प्रधानमन्त्री ओलीले दमक भ्यु टावरको उद्घाटन मात्र गरेनन्, राजनीतिक भाषणका साथ चन्दासमेत माग्न भ्याए
झापा — प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनयता गृह जिल्लाका विभिन्न सभा, समारोहमा व्यस्त छन् । उनी शिलान्यास, उद्घाटनदेखि कार्यकर्ता सम्बोधनसम्मका गतिविधिमा सक्रिय छन् । आइतबार बिहान ११:२६ मा यति एयरलाइन्सको जहाजबाट चन्द्रगढी विमानस्थल ‘ल्यान्ड’ गरेका ओलीको दौडधूप सोमबार साँझसम्म उस्तै रह्यो ।
सोमबार उनले नेपाली सेनाको २१ नम्बर वाहिनीमा रात बिताउने सुरक्षा स्रोतले जनाएको छ । ‘मंगलबार उहाँ करिब ८ बजेतिर बुद्ध एयरबाट काठमाडौं फर्किने कार्यक्रम छ’, एक सुरक्षा अधिकारीले भने ।
आइतबार बिहान विमानस्थलमै अवतरण गरेलगत्तै झापाका नेता तथा कार्यकर्ता पंक्तिले ओलीलाई घेरे । फूलमाया र अबिर जात्रापछि ओली बाहुनडाँगीतिर अघि बढे । विमानस्थलबाट करिब २० किलोमिटर पूर्व लागेपछि ओलीले कालो झण्डा र विरोधको सामना गर्न पर्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता–कार्यकर्ताले उनलाई झापाको इँटाभट्टानजिकै कालो झण्डा देखाए । त्यस क्रममा रास्वपा कार्यकर्ता र सुरक्षाकर्मीबीच सामान्य झडप पनि भयो ।
हात्ती प्रभावित मानिने मेचीनगर–४ को बाहुनडाँगी क्षेत्रमा स्थापित मानव सेवा आश्रमको निर्माणाधीन भवन शिलान्यासमा करिब एक घण्टा उनी अलमलिए । ओली पत्नी राधिका शाक्य संरक्षक रहेको आश्रमको १९औं शाखा कार्यालयको पनि उद्घाटन गर्न उनले भ्याए ।
त्यति मात्रै हैन, उनले बन्न लागेको अत्याधुनिक भवनका लागि एमाले नेता, कार्यकर्ता र एमालेबाट स्थानीय तहमा जित्ने पालिका र जनप्रतिनिधिसँग चन्दा पनि मागे । ‘आश्रम निर्माणका लागि म मेरो एक महिनाको तलब चन्दा दिन्छु’, ओलीले भने,‘को-को इच्छुक हुनुहुन्छ हात उठाउनु होला ।’ त्यसपछि दर्शकदीर्घाबाट एमालेजनहरूको धमाधम हात उठ्न थाल्यो । १० हजारदेखि १० लाख रुपैयाँसम्म चन्दा दिने भेटिए ।
अन्तिममा प्रधानमन्त्रीपत्नी राधिका शाक्यले पनि दुई महिनाको पेन्सनबापतको रकम दान दिने इच्छा व्यक्त गरिन् । त्यसपछि ओलीले ठट्यौली पारामा भने,‘लु, अब म भोकै हुने भएँ ।’ ओलीको यो ठट्टा सुनेर दर्शकदीर्घामा हाँसोको फोहोरा छुट्यो । आश्रम निर्माणका लागि स्थानीय रामबहादुर प्रधानले १ बिघा ५ कठ्ठा जमिन दान दिएका छन् । दाता प्रधानलाई ओलीले अभिनन्दन गर्दै भने,‘सबैले यसरी नै दान गर्ने, मानव सेवा गर्ने बानी बसालौँ ।’
आश्रमको कार्यक्रम सकेर ओली दमकतिर सोझिए, आफ्नै निर्वाचन क्षेत्रमा पर्ने दमक–३, दापगाछीस्थित १८ तले ‘भ्यू टावर’ उद्घाटनका लागि । करिब डेढ अर्ब लगानीमा तयार भएको भ्यू टावर उद्घाटन गर्दै उनले भने, ‘यो भू टावर हैन, दमक बिजनेस कम्प्लेक्स हो ।’ २०७६ मा प्रधानमन्त्री भएकै बखत ओलीले भ्यू टावरका रूपमा शिलान्यास गरेको यो भवन ‘दमक बिजनेस कम्प्लेक्स’ का रूपमा उद्घाटन गरे । बाहुनडाँगीको शिलान्यास कार्यक्रममा कुनै राजनीतिक टिप्पणी उनले गरेनन् । तर, भ्यू टावर उद्घाटनपछि उनी मूलतः रास्वपा सभापति रवि लामिछानेप्रति आक्रामक बने । भने,‘देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन ।’
आइतबारको रात उनी केर्खास्थित नेपाली सेनाको २१ नम्बर वाहिनीमा बिताए । सोमबार बिहानैदेखि उनी पुनः कार्यक्रममा सहभागी बने । बिहान १० बजे बेलडाँगीस्थित खानेपानी आयोजनाको उद्घाटन गरे । त्यसपछि उनले गौरादहको महारानीझोडामा जग्गाधनी पूर्जा वितरण गरेलगत्तै गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गरे ।
गौरादहबाट उनी आए पूर्वको व्यापारिक केन्द्र बिर्तामोड । बिर्तामोडको सिटी सेन्टरको पार्टी प्यालेसमा एमालेको अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले नेपालमा फेरि राजतन्त्र फर्किने कुरा कल्पना गर्न नसकिने जिकिर गरे । ओलीले २०६५ मै ‘समूल अन्त्य भइसकेको राजतन्त्र अब कहिल्यै फर्किन नसक्ने’ दाबी गरे । ‘अब एउटा व्यक्तिलाई कुर्सीमा राखेर जनता रैती हुन तयार छैनन्,’ ओलीले थपे ।
