पार्टी नेतृत्वका आकांक्षीहरू सभापति देउवाको साथ–समर्थन लिने कसरतमा, महाधिवेशनको संघारमा परम्परागत गुट भत्किने संकेत
काठमाडौँ — कांग्रेसको आगामी महाधिवेशन कहिले हुने भन्ने टुंगो नलाग्दै नेतृत्वका लागि पार्टीभित्र ध्रुवीकरण बढाउने कसरत हुन थालेको छ ।
विधानले दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्थाका कारण पार्टी सभापति शेरबहादुर देउवा आगामी महाधिवेशनदेखि कार्यकारिणी भूमिकाबाट निवृत्त हुँदै छन् । उनको निवृत्तिसँगै कांग्रेसभित्र परम्परागत गुट भत्किएर नयाँ ध्रुवीकरण सुरु हुने सम्भावना देखिएको छ ।
सभापति देउवाले आफ्नो उत्तराधिकारी तयार पारिसकेका छैनन् । पार्टी नेतृत्वका आकांक्षीहरू उनको साथ र समर्थन लिने कसरतमा छन् । संस्थापन पक्षभित्रै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला देउवाको साथ–समर्थन लिने दौडमा छन् । तर देउवाले संगठनमा पकड राखेका इतरपक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापाप्रति झुकाव राख्ने गरेको चर्चा कांग्रेस वृत्तमा छ ।
संस्थापन पक्षमा बालकृष्ण खाण, एनपी सावद, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतका नेताले शेखर कोइरालाप्रति सकारात्मक सद्भाव देखाउन थालिसकेका छन् । देउवाले भने राष्ट्रिय राजनीतिका निर्णायक भूमिका र छलफलमा महामन्त्री थापालाई अघि सारिरहेका छन् ।
उनको रोजाइ कोइराला र थापामध्ये को हो भन्ने प्रस्ट भने छैन । अर्कातर्फ यी दुई नेताबीचको टक्करले पार्टीभित्र नयाँ ध्रुवीकरणको पैरवी पनि हुन थालेको छ । पछिल्लो पटक कोइराला र थापाबीचको मुख्य टक्कर कोशी प्रदेशमा देखिएको छ । कोशीमा कोइराला पक्षधरले मंसिर १८ मा पालिका तहका सभापतिहरूको भेला डाकेका थिए । त्यसको प्रमुख अतिथि कोइराला आफैं थिए ।
त्यस्तो भेला पार्टीको विधानभन्दा बाहिर भएको भन्दै रोक्ने प्रयास महामन्त्री थापाबाट भएको बुझाइ कोइराला पक्षीय नेताहरूको छ । भेला रोक्ने उद्देश्यबाट पार्टीका मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरेर मंसिर २२ अघि कुनै प्रदेशमा पनि पार्टीको कार्यक्रम नभएको उल्लेख गरेका थिए ।
त्यसको झोकमा कोइरालाले आफ्नै गृहनगर विराटनगरमा भएको मंसिर २२ को कोशी प्रदेश सम्मेलन बहिष्कार गरे । आफूसँग सम्मेलनबारे परामर्श नगरिएको भन्दै कोइराला त्यो दिन चितवन पुगेका थिए । कोशी प्रदेश सम्मेलन सकिएलगत्तैदेखि भने उनी विराटनगरमै छन् । यी घटनाक्रमले सार्वजनिक मञ्चमा समेत कोइराला र थापाबीच घोचपेच हुन थालेको छ ।
नेता कोइरालाप्रति सभापति देउवासमेत सशंकित बन्दै आएका छन् । खासगरी सत्ता राजनीतिमा कोइरालाका सार्वजनिक अभिव्यक्तिबाट देउवामा असन्तुष्टि देखिएको छ । कोइरालाले सरकारका कामकारबाहीको खुलेर आलोचना गरिरहेका छैनन् । तर, उपसभामुख इन्दिरा राना र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनेलगायतका सत्ता गठबन्धनको पहललाई उनले आलोचना गरे ।
