काठमाडौँ — मलेसियाले आफ्नो देशमा रोजगारीका लागि आउने नेपाली श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न नेपालसँग गरिएको साझेदारी उपलब्धिमूलक भएको जनाएको छ ।
नेपालबाट गएका श्रमिकमा मेडिकल अनफिट हुनेको संख्या बढेको भन्दै मलेसियाले नेपाल सरकारबाट सूचीकृत स्वास्थ्य संस्थाहरूमध्ये आफ्नो मापदण्ड (प्रोटोकल) पूरा गरेका ३६ स्वास्थ्य संस्थामार्फत श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएको छ ।
‘वर्षौंदेखि मलेसियाले नेपालमा प्रतिस्पर्धी छानिएका मेडिकल सेन्टरहरूसँग नजिकबाट काम गर्ने अवसर पाएको छ । यो साझेदारीले मलेसियामा रोजगारीका अवसर खोज्ने श्रमिकहरूको प्रभावकारी स्वास्थ्य परीक्षण सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ,’ नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९ औं महाधिवेशनलाई सम्बोधन गर्दै नेपालका लागि मलेसियन कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामले भने, ‘यो सहकार्य हाम्रा दुई राष्ट्रबीचको विश्वास र साझा प्रतिबद्धताको प्रमाण हो । यसले मलेसियाको आर्थिक वृद्धि र सामाजिक संरचनामा योगदान पुर्याउने जनशक्तिको भलाइ सुनिश्चित गर्नका लागि हाम्रो आपसी समर्पणलाई जोड दिन्छ ।’
उनले श्रमिकको स्वास्थ्य जाँचहरू प्रक्रियागत मात्र नभएको बताए । ‘यी स्वास्थ्य जाँचहरू प्रक्रियागत मात्र होइनन्, यो सार्वजनिक स्वास्थ्यको रक्षा गर्ने, श्रम मापदण्डहरू कायम राख्ने र प्रत्येक श्रमिकको मर्यादाको रक्षा गर्ने हाम्रो सामूहिक दायित्वको प्रतिविम्ब हुन्,’ उनले भने, ‘मलेसियाले स्वास्थ्य परीक्षणहरू गर्ने संस्थाहरू र व्यावसायिक चिकित्सकको लगनशीलता, निष्ठा र प्रयासलाई कदर गर्छ । यो कामले मलेसियन श्रम बजारमा प्रवेश गर्ने श्रमिकहरू स्वस्थ र तन्दुरुस्त राख्न, स्वास्थ्य जोखिमहरू कम गर्न र सुरक्षित काम गर्ने वातावरणलाई प्रवर्द्धन गर्न सुनिश्चित गर्दछ । व्यावसायिकता र प्रतिबद्धता कायम गर्दा विश्वसनीय साझेदारहरूका रूपमा नेपाली स्वास्थ्य संस्थाहरूको प्रतिष्ठालाई बलियो बनाएको छ ।’
प्रमुख गन्तव्य मुलुक अरव र मलेसिया लगायत देशमा जाने स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय तोकिएको छ । नेपाल र मलेसियाबीचको श्रम सम्झौता अनुसार नेपालमा गरिएको स्वास्थ्य परीक्षणको शुल्क रोजगारदाताले पहिलो महिनाको तलब बुझेपछि फिर्ता गर्नुपर्ने बाध्यकारी प्रावधान छ । गन्तव्य देशहरूले श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरू आफैं छनोट गर्दै आएका छन् ।
