संस्कृति संरक्षण गर्न पनौतीमा योमरी महोत्सव

मंसिर ३०, २०८१

ज्योती श्रेष्ठ

Yomari festival in Panauti to preserve culture

काभ्रे — काभ्रेको ऐतिहासिक नगर पनौती नगरपालिकाको बजार क्षेत्र नपुग्दै व्यापारिक चहलपहल देखिन्छ । खानाका परिकार, लपत्ता, कपडा, तरकारी, फलफूल, हस्तकलाका सामाग्री लगायत उपभोग्य वस्तुहरु लहरै विक्रीका लागि राखिएका छन् ।

 तर, विशेष गरी नेवारी परिकार योमरीको स्टलमा देखिन्छ । यो दृश्य शुक्रबार काभ्रेको पनौती नगरपालिका वडा नं ७ स्थित डबलीमा सञ्चालन गरिएको हाट बजार तथा योमरी महोत्सवमा पुग्दा देखिएको दृश्य हो ।

एउटा भाडामा पिठोलाई मुछेर राखिएको छ । चाक्कुलाई पगालेर तिल मिसाएर राखिएको छ । अनि अर्को भाडामा खुवा राखिएको छ । मुछेको पिठोलाई हत्केलामा घुमाउँदै, औँलामा तेल र तातोपानीको प्रयोग गरी चैतय आकार दिदैंछिन्, पनौती–७ की स्थानीय १७ वर्षीय रेबिका ताम्राकार ।

उनले योमरी बनाइरहेकी छिन् । कहिले चाकु राखेर बनाउँछिन्, त कहिले खुवा राखेर बनाउँछिन् । नेवारी भेषभुषामा सजिएर उनले बनाइरहेको नेवारी परिकार योमरी हेर्न र योमरी खान आउने भिड देखिन्छ । रेबिकाको आमा, ठूलीआमा, बुबा सबै मिलेर योमरी तथा नेवारी खाजाको तयारी गरिरहेका छन् । विशेषगरी योमरी खान आउनेहरुको घुँइचो भएकाले रेबिकाको परिवारलाई भ्याई–नभ्याई भएको छ ।

उनी आफ्नो परिवारलाई सघाउनको लागि योमरी बनाइरहेकी छिन् । सानै उमेरदेखि नै घरमा बनाएको देखेर नै योमरी बनाउन सिकेको उनले बताइन् । ‘खासै गाह्रो त छैन, हेर्दै गर्‍यो भने जानिन्छ,’ उनले भनिन्, ‘सिक्न पनि रमाइलो नै हुन्छ, पिठो खेल्दा खेल्दै बनाउन जानिन्छ, यसमा विभिन्न स्वाद भरेर बनाउँदा अलि रमाइलो लाग्छ ।’

उनका अनुसार, पछिल्लो पुस्तामा योमरी बनाउने कला सिमित व्यक्तिहरुसँगै मात्रै भएको देखेछु । नेवारी कला, संस्कृति संरक्षण गर्नको लागि योमरी महोत्सवको कार्यक्रम आयोजना गरिएकाले यसमा आफू सहभागी हुन पाएकोमा उनले खुशी व्यक्त गरिन् ।

योमरीको इतिहासको बारेमा आफूलाई खासै जानकारी नभएपनि यसको संरक्षण गर्नुपर्छ भन्ने उनलाई लाग्छ । योमरी बनाउने कला अग्रजबाट युवा पुस्तामा हस्तान्तरण भएमा यसको संरक्षण हुने उनले बताइन् । उनका अनुसार, यस प्रकारका कार्यक्रमले पनि संरक्षणका लागि थप टेवा मिल्ने देखिन्छ ।

रेबिकासँगै उनकी ठूलोममी ९० वर्षीया मेख माया ताम्राकार पनि योमरी बनाइरहेकी छिन् । रेबिकाले बनाएको योमरीलाई उनले नियाँलेर हेरिरहेकी छिन् । योमरी बिग्रन लागे उनले सिकाउँछिन् पनि । ‘अहिलेका नानीबाबुहरु योमरी बनाउन सिक्नै चाहदैंनन्,’ उनले भनिन्, ‘यो बनाउदाँ बनाउँदै जानिने कुरा न हो ।’

