तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने एमाले भेलाको संकल्प

मंसिर ३०, २०८१

रासस

Resolution of the UML meeting to conduct a three-month ward-focused campaign

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला छ बुँदे घोषणा गर्दै सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आइतबार सम्पन्न कार्यशालाले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने संकल्प गरेको छ । देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिसहित तीन सय जनाको सहभागितामा सम्पन्न भेलाले स्थानीय तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तारसँगै जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने संकल्प गरेको छ । 

कार्यशालाले २०८२ सालको पार्टी सदस्यता नवीकरण २०८१ को चैत महिनाभित्रै विधिसम्मत र प्रक्रियासम्मत ढंगले सम्पन्न गर्ने संकल्प गरेको छ । यसै वर्षभित्र सम्पूर्ण पार्टी सदस्यलाई अनलाइनमा ल्याउने संकल्प पनि बैठकले गरेको छ । 

Resolution of the UML meeting to conduct a three-month ward-focused campaign

आगामी चैत महिनासम्म राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न कार्यशालाले पार्टी केन्द्रसँग आग्रह गरेको छ । कार्यशालाले पार्टी र नेतृत्वविरुद्धका षड्यन्त्र र कुप्रचारको प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प गरेको छ । 

कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । यसैगरी पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव कमरेड शंकर पोखरेलले पनि कार्यशालालाई सम्बोधन गरेका थिए ।

कार्यशालाका सहभागीलाई १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो । समूह छलफलमा प्रदेशका इन्चार्ज र संगठन विभागका सदस्यले सहजीकरण गरेका थिए । 

कार्यशालाको दोस्रो दिन समूहगत छलफलका प्रतिवेदन पेस गरिएका थिए ।

रासस

Link copied successfully