३ वर्षअघि सुरु गरिएको गोलाप्रथाले न्यायालयमा सुधार ल्याएको सर्वोच्चको भनाइ
काठमाडौँ — बिहानको ठीक १० बजे प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सर्वोच्च अदालतका सबै न्यायाधीश लस्करै बसेका थिए । सर्वोच्चको प्रांगणमा कानुन व्यवसायी र वादी–प्रतिवादीको उपस्थिति बाक्लिँदै गएको थियो ।
उनीहरूको आँखा प्रकाशित हुने पेसी सूचीको प्रतीक्षामा अडिएको थियो । माथि फुल कोर्टमा न्यायाधीशहरू यही पेसी सूची प्रकाशन गर्न गोला तान्न ठिक्क परेर बसेका थिए ।
‘अहिलेसम्म हामी कसैलाई पनि कुन मुद्दा कसको इजलासमा पर्छ, थाहा छैन,’ शुक्रबार बिहान ठीक १० बजेर ३० मिनेट जाँदा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले भने, ‘कालो झोलामा गोलाहरू हालेर बेस्सरी हल्लाइनेछ, त्यसबाट श्रीमान्हरूले लस्करै गोला झिकेर पहिले इजलास र त्यसपछि मुद्दा छान्नुहुनेछ ।’
३ वर्षअघि सुरु गरिएको गोला प्रथाले न्यायालयमा ल्याएको सुधार र छिमेकी देशहरूबाट समेत प्रशंसा पाएपछि सर्वोच्चले शुक्रबार यस प्रक्रियाको प्रत्यक्ष जानकारी गराएको हो । सुरुवाती सुनुवाइका लागि पेसी तोकिएका मुद्दाको छिनोफानोका लागि सुरुमा एकल इजलासका लागि गोला छान्ने सर्वोच्चको नियम छ ।
‘त्यसका लागि राता काठका गोलाहरूमा एउटामा अक्षर लेखेर बाँकीमा खाली राखी न्यायाधीशहरूमार्फत गोला तानिन्छ,’ प्रधानन्यायाधीश राउतले भने, ‘जसलाई अक्षर भएको गोला पर्छ उसैलाई एकल इजलासमा तोकिएका मुद्दाहरू पर्छन् ।’ शुक्रबार एकल इजलास एउटा मात्रै गठन हुने गरी मुद्दाहरू सूचीमा चढेका रहेछन् । पहिलो गोला प्रधानन्यायाधीशबाट तान्ने कार्यविधिको नियम छ ।
आठ खाली गोला र एउटा अक्षर भएको गोलालाई सर्वोच्चका कर्मचारीले एउटा कालो झोलामा हालेर बेस्सरी हल्लाए । प्रधानन्यायाधीश राउतले अन्यत्र आँखा मोडेर झोलाबाट गोला निकाले र सबैलाई देखाए । ‘अहो, श्रीमान्लाई नै एकल इजलास पर्यो आज,’ अक्षर लेखिएको गोला उनको हातमा देखेपछि न्यायाधीश र कर्मचारीले एक स्वरमा भने ।
त्यसपछि पालो आयो संयुक्त इजलाशको, जो हाल न्यायाधीशको मौजुदा संख्याअनुसार बढीमा आठ वटासम्म गठन हुँदै आएको छ । शुक्रबार सबै न्यायाधीश उपस्थित भएकाले आठै इजलास लाग्नेवाला थियो । ‘सिनियर आठ न्यायाधीशहरू एक–एक जना एक–एक इजलासमा हुन्छौं, कसकोमा को पर्ने भनेरचाहिँ जुनियर आठ न्यायाधीशले गोला छान्नुहुन्छ,’ सर्वोच्चकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले भनिन्, ‘त्यसरी आठ इजलास
गठन भएपछि साप्ताहिक सूचीमा परेको मुद्दाको समूह छानिन्छ, अनि संयुक्त इजलास गठन हुन्छ ।’
कार्यविधिअनुसार संयुक्त इजलासका लागि वरीयताक्रममा नबौं नम्बरमा रहेकी न्यायाधीश सारंगा सुवेदीले गोला तानिन् । ‘ल, चार नम्बर तान्नुभएछ,’ प्रधानन्यायाधीश राउतले भने, ‘अब उहाँ चार नम्बर इजलासका सिनियर न्यायाधीश मनोज शर्माको इजलासमा पर्नुभयो ।’ एवं रीतले आठै इजलास गोलाबाटै तोकियो ।
त्यसपछि पालो आयो मुद्दा छान्ने । संयुक्त इजलासको आठ समूहमा विभाजन गरी कुन मुद्दा कसलाई पर्ने भन्ने तय गोला तानेरै गरे न्यायाधीशहरूले । ‘लौ मलाई त भ्रष्टाचारै भ्रष्टाचारको मुद्दा परेछ,’ कुमार रेग्मीले गोला तानेलगत्तै भने, ‘आज भ्रष्टाचारै भ्रष्टाचार हेरिने भइयो ।’ रेग्मीको इजलासमा न्यायाधीश नित्यानन्द पाण्डे गोला तान्दा छानिन पुगेका थिए । उनीहरूको इजलासमा शुक्रबार भ्रष्टाचारका २७ मुद्दा परे, जसमध्ये न्यायाधीशद्वयले २१ मुद्दामाथि सुनुवाइ गर्न भ्याए ।
गोलाबाटै बृहत् पूर्ण इजलास पनि गठन भयो र मुद्दा पेसीमा चढाइयो । त्यसलाई फुल कोर्टमै बसेका सूचना प्रविधि फाँटका कर्मचारीले सर्वोच्चको वेबसाइटमा पेसी सूची अपलोड गरे । बाहिर जम्मा भएका सेवाग्राही र वकिलहरूले बल्ल थाहा पाए– उनीहरूको मुद्दा आज कसले हेर्दै छ ।
‘भईपरी आउनेदेखि संवैधानिक इजलाससम्ममा पनि यसरी नै गोला तान्ने गरेका छौं,’ सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले भने, ‘यसरी गोलाबाट पेसी तोक्ने काम संसारमा अन्यत्र कहीँ पनि रहेनछ ।’
फिलिपिन्स, जर्मनी र अन्य केही मुलुकमा गोलाबाट आंशिक पेसी तोक्ने काम भए पनि सबै पेसी गोलाबाटै तोकिने देश नेपाल मात्र भएकाले यसको सकारात्मक सन्देश अन्य देशमा प्रवाह भएको श्रेष्ठले बताए ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूखुसी पेसी तोकेर विकृति भित्र्याएको भन्दै १५ मंसिर २०७८ देखि सर्वोच्चमा पेसी तोक्न गोलाको प्रयोग थालिएको हो । प्रधान न्यायाधीशबाट पेसी तोकिने प्रणाली ७० वर्षदेखि सर्वोच्चमा लागू थियो ।
‘यसरी पेसी तोक्दा हामीलाई भारत र पाकिस्तानका न्यायाधीशले पनि सराहना गरे,’ प्रधानन्यायाधीश राउतले भने, ‘न्यायालयलाई एउटा लयमा फर्काउन गोला प्रणालीले राम्रो भूमिका निर्वाह गरेको छ ।’