‘माओवादीसँग गठबन्धन भएको बेला कोशी प्रदेशमा कोइरालाको आडभरोसामा भएको विद्रोहले पनि सभापति देउवा सतर्क छन्,’ संस्थापन पक्षका एक नेताले भने, ‘कांग्रेस–एमाले गठबन्धनको रेखा आफैंले कोर्ने तर नयाँ सरकार बनेको सय दिन नपुग्दै आलोचनामा उत्रिने कार्यले संशयको थप ठाउँ दिएको छ ।’
कोइराला पक्षका नेता हृदयराम थानी र गोविन्द पोखरेल पार्टीमा आन्तरिक खपतका लागि उठ्ने विषयले सम्बन्धमा असर नपर्ने दाबी गर्छन् । सभापति देउवा र महामन्त्री थापासँगको सम्बन्ध पछिल्ला घटनाक्रमबाट निर्धारण नहुने उनीहरू बताउँछन् । थानीले कोशी प्रदेशमा हालै देखिएको कचमच धेरै अघि नजाने दाबी गरे ।
देउवा १५ औं महाधिवेशनबाट निवृत्त हुने भएपछि पार्टीमा नयाँ खालको ध्रुवीकरण भने हुने उनको भनाइ छ । ‘हिजोको समूह भंग हुन सक्छ । नयाँ किसिमका गुट बन्छन् । पुरानै समूहको धङधङी अब रहँदैन । त्यसका बाछिटा देखिन थालेका छन्,’ थानीले भने, ‘संस्थापन पक्षबाट देउवाको उत्तराधिकारी को हुन्छ भन्ने यकिन छैन । राजनीतिमा सम्भावना जे पनि हुन सक्छ । त्यसैले शेखरजी बुद्धिमत्तापूर्ण ढंगबाट अघि बढ्नुपर्छ भन्ने हाम्रो सुझाव छ ।’
कोइरालाले १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सार्वजनिक घोषणा गरिसकेका छन् । महामन्त्री थापाले सार्वजनिक रूपमा घोषणा नगरे पनि नेतृत्वको आफ्नो दाबेदारी प्राकृतिक रहने बताउँदै आएका छन् ।
नेतृत्वका लागि कोइराला र थापाबीच टक्कर चलिरहेका बेला देउवाले सुरुवाती दिनमा कोइराला र पछिल्लो समय थापालाई च्याप्नुको पछि पार्टीको उत्तराधिकारीकै लागि हो कि एमालेसँगको सहमतिबमोजिम १८ महिनापछि सत्तामा पुग्ने बाटो सुरक्षित बनाउने रणनीति हो भन्ने प्रस्ट नभएको कतिपय नेता बताउँछन् ।
कोइराला र थापाबीच सम्बन्ध बिग्रँदा पार्टीभित्र देउवालाई सहज भएको देखिन्छ । ‘१५ औं महाधिवेशनमा गगनले नेतृत्वमा छाड्दैनन् भन्ने शेखरदाइलाई लागिरहेको छ । अर्कातर्फ गगनलाई पनि शेखरदाइले छाड्दै गएको भन्ने परेको छ । यी दुई नेताबीच भित्रभित्र चलिरहेको रस्साकसीले पार्टीमा नयाँ ध्रुवीकरण बढ्ने निश्चित जस्तै छ,’ कांग्रेसका अर्का एक पदाधिकारीले भने, ‘शेरबहादुरदाइ पार्टीको कार्यकारिणी भूमिकाबाट अलग हुने मात्रै हो, सत्ता राजनीतिबाट होइन । त्यसैले भोलि पार्टी सभापति नहुँदा पनि आफू सत्ता राजनीतिको केन्द्रमा रहन कसलाई अघि बढाउँदा ठीक हुन्छ भन्नेबारेमा तौलिने काम गरिरहनुभएको छ ।’
