करारपत्र रद्द हुँदा हर्षित रुसी सेनाका नेपाली

युक्रेनको युद्ध मैदानबाट रुस फर्किएका नेपाली भन्छन्– ‘बाँचेकामा खुसी नै खुसी’ 

मंसिर २९, २०८१

होम कार्की

काठमाडौँ — युक्रेनको युद्धग्रस्त क्षेत्रमा १५ महिना बिताएर रुस फर्कंदा भैरहवाका विनोदकुमार गुरुङलाई दोस्रो जीवन पाएसरह भएको छ । उनी भन्छन्, ‘मृत्यु के हो ? भोक के हो ? प्यास के हो ? नजिकैबाट देखें । अहिले मृत्युलाई जितेर आएँजस्तो भएको छ ।’ 

संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरक्षा गार्डका रूपमा कार्यरत गुरुङ २०२३ सेप्टेम्बर अन्तिम साता रुसी सेनामा भर्ना भएका थिए । सामान्य तालिम मात्र दिएर उनलाई युक्रेनको युद्धग्रस्त क्षेत्र बाहमुत पुर्‍याइएको थियो । एकवर्षे करार सकिएपछि नवीकरण भएन । उनलाई कमान्डरले रुस फिर्ता पठाइदिए । गुरुङ हाल मस्कोस्थित सेनाको क्याम्पमा बसेर घर फिर्तीको दिन कुरिरहेका छन् । 

धेरैले गुरुङलाई रुसको राहदानी र स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिन सुझाव दिइरहेका छन् । तर उनी जुनसुकै अवस्थामा पनि रुस बसाइ लम्ब्याउने पक्षमा छैनन् । ‘जे जस्तो भए पनि मेरो देश र जन्मेको ठाउँ प्यारो हो । आफन्त सबैको माया लाग्छ,’ मस्कोबाट उनले कान्तिपुरसँग भने । अब अरूको लहलहैमा लागेर रुसी सेनामा भर्ना हुन खोज्नेलाई हात जोडेरै भए पनि नजान भन्ने उनले बताए । ‘सबै कुरा पैसा मात्रै होइन रहेछ,’ उनले थपे । 

गुरुङका अनुसार उनको समूहमा रहेका सबै नेपाली सकुशल रुस फर्किएका छन् । रुसी सेनामा भर्ती भई युक्रेनविरुद्धको युद्धमा होमिएका नेपालीको यकिन तथ्यांक सरकारसँग छैन । करिब १५ सय नेपाली रुसी सेनामा भर्ना भएको अनुमान छ । ४६ नेपालीको भने युद्ध मैदानमा ज्यान गएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । परिवारको सम्पर्कमा नरहेका र खोजीका लागि १ सय १८ जनाका परिवारले कन्सुलर विभागमा निवेदन दिएका छन् । नेपाल सरकारको पहलपछि रुसले गत मेबाट नेपालीलाई भर्नामा लिन छाडेको परराष्ट्रको दाबी छ । त्यसयता करार नवीकरण गर्न नचाहनेका लागि रुसी सरकारले खुकुलो नीति लिएको छ । 

धादिङका विष्णु खतिवडाले एकवर्षे करार नवीकरण नभए पनि १६ महिनापछि मात्र युक्रेनको बाहमुतबाट मस्को फर्कन पाए । उनी अहिले नेपाल फिर्ता हुने पर्खाइमा छन् । ‘त्यसका लागि कागजी प्रक्रिया सुरु भइसकेको छ,’ खतिवडाले भने । उनका अनुसार ६० नेपाली युद्ध मैदानबाट फर्केर हाल मस्कोमा छन् । ‘ती दिन, ती रात, ती समय ! बाँचुन्जेल नबिर्सिने कथाव्यथा बोकेर मस्को आइपुगेका छौं,’ उनले भने ।

रुसी सरकारले सेनामै रहेर सेवा गर्न चाहनेका लागि युद्ध मैदानबाटै पीआर र राहदानीका लागि आवेदन दिन पाइने सुविधा दिएको थियो । तर पीआर र राहदानी बनाइसकेका नेपालीले पनि रुसी सेनासँगको करार नवीकरण गर्न छाडेका छन् । ‘हामी रुसको राहदानी बनाउने पहिलो समूह हो । लिइसकेको राहदानी फिर्ता गरेर नेपाल फर्किंदै छौं,’ मस्कोमा रहेका शिशिर विश्वकर्माले भने, ‘हामीले करारपत्र नवीकरण गर्न चाहेनौं । १७ महिना कटेपछि करारपत्र रद्द भयो ।’ घर फर्कन पाउने भएकामा आफू एकदमै खुसी रहेको र परिवारलाई भेट्न आतुर रहेको उनले बताए । शिशिरका अनुसार उनीसँगै आकाश गौतम, शक्ति राई र मिलन खत्री पनि मस्को फर्किएका छन् । 

