नक्सापास नगरी डेढ अर्ब लागतमा भ्यु टावर, उद्घाटन गरिए पनि प्रयोगमा अन्योल

टावर सञ्चालनसम्बन्धी कार्ययोजनामै अलमल, निर्माण पूरा हुँदासमेत गरिएन वातावरणीय प्रभाव मूल्यांकन 

मंसिर २४, २०८१

पर्वत पोर्तेल

View tower at a cost of one and a half billion without passing the map, confusion in use even though it was inaugurated

झापा — नक्सापास नगरी निर्माण गरिएको दमक भ्यु टावरको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गरेका छन्, जसको वातावरणीय प्रभाव मूल्यांकनसमेत गरिएको छैन । झापाको दमक–३ दापगाछीमा बनाइएको टावरको सञ्चालनसम्बन्धी खाका नबन्दा प्रयोग कसले र कसरी गर्ने भन्ने अन्योल देखिएको छ ।

ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७६ असार २७ मा भ्यु टावरको जग हालेका थिए । १ सय मिटर अग्लो भ्यु टावर १८ तले छ । दमक बजारबाट करिब तीन किलोमिटर उत्तरपश्चिममा रहेको टावर करिब डेढ अर्ब रुपैयाँको लागतमा ५ वर्षमा निर्माण सकिएको हो । तर, टावर सञ्चालनका लागि आवश्यक व्यवस्थापनको मोडालिटी र ठोस कार्ययोजना बन्न सकेको छैन । 

‘नक्सापास गर्दा लाग्ने २८ लाख रुपैयाँ राजस्व नगरपालिकामा दाखिला नगरिएकाले प्रक्रिया रोकिएको हो,’ दमक नगर उपप्रमुख रेगिना भट्टराईले भनिन् । सघन सहरी तथा भवन निर्माण कार्यालयका प्रमुख रमेश थिङले भने नगरपालिकामा विज्ञ कर्मचारीको अभावका कारण घर नक्सापास गर्न ढिलाइ भएको दाबी गरे । उनका अनुसार टावर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको र पासको प्रक्रिया पछि गर्न सकिने जनाए । 

करिब पाँच बिघा जमिनमा फैलिएको यो संरचना दमक नगरपालिकाको स्वामित्वमा भए पनि सञ्चालनका लागि कुनै समन्वय नहुँदा स्थानीय सरकार बेखुसी देखिएको छ । दमक नगर प्रमुख रामकुमार थापाले संघीय सरकारले पालिकालाई बेवास्ता गर्दै टावर उद्घाटन गरेको बताए ।

दमक नगरको प्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेस छ । एमाले नेतृत्व नभएकै कारण नगरपालिकालाई स्वामित्व नदिइएको स्थानीय जनप्रतिनिधिको आरोप छ । केही समयअघि दमककै बासिन्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग नगरका जनप्रतिनिधिहरूले टावर सञ्चालन गर्न नगरपालिका सक्षम रहेको बताएका थिए । तर, सरकारले पालिकासँग सहकार्य गर्नै नचाहेको नगरप्रमुख थापाले गुनासो गरे । 

करोडौं लगानीमा टावर निर्माण भइकन पनि त्यहाँसम्म पुग्ने सडक र अन्य पूर्वाधारको स्थिति कमजोर छ । नगरप्रमुख थापाका अनुसार भ्यु टावरसम्म पुग्ने पूर्वाधार निर्माणका लागि थप ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गर्छन् । टावर निर्माणले दापगाछी क्षेत्रको जमिनको मूल्य भने ह्वात्तै बढेको छ । पाँच वर्षअघि ५ लाख रुपैयाँ कट्ठाको जमिन अहिले प्रतिधुर ५ लाखसम्म पुगेको छ । 

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय र राष्ट्रियस्तरका विकास र आर्थिक क्रियाकलापलाई अघि बढाउने उद्देश्यले यो परियोजना सुरु गरिएको बताएका छन् । उनले भ्यु टावरलाई दमक सपिङ कम्प्लेक्सका रूपमा व्याख्या गरे । ओलीले रोजगारीसँगै पर्यटन विकासको सम्भावनाको ढोका पनि खुल्ने दाबी गरेका छन् । तर, स्थानीय बासिन्दा यसको आर्थिक प्रतिफलप्रति आशावादी देखिँदैनन् । ‘टावर निर्माणले विकास र रोजगारीको अवसर सिर्जना गर्ने भनिएको छ तर हामीलाई त्यसप्रति आशा र भरोसा लागेको छैन,’ स्थानीय कृष्ण तामाङले भने, ‘१८ तलाबाट देखिने दृश्य भनेको वरपरको सुकुम्बासी बस्ती मात्रै हो ।’ 

सरकारले भ्यु टावरजस्ता विशिष्ट संरचनाको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई दिने गरी विकास समिति गठनसम्बन्धी आदेश जारी गरेको छ । समितिले टेन्डरमार्फत भ्यु टावर सञ्चालन गर्न निजी क्षेत्रलाई जिम्मा दिने जनाएको छ । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्रालयको नेतृत्वमा निर्माण गरिएको टावरलाई सञ्चालनका लागि निजी कम्पनीसँग सहकार्य गरिने बताए । 

View tower at a cost of one and a half billion without passing the map, confusion in use even though it was inaugurated

‘टावर व्यवस्थापनका लागि केही प्रवेश शुल्क राखिनेछ भने सञ्चालनका लागि कम्पनीलाई लिजमा ठेक्का दिन सकिने योजना बन्दै छ,’ शनिबार दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

२०७६ असार २७ मा चिनियाँ कम्पनी जेडसीजीआईईसी, आशिष र ओम साइराम जेभीले १ अर्ब ५६ करोड १४ लाख रुपैयाँमा निर्माणको ठेक्का पाएका थिए । २०७८ पुस २७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर, कोभिडलगायत समस्या देखाउँदै निर्माण कम्पनीले म्याद थपेर ५ वर्षमा काम पूरा गरेको हो ।

भ्यु टावरलाई १५ तलासम्म व्यापारिक कम्प्लेक्स, तीन तलामा रेस्टुरेन्ट, सेमिनार हल र पर्यटक आकर्षणका रूपमा विकास गर्ने योजना बनाइएको छ ।

त्यहाँ व्यापारिक पसलहरू, कर्पोरेट अफिस, प्रदर्शनीकक्ष र स्थानीय जातीय संग्रहालयसमेत रहने जनाइएको छ । सरकारले यस टावरको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसमेत गरिरहेको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully