बिग्रिएर थन्काइएका ४ सय उपकरणमध्ये हालसम्म ३४० वटा मर्मतपछि सञ्चालनमा
काठमाडौँ — सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्रशासनले मर्मत गर्न नसकेर ५ वर्षअघि थन्काएको थियो ‘अटोक्लेभ मेसिन’ । सर्जिकल सामान कीटाणु मुक्त बनाउन प्रयोग हुने उक्त मेसिन बिग्रेपछि अस्पताल प्रशासन नयाँ किन्ने योजनामा थियो, जसका लागि एक करोडभन्दा बढी खर्च लाग्थ्यो ।
तर सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिएपछि त्यो मेसिन चल्न थालेको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल र आविष्कार केन्द्रका अध्यक्ष पुनबीच १७ संघीय अस्पतालका उपकरणको मर्मत र व्यवस्थापन गर्नेलगायत विषयमा गत भदौमा सम्झौता भएको थियो । गंगालालमा भने वैशाखमै आविष्कार केन्द्रको टिमले काम सुरु गरिसकेको थियो । अहिले आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किराँतीको नेतृत्वमा २० इन्जिनियरले विभिन्न अस्पतालमा काम गरिरहेका छन् ।
सरकारी अस्पतालमा ५ वर्षभन्दा पहिलेदेखि बिग्रिएर थन्काइएका ४ सय उपकरणमध्ये हालसम्म ३ सय ४० वटाको मर्मत गरिसकेको केन्द्रले जनाएको छ । बाँकी ६० वटा मर्मत गर्न मेसिन बिक्रेता कम्पनीसँग पार्टपुर्जा माग गरिसकेको आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर आविष्कार अधिकारीले बताए । ‘उपकरण चलाउन नर्सहरूलाई तालिम पनि दिने गरेका छौं,’ उनले भने, ‘कम खर्चमा स्वदेशी सीपबाट मर्मत गर्न सफल भएका छौं ।’
गंगालाल अस्पतालमा इन्जिनियर अधिकारी र विनीता मण्डलको नेतृत्वमा अभिनव दत्त, समीर अर्याल, कृपा बुढा मगर, देवानन्द शाहको टिमले काम गरिरहेको छ । उनीहरूले गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया गर्दा प्रयोग हुने कन्ट्रास्ट इन्जेक्टर, मुटुलाई सामान्य लयमा ल्याउन प्रयोग गरिने डिफिब्रिलेटर मेसिन, रगतको प्लाज्मा छुट्याउने ल्याबका सामान, सिरिन्ज पम्प, इन्फ्युजन पम्प मर्मत गरिसकेका छन् । त्यस्तै तापमान नियन्त्रक, पेसेन्ट मनिटर, ईसीजी मेसिन, आईसीयू/सीसीयूका सामानहरू पनि मर्मत गरिसकेका छन् ।
गंगालाल अस्पतालमा बायोमेडिकल इन्जिनियर शाखा नभएकाले उपकरण मर्मतका लागि आविष्कार केन्द्रसँगको सहकार्य उपयोगी भएको अस्पतालका सूचना अधिकारी सुदीपचन्द्र दाहालले बताए । ‘बिग्रेर थन्किएका सामान पुनः सञ्चालन हुँदा बिरामी रेफर गर्नु पनि परेन,’ उनले भने, ‘थन्किएका उपकरण प्रयोगमा आउन थालेपछि अस्पताल सफा पनि देखिएको छ ।’
आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियरको टिमले तीन चरणमा काम गर्छ । पहिलो चरणमा अस्पतालको विभागअनुसार उपकरण के–कति प्रयोगमा आउन सक्ने र कुन अवस्थामा छन् भनी यकिन गर्ने, दोस्रो चरणमा बनाउन सकिने र नसकिने पहिचान गर्ने, तेस्रो चरणमा मर्मत गर्न सकिने भए बनाउने र नसकिने भए सोहीअनुसार सुझाव सम्बन्धित अस्पताल वा स्वास्थ्य मन्त्रालयलाई दिने गर्छ । आविष्कार केन्द्रको टिमले वीर अस्पतालमा पहिलो चरणको काम सकिसकेको छ ।
वीरमा झन्डै ३ सय उपकरण मर्मत गर्नुपर्ने देखिएको छ, तिनमा मुख्यगरी भेन्टिलेटर, एक्सरे, सीटी स्क्यान, म्यामोग्राफी (क्यान्सरको प्रारम्भिक रोग पत्ता लगाउने), हेमोडायलसिस मेसिन, सिरिन्ज/इन्फ्युजन पम्प लगायत छन् । कान्ति बाल अस्पतालमा भने उपकरणसम्बन्धी डेटा राख्न सफ्टवेयर तयार गरिसकेको बायोमेडिकल इन्जिनियर विनीता मण्डलले बताइन् । ‘अब चाँडै कान्ति बाल अस्पतालमा चले/नचलेका उपकरणको सूची तयार पार्छौं,’ उनले भनिन् ।
आविष्कार केन्द्रले अर्को चरणमा भक्तपुर क्यान्सर अस्पताल, भक्तपुरकै सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र, पाटन अस्पताल, नारायणी अस्पतालसँग सम्झौता गरी बिग्रेका उपकरण मर्मत गर्ने योजना बनाएको छ । सरकारी अस्पतालमा मेसिन थन्किँदा विशेषगरी दीर्घ तथा घातक रोग लागेका बिरामीले उपचारका लागि सास्ती खेप्नुपरेको छ । आईसीयू, भेन्टिलेटर नपाएर बिरामी महँगो शुल्क तिरेर निजी अस्पतालमा जान बाध्य छन् ।
स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार कोभिड महामारीको समयमा सरकारी बजेट र दातृ निकायबाट उपलब्ध गराइएका मुलुकभरका एक सयभन्दा बढी स्वास्थ्य संस्थामा भेन्टिलेटर, हेमोडायलसिस, एक्स–रे, बायोकेमेस्ट्री एनालाइजर, पोर्टेबेल यूएसजी, इन्डोस्कोपीलगायत ३ सयभन्दा बढी उपकरण प्रयोगविहीन छन् । तीमध्ये धेरैजसो मर्मत नहुँदा थन्किएका हुन् ।
विभागको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले पछिल्लो समय प्रदेशस्तरमा केही बायोमेडिकल वर्कसप स्थापना गरेर उपकरण मर्मत भइरहेको बताए । संघीय अस्पतालका उपकरण मर्मत गर्न मन्त्रालयले आविष्कार केन्द्रसँग गरेको सम्झौताले ठूलो सहयोग पुगेको उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले सीमित साधनस्रोत रहेको अवस्थामा उपकरणलाई जतिसक्दो बढी प्रयोगमा ल्याउन आविष्कार केन्द्रसँग गरिएको सम्झौता महत्त्वपूर्ण सावित भएको बताए । ‘अस्पतालमा आवश्यक उपकरण तत्काल खरिद गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘बिग्रिएर थन्किएका उपकरणको मर्मतले अस्पताललाई ठूलो राहत भएको छ ।’