उदयपुरका चन्द्र पाख्रिन १३ महिनादेखि युक्रेनको किरिन्की जंगलमा छन् । दैलेखका तुलबहादुर शाही, गोरखाका लालीगढ थापा, अमरबहादुर बीसी र पोखराका छवि सुवेदी पनि पाख्रिनसँगै युद्ध क्षेत्रमा तैनाथ छन् । उनीहरूको करारपत्र पनि रद्द भइसकेको छ । माथिल्लो निकायबाट फिर्ता पठाउने आदेश आइनसकेकाले युद्ध मैदानमा खटिनु परिरहेको उनीहरूले बताए । ‘युक्रेनको ड्रोन आइरहन्छ । ड्रोन आउनेबित्तिकै नष्ट गर्नुपर्छ । नत्र हामीमाथि आक्रमण हुन्छ । एकछिन आरामले बस्न पाइँदैन । ड्रोनले ठोक्न थालिहाल्छ,’ युद्ध क्षेत्रबाटै कान्तिपुरको सम्पर्कमा आएका पाख्रिनले भने, ‘हामीलाई मस्को पठाउने कुरा छ । अहिले आफैंले बनाएको बंकरमा बसिरहेका छौं ।’ उनका अनुसार किरिन्कीबाट मस्को पुग्न तीन दिन लाग्छ । हिउँले जंगल भरिएको छ । ‘हामीलाई केमा लैजान्छन् भन्ने थाहा छैन,’ पाख्रिनले भने । 

करारपत्र रद्द भइसकेपछि युद्धको अग्रिम मोर्चामा नपठाउने भनिएको दैलेखका शाहीले भने । ‘परिवारलाई खुसी राख्न आफ्नो शरीर गोलीबारुद्धसँग साटेको मान्छेजस्तो लाग्छ,’ उनले भने । पोखराका सुवेदीले जंगलको बंकर खनिसकेपछि आफूहरूलाई रुस फर्काउने तयारी रहेको बताए । ‘हाम्रो पनि जाने दिन नजिकिँदै छ, रुस फर्कन पाउने खुसीले दिन पनि धेरै लामो लाग्न थालेको छ । दिन छिटोछिटो बितिदिओस् जस्तो लाग्छ,’ उनले भने, ‘सुरुङ खनेर सकिन लागेको छ । हामीलाई यहाँबाट आर्मीको गाडीले मस्कोको हेडक्वार्टरसम्म पुर्‍याउँछ । त्यहाँ पुगेपछि नेपाल जाने हो ।’ 

नेपाल आइसकेका काठमाडौंका खिला दाहालका अनुसार युक्रेनको बाहमुत, डोनेक्स, जिफोरियामा खटिएका नेपाली फिर्ता हुन थालेका छन् । ‘म सुरुमा डोनेक्समा खटिएको थिएँ । त्यहाँबाट जिफोरिजयामा सरुवा भयो । म भर्ना हुने समयमा दुई सय जना जति थिए । को कहाँ पुग्यो, थाहा नै भएन । अन्तिममा म एक्लै भएँ,’ उनले भने । 

युद्ध मैदानबाट फर्किएका रञ्जन श्रेष्ठले जीवनको महत्त्व थाहा पाएको बताए । ‘मैले युद्ध मैदानमा पुगिन्छ भनेर कहिल्यै सोचेको थिइनँ । युद्धमा जादा निरास भइन्थ्यो । बाँचेर फर्किसकेपछि खुसी नै खुसी,’ उनले भने, ‘जीवन के हो भन्ने कुरा बाँचेपछि मात्रै थाहा हुँदोरहेछ ।’ 

मस्कोस्थित नेपाली दूतावासका अनुसार सेनाको सेवा थप गर्न नचाहनेको करारपत्र रद्द भइरहेको जनाएको छ । ‘करारपत्र समाप्त भएका धेरै नेपाली फर्किसकेका छन् । आधिकारिक संख्या थाहा छैन,’ रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले भने, ‘कतिपय करारपत्र रद्द भएकाहरू युद्ध क्षेत्रमा नै छन् । उनीहरूलाई मस्को ल्याउन रुसी विदेश मन्त्रालयसँग समन्वय गरिरहेका छौं ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully