हो । आलोचनात्मक चेतबाट नै हामीले सोच्नुपर्ने हुन्छ । तर त्यो आलोचना रचनात्मक हुनुपर्दछ, ध्वंसात्मक हुने खालको हुनुहुँदैन । संसद्मै यस्तो भएको पाइँदैन, संसद्मा माननीयले अथवा पदाधिकारीहरूले गर्ने काममा कमीकमजोरी तथा अपुगता देखिन्छ । नियतमै खराबी छ भने त त्यसको लागि छुट्टै बहस होला तर पनि कतिपय विषयवस्तु अपुगताका कारणले पैदा भएका विषयवस्तुलाई रचनात्मक ढंगले स्थान दिनुपर्छ भन्ने मलाई लाग्छ,' अध्यक्ष दाहालले भने, 'समाचारलाई पनि सकारात्मक ढंगले दिनुभयो भने सकारात्मक सन्देश जाने र त्यो अलिकति पनि नकारात्मक गएको अवस्थामा ध्वंसात्मक हुने स्थितिबाट हामी सचेत बनौं, यो मेरो अपिल हो ।’   

अध्यक्ष दाहालले संसदीय मामिला पत्रकार समाजद्वारा प्रकाशित पुस्तक संसदीय विषयमा जानकारी राख्ने र स्वयम् सांसदका लागि पनि उपयोगी रहेको बताए । उनले भने, 'पुस्तकमा नेपालको संसदीय प्रणालीको खुलापन र विश्वमा यसको अभ्यासबारे थप विषय आउन सकेको भए अझ राम्रो हुने थियो ।'

कान्तिपुर

Link copied successfully