उनका अनुसार, यो बनाउन सिक्नैपर्छ, जान्नैपर्छ भन्ने पहिले जस्तो छैन नि अहिले । ‘पहिले त योमरी बनाउन जानिएन भने लाज हुन्थ्यो, बनाउन जान्नुपर्छ, सिक्नुपर्छ भन्ने हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले पहिलाको जस्तो समय छैन, खान मन लाग्यो जहिल्यै किनेर खान पाइन्छ, घरमै बनाएर बस्नु पनि पर्दैन, पहिले त योमरी बनाउने कला नेवारी समुदायसँग मात्रै थियो, अहिले सबैले बनाउन जानिसकेका छन्, बजारमा जता–ततै पनि पाइने भएकाले सजिलो पनि भएको छ ।’

Yomari festival in Panauti to preserve culture

नेवारीमा योमरी भनेको यो ‘यो भनेको मिठो’ र मरी ‘मरी भनेको रोटी’ गरी दुई शब्दमा मिठो रोटी भनेर परिभाषित भएको उनले बताइन् । उनका अनुसार, योमरीको सांस्कृतिक महत्व भन्नु नै धानको पूजा वा सम्मान हो । यसमा रमाइलो पक्ष यो छ कि पहिला–पहिला तिहारमा देउसी–भैलो खेलेझैँ नेवार समुदायले गीत गाउँदै, नाच्दै योमरी माग्ने चलन भएको उनलाई स्मरण छ ।

योमरी बनाउने विधि बारे बताउँदै उनले भनिन्, ‘टाइचिन चामलको पिठोबाट राम्रो र स्वादिलो योमरी बन्छ, यसका लागि सफा चामललाई भिजाएर घाममा सुकाउनुपर्छ, अनि पिस्नुपर्छ, चामलको पिठोमा उमालेको पानी थोरैथोरै राख्दै मुछ्नुपर्छ, तातो पानी र पिठोको मात्रा मिलाएर राम्रोसाग मुछ्नुपर्छ, मुछेको पिठोलाई न्यानो कपडाले बेरेर राख्नुपर्छ, पिठोभित्र राख्न चाकु, योमरी, मास, मासु जस्ता सामग्री तयार गर्नुपर्छ, योमरी चाकु राख्नका लागि चाकुलाई पानी राखेर पकाउनुपर्छ, त्यसमा रस आएपछि भुटेर पिसेको तिल र मसिनो पारेर कोरेको नरिवल राखेर पाँच मिनेट पकाउनुपर्छ, केहीबेरमै चाकु तयार हुन्छ, त्यस्तै, मास र मासु हालेर पनि योमरी बनाउन सकिन्छ, मास राख्नका लागि पहिले मासलाई सफा पानीमा भिजाएर पिस्नुपर्छ, त्यसमा आˆनो स्वाद अनुसारका मसला हाल्न सकिन्छ ।’

आफूलाई कस्तो र कत्रो साइजको योमरी मनपर्छ, त्यही अनुसार बनाउन सकिने उनले बताइन् । उनका अनुसार, मुछेको पिठोलाई हत्केलामा घुमाउँदै औँलामा तेल र तातोपानीको प्रयोग गरी चैतय आकारमा योमरी बनाइन्छ । त्यसभित्र आफ्नो स्वाद अनुसारको सामग्री राखेर फेरि त्यसलाई घुमाउँदै बन्द गर्नुपर्ने उनले बताइन् । विधिबारे थप्दै उनले भनिन्, ‘अब त्यसको माथिल्लो भागमा पनि कुन आकार दिने भन्ने कुरामा भर पर्छ, एक मुखे, दुई मुखे, बज्र आकार पनि दिन सकिन्छ, तयार भएको योमरीलाई मःमः पकाउने अर्थात बाफबाट पकाउने मिल्ने भाडामा राखेर १५ देखि २० मिनेटसम्म पकाउनुपर्छ, अनि योमरी खानको लागि तयार हुन्छ ।’

०००

होटल व्यवसाय गर्दै आएकी पनौती–७ की ३० वर्षीया मेघा मधिकर्मीले पनि नेवारी खाजाको स्टल राखेकी छिन् । नेवारी खाजाको परिकारहरुको व्यापार गर्दै आएकी उनी, ग्राहकहरुले विशेष गरेर योमरी खान रुचाउने बताउँछिन् । उनका अनुसार, विशेष गरेर जाडो याममा योमरी खाने प्रचलन रही आएको छ । योमरी स्वादिष्टका साथै स्वस्थकर एवं शक्तिर्बद्धक परिकारको रुपमा पनि लिने हुदाँ योमरी धेरैको रोजाई पर्ने गर्छ ।

