पत्रकार दाहाललाई साम्पाङका समर्थकको धम्की

मंसिर २४, २०८१

अर्जुन सुवेदी

Journalist Dahal threatened by supporters of Sampang

सुनसरी — धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थकले समाचारका विषयमा पत्रकार गोपाल दाहाललाई धम्की दिएका छन् । साम्पाङका समर्थकले आइतबार राति दाहाललाई पठाएको म्यासेजमा ‘तेरो दिन धेरै छैन’ भनेर धम्क्याइएको छ ।

दाहाललाई ९७०७३६८७०७ नम्बरबाट म्यासेज आएको हो । म्यासेजमा धरानका मेयरले विकास गरिरहेको र उनको कामविरुद्ध लेखेको भन्दै ‘राम्रो काम गर्नेलाई राम्रो गर्न’ नदिएको आरोप लगाइएको छ । 

पत्रकार दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । समाचार प्रकाशित भएलगत्तै आक्रोशित बनेका साम्पाङले दाहालसहित पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईविरुद्ध सामाजिक सञ्जालबाट धम्की दिएका थिए । यस विषयमा दाहाल र राईले सुरक्षाको माग गर्दै जिल्ला प्रहरीमा निवेदन दिइसकेका छन् । 

प्रमुख साम्पाङले पनि आफूविरुद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न आग्रहसहितका तीनवटा पत्र संघीय सरकारलाई पठाएका छन् । आफूविरुद्ध समाचार लेख्ने पत्रकार र नदीजन्य पदार्थ उत्खनन गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई दुईवटा पत्र र प्रशासकीय अधिकृत पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका हुन् । 

साम्पाङले दाहाल र जनकऋषिलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन् । साम्पाङले गृहमन्त्रीलाई लेखेको पत्रमा पत्रकार दाहालले समाचारमा ‘आफूलाई नक्कली माओवादी बनेर चन्दा असुलेको उल्लेख गरेको र उक्त विषय झूटो भएको’ दाबी गरिएको छ । उक्त समाचारलाई जनकऋषिले दुष्प्रचार गरेको साम्पाङको आरोप छ । 

साम्पाङले पत्रमा लेखेका छन्, ‘दुवैलाई कानुन मुताविक कारबाही गरी लोकतन्त्रमा नागरिकको मताधिकार र जनादेशबाट निर्वाचित नगर प्रमुखजस्तो पदलाई अपमान र अनादर गरी भ्रम फैलाउने तथा मानहानि गरी प्रेस स्वतन्त्रताका नाममा पार्टीगत आग्रह/पूर्वाग्रह राखी लोकतन्त्रलाई नै निकृष्ट र बदनाम गर्ने आपराधिक, असामाजिक, अमर्यादित कृत्य र त्यसबाट हुन जाने विकृतिलाई रोक्न आवश्यक कदम चालियोस् भन्ने अनुरोध छ ।’ 

साम्पाङले प्रेस स्वतन्त्रताका नाममा व्यक्ति र पद दुवैको मानहानि गर्नेलाई कारबाही गर्न पनि माग गरेका छन् । शुक्रबार सुनसरीका पत्रकारहरूले पनि साम्पाङको धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध धरान पुगेका गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका थिए । 

साम्पाङले अर्को पत्रमा नदीजन्य पदार्थ उत्खनन गर्ने तस्करीको गाडी नियन्त्रणमा लिन माग गर्दै गृह मन्त्रालयलाई पत्र पठाएका छन् । मंसिर ४ देखि नगर प्रहरीलाई ढुंगा झिक्ने गरेको ठाउँमा खटाउनुपरेको र प्रहरीले सहयोग पनि नगरेको साम्पाङले आरोप लगाएका छन् । साम्पाङले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई पनि पत्रमार्फत आग्रह गरेका छन् । जनप्रतिनिधिकै कार्यशैलीका कारण धरानमा प्रशासकीय अधिकृत आउन नचाहने गरेको उपप्रमुख आइन्द्रविक्रम बेघाले बताए ।

अर्जुन सुवेदी

Link copied successfully