खाःचा धिमे खलः थेच्वको आयोजनामा गोदावरी नगरपालिका–१२ मा दिइएको ३ महिना लामो प्रशिक्षणमा यहााका ८८ जना युवाले धिमे बजाउन सिकेका छन्, शनिबार समापनको दिन स्थानीय नास द्यः (नाथ गुरु) स्थानमा पुगेर प्रशिक्षार्थीले धिमे बजाउँदै नगर परिक्रमा गरेका थिए ।
काठमाडौँ — उनका सँगैका साथी कोही अस्ट्रेलिया लागिसके भने कोही बेलायत जान भिसा कुरिरहेका छन् । अझ कोही त विदेशिन भाषा कक्षा धाइरहेका छन् । छिमेककै कतिपय साथीहरू मजदुरीका लागि यूएई पुगेका छन् ।
तर, उनले न खाडी जाने सोचे, न त युरोप, अमेरिका नै । बरु स्वदेशमै उद्यमी बन्ने सोचमा छन्, ललितपुर गोदावरी नगरपालिका–१२ थेच्वका अखिल महर्जन ।
‘कुलिनरी आर्टस्’मा डिप्लोमा सकेर होटेल व्यवसायमा लागिरहेका अखिललाई धिमे बाजा सिक्न सानैदेखिको रुचि हो । धिमे सिकेर भविष्यमा नेवारी संस्कृति झल्कने होमस्टे खोल्ने योजनामा छन् उनी । भन्छन्, ‘ताकि विदेशी पर्यटकलाई हाम्रो संस्कृति सम्पदा देखाएर तान्न सकियोस् । अहिलेको युगमा संस्कृति संरक्षण मात्र भनेर हुँदैन, यसलाई आम्दानीको स्रोत पनि बनाउन जरुरी छ ।’
भविष्य बनाउने चक्करमा युवापुस्ता विदेशिने क्रम नरोकिँदा सम्पदा संरक्षण प्रवर्द्धन ओझेलमा परेको ठान्छन्, अखिल । उनीहरूलाई आफ्नो करियर र परम्परा सँगसँगै लैजानुपर्नेमा जोड दिँदै भन्छन्, ‘संस्कृति बचेन भने समाजमा विकृति पनि मौलाउँछ ।’
थेच्वकी अपिना महर्जन पेसाले शिक्षिका हुन् । सानैमा अरूले धिमे बजाएको देखेर खुब बजाउन रहर गर्थिन् । अझ महिलाहरूले बजाएको देख्दा झनै बजाउँ, बजाउँ लाग्थ्यो उनलाई । तर, सिक्ने अवसर पाएको थिइनन् । उनलाई आफ्नो संस्कृतिको महत्त्वबारे बुझ्न निकै उत्सुकता छ । यही उत्सुकताका कारण पनि बाजा सिकेकी उनी भन्छिन्, ‘धिमे पहिला पुरुषले मात्र बजाउने बाजाको रूपमा लिइने तर अहिले महिला पनि अग्रसर भएर संस्कृति संरक्षणमा टेवा पुगेको छ ।’
थेच्वकै रुपिन महर्जन आफ्नो संस्कृति, परम्परा जगेर्ना गर्नकै लागि धिमे सिकेको बताउँछन् । भन्छन्, ‘पुर्खाले संरक्षण नगरेको भए आज हाम्रो पुस्ता धिमे बाजा तालका बारेमा अनभिज्ञ हुन्थ्यो । आउँदो पुस्तालाई धिमेको महत्त्वका बारेमा थाहा दिन लागिपरेका हौं ।’
अपिना भने धिमे बाजासँगै धिमे नृत्य पनि सिकिरहेकी छन् । सानैदेखि नाच्न मन रुचाउने उनले भनिन्, ‘पहिलो पटक नाच्दा निकै डर लागेको थियो । तर, धिमेको ताल बुझेपछि सहज भयो ।’ गीत, संगीत आफ्नो रुचिको विषय भएकाले पनि प्रशिक्षण अवधिभर निकै रमाइलो भएको उनले सुनाइन् ।
