काभ्रे — प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सरकारले अब रोजगारी खोज्ने शिक्षाभन्दा पनि रोजगारी प्रदान गर्ने शिक्षा दिने बताएका छन् ।
काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३० औं विश्वद्यालयको पहिलो चरणको दीक्षान्त समारोहलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार अब रोजगारी प्रदान गर्न केन्द्रित भएको र यसमा काठमाडौं विश्वविद्यालयसँग समन्वय गर्ने बताए ।
‘अहिले युवाहरुमा रोजगारी पाइन्छ कि पाइँदैन भन्ने चिन्ता भएको छ,’ उनले भने, ‘रोजगारी खोज्ने शिक्षा होइन, अब रोजगारी प्रदान गर्ने शिक्षाका लागि अगाडि बढेका छौं, विद्यार्थीहरुलाई पढाईसँगै रोजागरीमा जोड्दै आत्मनिर्भर बनाउन देशकै नमुना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्नेछौं ।’
विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षाको पनि आवश्यकता भएको उनले बताए । ‘विश्वविद्यालयमा आफूले आर्जन गरेको ज्ञानलाई अब व्यवहारमा उतार्ने समय भएको छ,’ विद्यार्थीहरुलाई उनले भने, ‘यहाँसम्मको अध्ययनपछि अब आफ्नै व्यवहारबाट धेरै कुराहरु सिक्दै जाने हो, इर्न्टनसिपमार्फत विद्यार्थीहरुले व्यवहारिक ज्ञान पनि सिक्न सक्नेछन् ।’
व्यक्तिलाई उनको शैक्षिक योग्यताले भन्दा पनि व्यवहारले चिनाउने भएकाले व्यक्तिलाई सफल पनि उसको व्यवहारले नै गराउँछ । त्यसरकारण पनि व्यवहारिकता र व्यवहारिक शिक्षा निकै नै अपरिहार्य रहेको उनको भनाइ थियो ।
'विश्वविद्यालय ज्ञानको भण्डार हो । जीवनमा पढाई भन्ने कुरा कहिल्यै सकिँदैन, जिन्दगीभर चलिरहन्छ । सिकाईमा पनि व्यवहारिकतालाई विशेष प्राथमिकतामा राख्नुपर्ने र त्यो पनि परिष्कृत र परिमार्जित हुनुपर्छ,' उनले भने, ‘हाम्रो धर्ती, भूभाग अहिले मरभूमि बन्ने लागेको स्थिति छ, अरुका गल्तीले मरभूमि बन्दैछ, अहिले हामी वातावरणीय न्यायका लागि लडिरहेका छौं, आज हिमाल कालापत्थरको रुपमा परिणत हुँदै गएको अवस्था छ, जसको परिणाम समुद्री तह उच्च भएको छ, यी कुराहरुप्रति हामी सजग हुनुपर्दछ, जलवायु परिर्वतनका विषयमा पनि ध्यान दिन आवश्यक छ ।’