योमरीमा पनि पछिल्लो समय विभिन्न स्वादमा खान थालिएको उनले बताइन् । उनका अनुसार, चाकु, खुवा, मास, चकलेट, मासु लगायत आफूलाई मनपर्ने खानेकुराहरु मिश्रण गरेर गरिन्छ । ‘पहिलेदेखि नै योमरी भन्ने बित्तिकै चाकु राखेर बनाइने प्रचलन रही आएकोले चाकु राखेको योमरी नै धेरैले रुचाउनुहुन्छ,’ उनले भनिन्, ‘चाकुमा पनि आफ्नो स्वाद अनुसार चिल, नरिवल राखेर पनि खान सकिन्छ ।’

उनका अनुसार, योमरीको लोकप्रियता बढ्दो क्रममा रहेपनि यसको ब्राण्डिङ्ग भने गर्न सकिएको छैन । योमरी बनाउने कला पनि सिमित व्यक्तिहरुसँग भएको बताउँदै उनले भनिन्, ‘पछिल्लो पुस्ताहरुमा थोरै व्यक्तिहरुसँग मात्रै यो सीप र कला छ, यसको ब्राण्डिङ्ग र बजारीकरणमा ध्यान दिनुको साथै युवा पुस्ताहरुलाई यसमा आर्कषण गराउन आवश्यक देखिन्छ ।’

०००

स्थानीय सुरेखा श्रेष्ठ सहित महालक्ष्मी महिला समूहले योमरी बनाउनको लागि सबै तयारी बिहिबार नै गरेको थियो । उनीहरुले २० हजार योमरी बनाएर बिक्री गर्ने लक्ष्य राखेको छ । लक्ष्य अनुरुप राम्रो व्यापार भइरहेको उनले बताइन् । उनका अनुसार, समूहमा रहेर यसरी काम गर्न रमाइलो पनि हुने आम्दानी पनि हुने रहेछ ।

‘नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुदैं गर्दा, यसले नेवारी कला र संरक्षण पनि हुने,’ उनले भनिन्, ‘यसैलाई आम्दानी श्रोत पनि बनाउन सकिने रहेछ, यसबाट राम्रो आम्दानी हुने अनुमान गरेका छौं, यस प्रकारका कार्यक्रमले निरन्तरता पाएमा धेरै राम्रो हुने थियो ।

०००

पछिल्लो समय नेवारी परिकार योमरी पनौती नगरबाट उद्म भएको स्थानीय बुद्धिजीबीहरुले बताउँदै आएका छन् ‘परापूर्वकालदेखि नै पनौतीलाई कृषियोग्य क्षेत्र पनि चिनिदैं आइएको थियो, यहाँ धान राम्रो उत्पादन हुन्थ्यो, परापूर्णकालिन समयमा एक किसानको घरमा धानको चामलको पिठोबाट नयाँ परिकार बनाएर खाने भनेर, ‘नयाँ चामलको पिठोलाई पिधेंर, त्यसमा चाकु राखेर योमरी बनाएर खाएका थिए, एक दिन धनको देवता कुवेँर त्यस किसान घरमा पुगेको बेलामा उनले मिष्ठान्न भोजनको रुपमा कुबेँरलाई किसानले योमरी खुवाएका थिए, कुबेरले त्यस किसानलाई आर्शिवाद दिएका थिए, त्यस समयदेखि नै मार्ग शुक्ल पूर्णिमाका दिन योमरी पूर्णिमा मनाउन थालिएको विश्वास रहीँ आएको छ,’ स्थानीय एवं ।

Yomari festival in Panauti to preserve culture

पनौती नगर क्षेत्रमा हुने हरेक जात्रा तथा पर्वहरुको संरक्षणका लागि गठन गरिएको समितिका सचिव निवास श्रेष्ठले बताए । उनका अनुसार, त्यसकारण पनि नेवारी परिकार योमरी पनौती नगरबाट उद्म भएको भनेर भनिएको हो ।

नेवारी परिकार योमरी पनौती नगरबाट उद्म भएको र स्वादिष्ट तथा शक्तिवर्द्धक परिकारको रुपमा हेरिने भएकाले यसको प्रवर्द्धन तथा प्रचार प्रसारका लागि पनौती नगरपालिकाले पनौती नगरपालिका वडा नं. ७ स्थित लायकु डबलीमा योमरी महोत्सव तथा हाटबजार सञ्चालन गरिएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताए ।

योमरीको उद्म स्थल भनेर रही आएको जनविश्वासलाई विश्व सामु चिनाउन र यसको प्रचार–प्रसारका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने योजना उनले सुनाए । उनका अनुसार, यस प्रकारका कार्यक्रमले निरन्तरता दिनुको साथै यसको ब्राण्डिङ्ग र बजारीकरणका लागि पनि नगरपालिकाले विशेष कार्यक्रम तथा योजना बनाएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully