मुगुमा एकै महिलाले ६ बच्चा जन्माएको हल्ला मात्र

मंसिर २८, २०८१

डीबी बुढा

Just a rumor that one woman gave birth to 6 children in Mugu

मुगु — शुक्रबार सामाजिक सञ्जालमा एक महिलाले ६ बच्चा जन्माएको भन्दै तस्बिरसहितको पोस्ट फैलियो । बेडमा सुत्केरी जस्तो देखिने महिला सुतिरहेको, उनको छेवैमा ६ शिशुहरू लस्करै राखिएको र बेडको छेवैमा पाँच जना स्वास्थ्यकर्मीहरू हाँसिरहेको तस्बिर पोस्ट गर्दै धेरैले लेखेको देखियो, कर्णाली प्रदेशको मुगु जिल्लाको एक सिस्टरले ६ जना बच्चा जन्माइन् । धेरैले यही तस्बिरसहित यस्तै आशयको स्टाटस पोस्ट र श्यर गरिरहेको देखिन्छ ।

जनस्वास्थ्य कार्यालय मुगुका प्रमुख डा. निर्मल नगरकोटीले जिल्लाभित्र ६ बच्चाको जन्म भएको विषय हल्ला मात्रै भएको बताए । उनले भने, ‘जिल्लाका कुनै पनि अस्पतालमा ६ बच्चा जन्मिएको भन्ने भेटिएन । हामीले सबै बर्थिङ सेन्टरमा बुझ्दा पनि यस्तो खबर पाएनौं ।’ उनले जिल्लाभित्रका बर्थिङ सेन्टरमा यस्तो भएको भए आफूहरूले खबर पाउने बताए ।

डा. नगरकोटीले ६ जना सन्तानलाई जन्म दिने कुरा असम्भव नभए पनि स्वास्थ्यका हिसाबले जटिल विषय भएको बताउँदै भने, ‘कठिन अवस्थाको गर्भवती हुनेबित्तिकै जिल्ला अस्पताल रेफर भइहाल्छन् । अहिले कतैबाट पनि यस्तो खबर छैन । त्यसैले यो सरासर फेक हो ।’ मुगुमा ३२ वटा बर्थिङ सेन्टर छन् । एकाएक मुगुको एक महिलाले ६ महिलाले बच्चा दिएको खबर भाइरल भएको खबरले आफूहरू चकित परेको पनि उनले बताए । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully