दक्षिण एसियामा बढ्दो वायु प्रदूषणबारे काठमाडौंमा चासो

मंसिर २४, २०८१

नुमा थाम्सुहाङ

Concern in Kathmandu about increasing air pollution in South Asia

काठमाडौँ — दक्षिण एसियामा बढ्दै गरेको वायु प्रदूषणबारे सरोकारवालाहरूले चिन्ता र चासो व्यक्त गरेका छन् ।

काठमाडौंमा सोमबारदेखि सुरु भएको ‘वायु प्रदूषणसम्बन्धी एसिया प्रशान्त क्षेत्र कार्यक्रम दक्षिण एसियाली क्षेत्रीय कार्यशाला’ मा दक्षिण एसियाली मुलुकहरूले वायु प्रदूषणबारे चिन्ता व्यक्त गरेका हुन् । 

संयुक्त राष्ट्र संघ इकोनोमिक एन्ड सोसल कसिमन फर एसियन एन्ड द प्यासिफिक (ईएससीएपी), वन तथा वातावरण मन्त्रालय, संयुक्त राष्ट्र संघ इनभाइरोमेन्ट प्रोग्राम (युएनईपी), एसियन विकास बैंक (एडीबी) र युनिसेफले संयुक्त रूपमा आयोजना गरेको उक्त दुई दिने कार्यशालामा नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाले सहभागी जनाएको छ । 

वन मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषण दक्षिण एसियाका लागि चुनौतीका रूपमा देखा परेको र यसले मानिसको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको बताएका छन् ।

‘वायु प्रदूषण दक्षिण एसियाका लागि नै जल्दोबल्दो चुनौतीका रूपमा देखा परेको छ,’ मन्त्री शाहीले भने, ‘हरेक वर्ष बढिरहेको वायु प्रदूषणले पारिस्थितिक प्रणाली, अर्थतन्त्र तथा मानव स्वास्थ्यलाई असर गरिरहेको छ ।’ दक्षिण एसियामा नेपालले पनि वायु प्रदूषणको चुनौतीको सामना गरिरहेको बताए । उनको भनाइमा काठमाडौं पनि वायु प्रदूषण हुने सहरमा विश्वमा अगाडि नै आइरहेको छ । त्यसैले वायु प्रदूषण स्थानीय समस्या नभई अन्तरदेशीय समस्याको रूपमा रहेकामा उनले जोड दिए ।

एसिया–प्यासिफिक रिजनल एक्सन प्रोग्राम अन एयर पोलुसन (आरएपीएपी) लाई कार्यान्वयनमा ल्याउन ईएससीएपीले वायु प्रदूषणसम्बन्धी जनचेतना बढाउन, विज्ञसँगको जानकारी र स्रोतहरूको आदान–प्रदान गर्न काठमाडौंमा उक्त कार्यशाला आयोजना गरिएको हो । 

कार्यशालामा नेपालका लागि रिपब्लिक अफ कोरियाली राजदूत ताई यङ पार्कले वायु प्रदूषणबाट दक्षिण एसियाली राष्ट्रहरू सबैभन्दा बढी प्रभावित भएको बताएका छन् । राजदूत पार्कले भने, ‘वायु प्रदूषणले सार्वजनिक स्वास्थ्य र वातावरणमा जोखिम पुर्‍याइरहेको छ र दक्षिण एसिया यसबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो ।’ उनले कोरिया वायु गुणस्तर व्यवस्थापनमा क्षेत्रीय सहकार्यलाई समर्थन गर्न प्रतिबद्ध रहेको र कोरिया सरकारले ईएससीएपीको सहकार्य कोषमार्फत सन् २०२२ मा आरएपीएपीको विकासमा सक्रिय योगदान गरिरहेको समेत बताए । साथै उनले नेपाल र संयुक्त राष्ट्र संघसँग वायु गुणस्तर सुधारमा सहकार्य गर्न इच्छुक रहेको समेत बताए । 

यसैगरी वायु प्रदूषणका विषयमा साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन (सार्क) का सेक्रेटरी जेनेरल गोलम सरवार भन्छन्, ‘दक्षिण एसिया क्षेत्रमा वायु प्रदूषण एक महत्त्वपूर्ण पर्यावरणीय र सार्वजनिक स्वास्थ्यको समस्या हो । जसले बंगलादेश, नेपाल, पाकिस्तान र श्रीलंकाजस्ता मुलुकमा लाखौं मानिसलाई असर पुर्‍याइरहेको छ । यो गहिरो चिन्ताको विषय हो ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को वायु गुणस्तर मार्गनिर्देशन (सन् २०२१) ले सात मिलियन मानिसहरू वार्षिक रूपमा वायु प्रदूषणका कारण कार्डियोभास्कुलर र श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने गरेको देखाएको छ । विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ अनुसार दक्षिण एसियाका ६० प्रतिशत जनसंख्याले प्रदूषित हावामा सास फेरिरहेका छन् । जसले डब्लूएचओको वायु गुणस्तर मापदण्डलाई पार गरेको प्रतिवेदनमा उल्लेख छ । यसै सन्दर्भमा सरवारले दक्षिण एसियाको जीवन र जीविका जोखिममा रहेको बताए । 

तीव्र सहरीकरणसँग सम्बन्धित गतिविधि, वन फडानी, जलवायु परिवर्तनका कारणले वायु प्रदूषण अझ बिग्रँदो अवस्थामा रहेको उनले बताए । ‘वायु प्रदूषण सीमापार समस्या हो, जसले दक्षिण एसियाका देश र त्यसपारिका राष्ट्रलाई दिगो विकास उद्देश्यको प्राप्तीमा अवरोध पुर्‍याउँछ,’ उनले थप भने । 

यूएन रेसिडेन्ट कोर्डिनेटर हाना एहमद सिंगर बढ्दो वायु प्रदूषणका कारणले मानिसलाई सास फेर्न गाह्रो भएको बताइन् । ‘आज म वायु प्रदूषणबारे मात्र यसले निम्त्याइरहेको चुनौतीका बारेमा कुरा गर्न गइरहेको छु,’ उनले भनिन्, ‘अहिलेको खराब वायुले हामीलाई साँच्चिकै सास फेर्न गाह्रो बनाइरहेको छ ।’ दक्षिण एसियामा वायु प्रदूषणले स्वास्थ्य र पर्यावरणमा पुर्‍याउने गम्भीर चुनौतीलाई पहिचान गर्दै यसमाथि छलफल गर्न उक्त कार्यशाला आयोजना गरिएको हो ।

वायु प्रदुषण

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully