काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । चीन भ्रमणबाट फर्किएका बेला विमानस्थलमै प्रधानमन्त्री ओलीले गत बिहीबार गठबन्धनमा कुनै खटपट नभएको र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने बताएका थिए ।
सोमबार झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण सुरु गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीचको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताए ।
