पर्सामा सकियो लामिछानेको बयान, आज पोखरा पुर्‍याइँदै 

बयानमा सानोपाइला सहकारीको बचत अपचलनसम्बन्धी ५४ प्रश्न

मंसिर २६, २०८१

भूषण यादव

Lamichhane's statement is over in Parsa, today being taken to Pokhara

वीरगन्ज — सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुर अनुसन्धानका लागि वीरगन्ज ल्याइएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग मंगलबार चार घण्टामै प्रहरी बयान सकिएको छ । वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनका विषयमा लामिछानेसँग पर्सा सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । 

सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाका अनुसार लामिछानेलाई ५४ वटा प्रश्न गरिएको थियो । प्रहरी स्रोतका अनुसार लामिछानेले कतिपय विषय स्वीकार गरेका थिए, तर ती के हुन् भन्ने खुलाइएको छैन । 

बयान सकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । सरकारी वकिल कार्यालयमा बयान भइरहँदा रास्वपाका नेता तथा कार्यकर्ताले वीरगन्जमा विरोध प्रदर्शन गरेका थिए । 

सहकारीको रकम हिनामिना प्रकरणमा कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई कास्कीबाट सोमबार साँझ वीरगन्ज ल्याइएको थियो । पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार कास्की प्रहरी हिरासतमा राख्ने म्याद बुधबार सकिने हुनाले बुधबार बेलैमा पोखरा पुर्‍याउने तयारी छ । सहकारी ठगीमै कास्की प्रहरी हिरासतमा रहेका छविलाल जोशी र रामबहादुर खनाललाई पर्सामा सोमबार बयान गराएर मंगलबार बिहान स्थलमार्गबाट पोखरा फिर्ता पठाइएको थियो । पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार लामिछाने, जोशी र खनाललाई पक्राउ गर्न पर्सा अदालतले गत बुधबार अनुमति दिएको थियो । 

लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिमा सञ्चालक एवं प्रबन्ध निर्देशक रहेका बेला सानोपाइला सहकारीबाट ८ करोड ५८ लाख रुपैयाँ सारिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सानोपाइलाबाट गोर्खा मिडियामा सारिएको हो । जोशीको घरबाट बरामद भएको हार्ड डिस्कमा सानोपाइला सहकारीबाट रकम सिधै गोर्खा मिडियामा सारेको फेला परेको थियो । गोर्खा मिडियाका सञ्चालक एवं पूर्वउपाध्यक्ष जोशीका नाममा पनि सानोपाइला सहकारीबाट एक करोड ८६ लाख ९४ हजार रुपैयाँ प्रवाह भएको अनुसन्धानमा देखिएको छ । त्यसबाहेक सानोपाइला सहकारीबाट ९३ करोड ६२ लाख ९७ हजार रुपैयाँ गैरकानुनी रूपले कार्यक्षेत्रबाहिर ऋण प्रवाह गरिएको पाइएको छ ।

प्रहरीका अनुसार सानोपाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गितेन्द्र बाबु (जीबी) राईलगायत ११ जना फरार 

छन् । सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा पक्राउ परेर पुर्पक्षका लागि कास्की कारागारमा छन् । पक्राउ परेका सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल र कर्मचारी राधेचन्द्र यादव धरौटीमा रिहा भएका थिए ।

भूषण

Link copied successfully