केपी ओलीका कारण मुलुकले ऐतिहासिक अवसर गुमायो : घनश्याम भूसाल

‘संसद्को विघटन र नेकपा विभाजन कम्युनिस्ट आन्दोलन र मुलुकको राजनीतिकै लागि धेरै व्यापक, गहिरो र दूरगामी दुष्प्रभाव पार्ने परिघटना हो ।’

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

Due to KP Oli, the country lost a historical opportunity: Ghanshyam Bhusal

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले केपी शर्मा ओलीका कारण मुलुकले ऐतिहासिक अवसर गुमाएको बताएका छन् । शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा भूसालले पेस गरेको राजनीतिक प्रस्तावमा भूसालले बलियो जनसमर्थन हुँदाहुँदै त्यसप्रति इमान्दार नेतृत्वको अभावमा मुलुकले एउटा ठूलो सम्भावना गुमाएको बताएका हुन् ।

संसद्को विघटन मुलुकको राजनीतिलाई दूरगामी रूपमा प्रभाव पार्ने घटना भएको पनि उनले प्रस्तावमा भनेका छन् । उनले भनेका छन्, ‘संसद्को विघटन र नेकपा विभाजन कम्युनिस्ट आन्दोलन र मुलुकको राजनीतिकै लागि धेरै व्यापक, गहिरो र दूरगामी दुष्प्रभाव पार्ने परिघटना हो ।’ राष्ट्रिय पुँजीको विकासका लागि समाजवादी कार्यक्रम, दूरदर्शी तथा दृढ इच्छाशक्ति भएको राजनीतिक पार्टी र बलियो जनसमर्थन प्राथमिक सर्त भएको पनि उनले बताएका छन् ।

‘बलियो जनसमर्थन हुँदाहुँदै त्यसप्रति इमान्दार नेतृत्वको अभावमा मुलुकले एउटा ठूलो सम्भावना गुमाएको छ । राजा महेन्द्रले भूमिसुधार गर्न नसकेपछि राष्ट्रिय पुँजीको विकासका लागि उनले एउटा अवसर गुमाएका थिए । २०४६ पछि नेपाली कांग्रेसले अर्थतन्त्रको जिम्मा बजारलाई छोडेर अर्को ठूलो अवसर गुमाएको थियो । केपी ओलीका कारणले गर्दा मुलुकले अर्को ऐतिहासिक अवसर गुमाएको छ,’ उनले भनेका छन् । उत्पादन नगर्ने मुलुक सधैँ राजनीतिक संकटमा पर्ने उल्लेख गर्दै राजनीतिक नेतृत्वले गरेका वाचा पूरा गर्न नसक्दा जनताले धोका पाएकोसमेत उनको भनाइ छ । 

गणतन्त्र ल्याउन मुख्य भूमिका खेल्नेहरूले नै गणतन्त्रको नेतृत्व गर्न सक्दैनन् कि भन्ने आशंका उब्जिएको समेत भूसालको भनाइ छ । ‘गणतन्त्रका शक्तिहरूले गणतन्त्रको नेतृत्व गर्न सक्छन्कि सक्दैनन् भन्ने प्रश्न उठेको छ । जसले गर्दा जनतामा निराशा र आक्रोश बढ्दै छ । कम्युनिष्ट आन्दोलनमा त ठूलो मनोवैज्ञानिक आघात लागेको छ,’ उनले भनेका छन् । राजनीतिक नेतृत्वको असक्षमताले पनि सामाजिक सञ्जालमा गणतन्त्रलाई नै गाली आइरहेको पनि उनको भनाइ छ । ‘यही मौकामा सामाजिक लफङ्गाहरुले सडकमा गणतन्त्रलाई दुत्कारिरहेका छन् । विचार/सिद्धान्तको खिल्ली उडाइँदै छ,’ भूसालले भनेका छन् । 

नेपालमा लोकरिझ्याइँ(पपुलिज्म) को राजनीतिलाई ओलीले नै संस्थागत गरेको भूसालको प्रस्तावमा उल्लेख छ । अहिले पनि विचार र सिद्धान्त नभएकाहरू पपुलिस्टहरू जन्मिएको उनको भनाइ छ । उनले प्रस्तावमा अघि बढेका छन्, ‘केपी ओलीले पपुलिस्ट राजनीतिलाई संस्थागत गरेका थिए, त्यसले अरु पार्टीका नेताहरूलाई पनि पपुलिस्ट बनाउँदै थियो । तिनीहरुको पपुलिज्ममा विचार/सिद्धान्तको जलप थियो । आजको अर्थराजनीतिक सङ्कटले विचार/सिद्धान्त केही पनि नमिसिएको विशुद्ध ‘नयाँ’ पपुलिस्टहरू जन्माएको छ ।’

जुनसुकै मुलुकको पपुलिज्म पुरानो राजनीति अर्थात् पुराना पार्टीका नालायकीको घोडा चढेर आउने पनि महासचिव भूसालले बताएका छन् । ‘अहिले त्यही भइरहेको छ । प्रधानमन्त्रीका विरुद्ध नाराबाजीका घटना त्यसकै निरन्तरता हुन् । गएका केही दशक राजनीतिको मूलधारमा रहेका नेपाली कांग्रेस, नेकपा एमालेलगायत मूलधारका भनिने पार्टीहरूको नेतृत्व पंक्तिले दलाल पुँजीवादसँग सम्झौता गरेको थियो र उनीहरुको वर्गउत्थान भएको थियो ।’

कान्तिपुर संवाददाता

Link copied successfully