काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा केही राजनीतिक दल, तिनका भ्रात संगठनले दलीय हस्तक्षेपको हर्कत गर्दै आएको भन्दै त्यसमा विमत्ति जनाएको छ । रास्वपा कार्यवहाक महामन्त्री कबिन्द्र बुर्लाकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै शैक्षिक नियुक्तिमा राजनीतिकरण गर्नु अक्षम्य अपराध हुने बताएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाकालदेखि नै शैक्षिक संस्थाहरुमा दलीय राजनीतिक भागबन्डाको प्रतिवाद गर्दै उत्कृष्टता र क्षमताका आधारमा नियुक्ति हुनुपर्ने विषयलाई स्थापित गर्न लागिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक नियुक्तिमा राजनीतिकरण गर्नु शैक्षिक संस्थाहरु विरुद्धको अक्षम्य अपरोध हो ।’
योग्यता, क्षमताभन्दा राजनीतिक दलहरुले भागबन्डामा कार्यकर्ता नियुक्ति गर्दा शैक्षिक संस्थाको साख गिर्दै गएको रास्वपाले जनाएको छ । ‘त्रिविमा डिन र क्याम्पस प्रमुखलगायत अन्य विश्वविद्यालयका नियुक्तिका सर्न्दभमा केही राजनीतिक दल, तिनका भ्रातृ संगठनले दलीय हस्तक्षेपको हर्कत गर्दै आएका छन् । त्यसप्रति हाम्रो विमित्त छ,’ विज्ञप्तिमा उल्लेख छ ।
त्रिविले स्थापित गर्न खोजेको उत्कृष्टताको अभ्यासलाई संस्थागत गर्ने प्रयासमा समर्थन रहने समेत रास्वपाले जनाएको छ । ‘सरकार र सत्तारुढ दलबाट नै उत्कृष्टताको पद्धतिलाई निरुत्साहित गर्ने हर्कतप्रति हाम्रो सदैव आपत्ति रहन्छ । विश्वविद्यालयमा दलीय राजनीतिक स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ ।