कांग्रेस नेता मीनेन्द्र रिजाल महाधिवेशन टुंगो नहुँदासम्म नेतृत्वका लागि प्रतिस्पर्धी कति जना हुने भन्नेबारेमा यकिन गर्न नसकिने बताउँछन् । विधानको व्यवस्थाअनुसार ०८२ मंसिरभित्र पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ । पार्टीको चौधौं महाधिवेशन ०७८ मंसिरमा भएको थियो । चार वर्षको कार्यकाल सकिन अब एक वर्ष छ । तर ०८२ मा महाधिवेशन हुने संकेत नदेखिएको रिजाल बताउँछन् ।
विधानले थप एक वर्ष बढाउन सक्ने सुविधा दिएको छ र यसअघि पाँच वर्षमै महाधिवेशन हुने गरेको थियो । ‘महाधिवेशन हुने सुनिश्चितताका लागि गम्भीरतापूर्वक तयारी अघि नबढाउने हो भने पार्टी महाधिवेशन स्थानीय तह निर्वाचनको मुखमा पुग्छ । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको महाधिवेशन गर्न सकिँदैन । त्यसले झनै अनिश्चय बढाउँछ, त्यसैले पहिला महाधिवेशनको सुनिश्चितता हुनुपर्छ,’ रिजालले भने ।
केन्द्रीय सदस्य नैनसिंह महर भने आफू नेतृत्वमा आउनका लागि आकांक्षीहरू जहाँ उभिन पनि तयार हुने बताउँछन् । उनले पनि अब परम्परागत गुट भत्किएर महाधिवेशन लक्षित नयाँ खालको ध्रुवीकरण पार्टीभित्र बढ्दै जाने बताए ।
‘धेरैलाई उमेरको दबाब छ । त्यसैले पद प्राप्त गरिहाल्ने आकांक्षा जागेको छ । सबै आफू बलियो हुने दाउमा छन् । परम्परागत गुट देखाउन र तलका मान्छेलाई भ्रममा राख्नका लागि मात्रै हुन् । जसलाई जहाँ सुविधा हुन्छ, त्यहाँ जान्छन्, अब फलानो दाइ भयो भने छोडिन्छ भन्ने कुनै नेता देखिँदैन,’ महरले भने, ‘अहिले पार्टी सभापति देउवाकै वरिपरि सबै देखिन्छन् । अहिले शेखरदाइ र गगन भन्छन्, भोलि अर्को आउन पनि सक्छ ।’
कतिपयले देउवा र थापाबीचको सम्बन्ध १५ औं महाधिवेशनसम्मकै लागि रहेको अड्कल पनि गर्न थालेका छन् । तर थापा पक्षीय केन्द्रीय सदस्यहरू पार्टी सञ्चालन गर्न र राष्ट्रिय राजनीतिका मुद्दामा सहजता खोज्न मात्रै सभापतिले महामन्त्रीलाई च्यापेको बताउँछन् । ‘अहिलेसम्म सभापतिले पनि केही भन्नुभएको छैन । महामन्त्रीले पनि आफू सभापति हुने र सहयोग माग्ने कुराबारे बोल्नुभएको छैन,’ थापा निकट ती सदस्यले भने, ‘भोलिका दिन कस्तो परिस्थिति बन्छ, अहिले नै भन्न सकिने स्थिति छैन ।’
कोइरालानिकट केन्द्रीय सदस्य गोविन्दप्रसाद पोखरेलले महामन्त्री थापालाई अहिल्यै सभापतिसँग मिलिसक्यो भन्न नमिल्ने बताउँछन् । पार्टी सञ्चालनका लागि सभापतिसँग मिलेर अघि बढ्नुपर्ने बाध्यतामा महामन्त्री रहेको उनले बताए ।
‘पार्टी सञ्चालन गर्न सभापतिसँग मिल्नुपर्ने हुन्छ, सभापतिको सहयोग भएन भने महामन्त्री नै असफल हुने स्थिति बन्छ । यसैलाई लिएर केही मान्छेले महामन्त्री सभापतिसँग मिल्यो भनेर प्रचार गर्ने गरेका छन्,’ उनले भने, ‘पार्टीभित्र केही व्यक्ति शेखर र गगनलाई मिल्न दिनु हुँदैन भन्ने पनि होलान् तर अन्तिममा दुई जना मिलेरै अघि बढ्छन् भन्ने मेरो विश्वास छ ।’
