सम्पत्ति शुद्धीकरणमा लामिछानेबाट २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने प्रहरीको राय 

पुस १, २०८१

कान्तिपुर संवाददाता

Police opinion that 278.9 million bigo should be recovered from Lamichhane in asset laundering

कास्की — कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्पत्ति सुद्धिकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा बुझाएको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उक्त रकम असुल गर्नुपर्ने राय दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय, कास्कीबाट कान्तिपुरलाई प्राप्त कागजातअनुसार प्रहरीले लामिछानेबाट सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ बिगो असुल गर्नुपर्ने राय दिएको छ ।

सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदनमा लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय पनि प्रहरीले दिएको छ । ती प्रतिवादीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय प्रहरीको छ । 

लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्ने र बिगो असुल गर्नुपर्ने राय प्रहरीले दिएको छ । उक्त राय अध्ययन गरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा मुद्दा दायर गर्नेछ । लामिछानेले गत कार्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully