नवप्रवेशीलाई ‘उचित स्थान’ दिने माओवादीको निर्णय

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

Maoist's decision to give 'proper place' to new entrants

काठमाडौँ — माओवादी केन्द्रमा प्रवेश गर्नेलाई उचित स्थान दिने निर्णय गरेको छ । यसअघि माओवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको निश्कर्ष निकाल्दै अब भने क्षमताका आधारमा उचित स्थान दिने निर्णय स्थायी समितिले गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिले विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गर्ने वातावरण बनाउने निर्णय पनि गरेको छ ।

‘माओवादी केन्द्रमा प्रवेश गरेका व्यक्तिलाई उचित जिम्मेजारी दिने निर्णय भएको छ,’ स्थायी समिति सदस्य कमला रोकाले भनिन्, ‘त्यसका लागि सम्बन्धित समितिले आवश्यक गृहकार्य गर्ने कुरा भएको छ । पुस २ मा हुने भएको केन्द्रीय समितिको बैठक तयारी नपुगेको भन्दै पुस २१ मा सार्ने निर्णय बैठकले गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दस्ताबेज लेख्न समय नपुगेको भन्दै केन्द्रीय समिति पर सार्नुपरेको जानकारी दिएका थिए ।

बैठकमा दाहालले स्थानीय तहको उपनिर्वाचनले उत्साह थपेको भन्दै सुशासन, भ्रष्टाचार विरोधी मुद्दालाई अझै सशक्त ढंगले अघि बढाउनु पर्ने बताए । ‘यो उपनिर्वाचनमा जनताले माओवादीलाई रुचाएको फाइएको छ । अभै हामीले हाम्रो एजेण्डालाई सशक्त ढंगले लैजानुपर्ने छ,’ दाहालले भने ।

कान्तिपुर

Link copied successfully