'छानाबाट चुहिने हिउँ र शीतको कठ्यांग्रिादो चिसोमा कोठाभित्र बस्न सक्ने अवस्था छैन, हिउँसँगै झरी परेको दिन त हामीलाई निकै कष्ट हुन्छ'
धनगढी — भूकम्पले चर्किएका दुवै भवन जीर्ण छन्, खिया लागेको जस्तापाताबाट हिउँ पग्लिएको पानी तपतप खस्छ । कक्षाभित्र सहिनसक्नु चिसो छ । मंगलबार बिहान पारिलो घाम लागेकाले विद्यालयको प्रांगणमा जमेको बाक्लो हिउँमाथि ढुंगा ओछ्याइयो, ढुंगामाथि बसे कलिला बालबालिका ।
अघिल्तिर डोकोको आड लगाएर कालोपाटी ठड्याइयो र ७ महिने छोरीलाई छातीमा बोकेर कक्षा तीनका बालबालिकालाई पढाउन थालिन् शिक्षिका जुना धामी रावत ।
हातमा किताब समातेर पढ्न बसेका बालबालिका, पढाइरहेकी शिक्षिका र उनको छातीमा टाँसिएकी दूधे बालिका सबै चिसोले लगलग काँपिरहेका थिए । बाजुराको बुढीनन्दा नगरपालिका–९ पोरखे लेकमा रहेको सिद्धेश्वरी अनाथ, विपन्न तथा जनजाति आधारभूत विद्यालयको सचित्र विवरण यही हो । दिनमा भन्दा रात उनीहरूका लागि कष्टकर छ । किनकि यी विपन्न बालबालिकाको आवास पनि यहीं हो ।
‘आइतबार रातिदेखि पोरखे क्षेत्रमा बाक्लो हिउँ पर्यो, सोमबार र मंगलबार त्यही बाक्लो हिउँमाथि ढुंगा राखेर पढाउनुपर्ने अवस्था आयो,’ शिक्षिका रावतले भनिन्, ‘हिउँ परेको दिन त्यही आँगनमा बसालेर पढाउनुको विकल्प हुँदैन । छानाबाट चुहिने हिउँ र शीतको कठ्यांग्रिँदो चिसोमा कोठाभित्र बस्न सक्ने अवस्था छैन । हिउँसँगै झरी परेको दिन त हामी सबैलाई निकै कष्ट हुन्छ ।’
विद्यालयमा दुई वटा भवन छन् । ०६२ मा निर्मित जस्तापाताले छाएको दुईकोठे एउटा भवन र ०६७ मा बनेको जस्तापाताले नै छाएको अर्को भवन । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा पक्की भवन भने छैन । पटक पटक गएका भूकम्पका धक्काले जीर्ण रहेका दुवै भवनका भित्ता चर्केका छन् ।
धेरैजसो भोटे समुदायको बसोबास रहेको पोरखे लेकको डप्क क्षेत्रमा रहेको सिद्धेश्वरीमा पढ्ने अधिकांश बालबालिका भोटे समुदायकै छन् । १ सय १५ जना बालबालिका अध्ययनरत विद्यालयमा ६६ बालबालिकालाई आवासीय रूपमा राखिएको प्रधानाध्यापक तुलाबहादुर रावतले बताए । विद्यालयमै बस्ने बालबालिकामध्ये पाँच छात्र र पाँच छात्रा गरी १० जना टुहुरा बालबालिका हुन् । यस्तै ९ छात्र र ६ छात्रा गरी १५ बालबालिका हलिया समुदायका छन् ।
आवासीय विद्यालय भए पनि बालबालिकाका लागि बस्न बेग्लै भवन छैन । ०६२ मा बनेको दुईकोठे भवनभित्र काठका पाताले छेकबार लगाएर चार कोठा बनाइएको छ । ‘दिउँसो त्यही कोठामा पढाउँछौं अनि राति सुत्ने कोठा पनि त्यही हो,’ प्रधानाध्यापक रावतले भने, ‘आवासीय विद्यालय भए पनि बालबालिकाको बसोबासका लागि बेग्लै भवन छैन ।’ आफूलाई झनै दोहोरो समस्या रहेको शिक्षिका रावतले बताइन् । ‘सात महिनाकी छोरीलाई
आफैंसँग राखेर पढाउनुपर्ने अवस्था छ,’ निजी स्रोतबाट मासिक ६ हजार पारिश्रमिक पाउँदै आएकी शिक्षिका रावतले भनिन्, ‘तीन वर्ष भयो विद्यालयमा काम गर्न थालेको, अब त सबै बालबालिकाको निकै माया लाग्छ ।’
डप्कका अधिकांश परिवार हिउँदमा औल झर्छन् । भेडा पालन यहाँका बासिन्दाको मुख्य व्यवसाय हो । चरिचरन समस्याका कारण उनीहरू हिउँदमा बाजुरा, अछाम र डोटीको औल क्षेत्रसम्म भेडा लिएर जान्छन् । चिसो घटेपछि चैतमा गाउँ फर्कन्छन् । ‘विद्यालय क्षेत्रका करिब ९० प्रतिशत बालबालिकाका अभिभावक यति बेला घरको ढोका बन्द गरेर औल झरिसकेका छन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह गुरुङले भने, ‘उनीहरूले स्कुले बालबच्चालाई विद्यालयकै जिम्मामा लगाएर छाडेका छन् ।’
०४६ मा सञ्चालनमा आएको विद्यालयका बालबालिका विगतमा ६ महिना पढाइबाट वञ्चित हुन्थे । यहाँका अभिभावक हिउँदमा भेडा लिएर औल झर्ने र बालबालिकालाई पनि आफैंसँग लिएर जाने भएकाले उनीहरूको स्कुल छुट्थ्यो । त्यही समस्या समाधान गर्न समुदायकै सक्रियतामा विद्यालयलाई ०७९ मा आवासीय बनाइएको थियो ।