देवित महर्जनलाई संस्कृतिप्रति औधी मोह छ । धिमे सिक्न उनलाई परिवारले पनि साथ दिएको छ । धिमे बजाउन सिकिरहेकोमा आफूलाई गर्व महसुस भएको उनले बताए । भने, ‘बाजा बजाउनुलाई पेसाका रूपमा लैजाने सोच बनाएको छु ।’
यी केही प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै खाःचा धिमे खलः थेच्वको आयोजनामा ८८ जना युवायुवतीले धिमे बाजा सिकेका छन् । सहभागी कतिपय प्रशिक्षार्थीले मौलिक बाजागाजालाई पुनर्जीवित बनाइराख्न आफूहरूले पनि योगदान गर्न सकुँ भनी बाजा सिकेको बताए ।
बाजा बजाउन पाउँदा मन शान्त र मस्तिष्कमा आनन्द महसुस हुने उनीहरूको भनाइ थियो । गोदावरी नगरपालिका–१२ मा दिइएको ३ महिना लामो प्रशिक्षण शनिबार सम्पन्न भएको छ । शनिबार स्थानीय नास द्यः (नाथ गुरु) स्थानमा पुगेर प्रशिक्षार्थीलाई बाजा बजाउन लगाएर नगर परिक्रमा गरिएको थियो ।
साथै धिमे बाजाको तालमा युवतीहरूले सामूहिक रूपमा नृत्य प्रस्तुत गरेका थिए । अन्तमा बाजा गुरुहरू रत्नबहादुर महर्जन, हेरालाल महर्जन, नारायण भक्त महर्जन, रवीन्द्र महर्जन, कृतज्ञ महर्जन र प्रशिक्षार्थीहरूलाई सगुन दिएर सम्मान गरिएको थियो । धिमे नाच भने स्थानीय सुरेन्द्र महर्जनले प्रशिक्षण दिएका थिए ।
धिमे बाजा नेवार समुदायको सबैभन्दा प्रचलित बाजा हो । यो बाजा सांस्कृतिक कार्यक्रमसँगै जात्रापर्व, बिहे, व्रतबन्ध इत्यादिमा बजाइन्छ । आजभोलि विद्रोहको कार्यक्रममा पनि बजाउने गरिएको पाइन्छ । विशेषगरी यो बाजा खुसियालीमा बजाइन्छ ।
यसवर्ष विश्व पर्यटन दिवसका अवसरमा वसन्तपुरमा युवाहरूले बजाएको धिमे बाजाको तालमा एकैसाथ एक हजार नर्तकीले धिमे नृत्य प्रस्तुत गरेका थिए । यस्तै धिमे नृत्य पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रमा हुने गरेको छ । यीबाहेक धिमे बाजा प्रदर्शनका लागि थाइल्यान्ड, इटाली, जर्मनी, अस्ट्रिया, भारतको सिक्किम, दार्जिलिङ, असमलगायत मुलुकमा समेत पुग्ने गरेका छन् ।
खाःचा धिमे खलःका व्यवस्थापक रामलाल महर्जन भन्छन्, ‘बाजागाजा प्रशिक्षणबाट लोप हुँदै गएको संस्कृति संरक्षण प्रवर्द्धन मात्र नभई पर्यटनमार्फत राज्यलाई राजस्व भित्रिन पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तर, सरकारीस्तरबाट यसको संरक्षण प्रवर्द्धनमा खासै भूमिका खेल्न सकेको छैन ।’
उनले बाजागाजाका बारेमा पाठ्यक्रम नै बनाई यसको महत्त्वबारेमा आउँदो पुस्तालाई जानकारी दिन सकेमा दिगो रूपमा संरक्षण हुने बताए । धिमे बाजा प्रशिक्षण दिन गोदावरी नगरपालिकाले सहयोग गरेको हो । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले आर्थिक अभावका कारण कुनै पनि बाजा प्रशिक्षण दिनबाट पछि हट्नु नपर्ने बताए ।
