काठमाडौँ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कास्कीको पोखरामा आइतबार सम्पन्न सम्मेलनले वीरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारीसहित ७५ सदस्य केन्द्रीय समिति चयन गरेको छ ।
उपाध्यक्षमा रुपा बुढा मगर, डीबी बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिवमा डीबी शाही, रमेश सुनार, गोविन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएका छन् ।
सम्मेलनले शिक्षा र स्वास्थ्यमा व्यापार गरेर जनता लुटिरहेका माफियाका विरुद्ध निर्णायक संघर्ष गर्ने उद्घोष गरेको छ । सम्मेलनको बन्दसत्रमा निवर्तमान अध्यक्ष मिलन राईले 'निर्णायक संघर्षमा अघि बढौँ' शीर्षकको दस्तावेज पेस गरेका थिए । हलबाट उक्त दस्तावेज एकमतले पारित भयो ।
