२२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो र ६ देखि ८ वर्षसम्म कैद मागदाबी, एक थुनामा, २५ जना ‘फरार’
विराटनगर — मोरङको धनपालथान–३, कर्सियास्थित उमा–गौरी कृषि सहकारीको रकम अपचलन गरेको अभियोगमा संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो र ६ देखि ८ वर्षसम्म कैद मागदाबी गरेर जिल्ला अदालतमा मुद्दा चलाइएको हो ।
अभियुक्त २६ जनामध्ये सहकारीका सञ्चालक समिति सदस्य रोशन राजवंशी यसअघि नै पक्राउ परेका थिए । शुक्रबार नै थुनछेक बहस गरेर अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता सुदर्शन निरौलाले बताए । ‘यसअघि १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकामा राजवंशी मात्र समातिएका थिए,’ उनले भने, ‘अब बाँकीविरुद्ध पनि अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिन्छ ।’
विराटनगर महानगरपालिका–४ की योगिता शर्मा बाँस्तोलालगायत २० जनाको जाहेरीका आधार प्रहरीले उमा–गौरी सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धान सकिएपछि सञ्चालक समिति सदस्य राजवंशीबाहेकका २५ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । मुद्दामा फरार प्रतिवादीका रूपमा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह छन् । सञ्चालक समिति सदस्य आमोद मण्डल र जितमान ठाकुर, लेखा समितिका संयोजक विजयकुमार यादव तथा सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत विरुद्ध पनि मुद्दा चलाइएको छ ।
प्रहरीले उमा–गौरी सहकारीको रकम अपचलन अनुसन्धानका लागि अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ गर्न गत महिना अदालतबाट अनुमति लिएको थियो । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले अनुसन्धानका लागि सिफारिस गरेका व्यक्तिलाई पक्राउ गर्न प्रहरीले त्यति बेला अदालतबाट अनुमति लिएको हो । प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले गत भदौ २४ मा अञ्जला कोइरालालगायतको नाम काटेर १० जनामाथि अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रंगेलीलाई पत्राचार गरेको थियो । विभिन्न कागजात अध्ययन र अनुसन्धानमा कोइरालासहित थप १६ जनालाई पनि प्रतिवादी बनाउनुपर्ने निष्कर्ष निकालिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता देव जोशीले बताए ।
कोइराला सहकारीकी पूर्वसञ्चालक हुन् । उनी सहकारीमा ०७२ देखि ०७८ सम्म सञ्चालक समिति सदस्य थिइन् । उनी सदस्य रहेकै बेला ऋणी र सञ्चालक समिति सदस्यको जग्गाको कागजपत्र धितो राखेर बुटवलको आरएसडीसी लघुवित्तसहित विभिन्न बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालिएको थियो । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । सहकारीले बचतकर्ताको २ करोड ३ लाख ५४ हजार फिर्ता गर्न सकेको देखिँदैन । सहकारीमा ५ हजार सेयर सदस्य छन् । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ मा राजीनामा दिएकी थिइन् ।
सहकारीले आरएसडीसीबाट २०७७ असोज २३ मा निर्णय गरेरै २०७७ फागुन १३ मा २ करोड रुपैयाँ र २०७८ असार २४ मा ७५ लाख रुपैयाँ कर्जा लिएको थियो । कर्जा लिने निर्णय गर्दाका तीन वटै बैठकमा संस्थाका अध्यक्ष रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आलम अन्सारी मियाँ तथा सञ्चालकहरू अञ्जला कोइराला तथा आमोद मण्डल र रोशन राजवंशी उपस्थित थिए । उनीहरूको हस्ताक्षरसहितको कागजात आरएसडीसीले अदालतमा पेस गरिसकेको छ ।
उमा–गौरीले ऋण चुक्ता नगरेपछि आरएसडीसी लघुवित्तले सहकारीकी तत्कालीन सदस्य कोइरालासहित सबै पदाधिकारीको फोटोसहित विवरण पत्रिकामा छापेर सार्वजनिक सूचना जारी गरिएको थियो । उमा–गौरीले २०८१ असोज १० सम्ममा साँवा तथा ब्याज र हर्जनासहित ३ करोड ४३ लाख ७२ हजार ८ सय ८३ रुपैयाँ ५४ पैसा भुक्तानी गर्न बाँकी रहेको आरएसडीसीले जनाएको छ ।
