स्कर्पियो दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्यो [अपडेट]

गढीमाई दर्शन गरेर फर्केकाहरु दुर्घटनामा परे 

मंसिर २५, २०८१

शिव पुरी

Scorpio accident victim identified [Update]

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । प्रहरीले मृतकका आफन्त मार्फत दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत गरेको छ ।  दुर्घटनामा चालकको पनि मृत्यु भएको छ । 

चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया  लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६०  वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । घाइते ४ जनाको उपचार भइरहेको छ । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully