काठमाडौँ — कहिले गीत गाउँदै गरेका त कहिले टेलिभिजन कार्यक्रम चलाइरहेका भेटिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यस पटक हिमाल आरोहणमा देखिए । उनले ६ हजार १ सय ४५ मिटर अग्लो लुबुचे हिमालको सफल आरोहण गरेका छन् ।
उनीसहित आरोहण दलका सबै ६ जना नै शुक्रबार बिहान लुबुचे शिखरमा पुगेका हुन् । लुबुचे शिखरमा पुगेसँगै हिमाल आरोहणको आफ्नो सपना पूरा भएको शर्माले बताए ।
महामन्त्री शर्माले हिमालको चुचुरोमा पुग्दाको अनुभव साट्दै भने, ‘स्वर्गीय आनन्दको अनुभूति त गरें नै, ग्लोबल वार्मिङका कारण हामीले दोस्रो पुस्तालाई कस्तो हिमाल हस्तान्तरण गर्दै छौं भन्ने चिन्ता पनि मनमा आयो ।’
मंसिर २१ मा खुम्बु पदयात्रा सुरु गरेका शर्मासहित ६ जनाको टोली २७ गते राति ११ बजे आधारशिविरबाट लुबेचेको शिखरतर्फ उक्लिएको थियो । ‘मंसिर २८ को बिहान ६ बजेर ४५ मिनेटमा शिखरमा पुग्यौं,’ शर्माले भने । शर्मासँगै उनको आरोहण दलका सदस्यहरू मिङ्मा शेर्पा, लाक्पा शेर्पा, सुवास अधिकारी, प्रकाशचन्द्र लामिछाने, पदम शर्मा पनि लुबुचे शिखरमा पुग्न सफल भएका हुन् ।
करिब ४ वर्षअघिदेखि नै हिमाल आरोहणका लागि तयारी गर्दै आएको शर्माले बताए । उनले हिमाल आरोहणको काम शारीरिक शक्तिभन्दा मानसिक र आत्मविश्वासको कुरा रहेको यस आरोहण यात्राका क्रममा बुझेको बताए ।
‘हिमाल आरोहणबाट फर्केपछि जलवायु परिवर्तनले हाम्रा हिमालमा पुर्याएको असरबारे नजिकबाट देख्न र बुझ्न पाएँ,’ महामन्त्री शर्माले भने । संसद् र सम्बन्धित ठाउँमा यस विषयमा कु राख्ने उनको अठोट छ ।
