अनलाइनमार्फत ठगी बढ्दो, पढेलेखेका नै पीडित

साउनयता मात्रै साइबर अपराधका ३ हजार ७५ उजुरी, ४३ करोड ८५ लाख ६४ हजार ५ सय ४५ रुपैयाँ ठगी भएको दाबी 

मंसिर २२, २०८१

विवेक पोख्रेल

Scams through online are on the rise, educated victims are the victims

काठमाडौँ — सामाजिक सञ्जाल फेसबुक चलाउँदै गर्दा ललितपुरकी एक महिलाका आँखा खेल खेलेर पैसा जित्ने पोस्टको विज्ञापनमा पुग्यो । घरमै बसेर पैसा आउने जानकारीले उनको ध्यान तान्यो र क्लिक गरिन् । त्यसपछि उनलाई सामाजिक सञ्जाल टेलिग्राममा जोडिन भनियो ।

टेलिग्राममा जोडिएपछि विभिन्न ‘टास्क’ आउने र पूरा गरेबापत पैसा जितिने भन्ने जानकारीले उनी लोभिइन् । नाम र नम्बर लिंकमा भरेपछि जर्मनीमा दर्ता रहेको भनिएको जुमिया कम्पनीको खातामा उनको नाम दर्ता भएको जानकारी आयो ।

त्यसपछि क्लिक गर्दा उनलाई एक हजार रुपैयाँ दिएर हजारौं पैसा कमाउन सकिने प्रलोभनमा परिन् । उनले त्यहीअनुसार गत असार २५ मा एनआईसी बैंकको क्यूआरमा एक हजार रुपैयाँ पठाइन् । 

ती महिलालाई इलेक्ट्रोनिक्स, घरायसी सामग्री, ब्युटी प्रोडक्ट्स, मोबाइल फोनलगायत विभिन्न सामान देखाएर छनोट गर्न भनियो । उनले चार पटकसम्म ‘टास्क’ पाइन् ।

त्यसपछि २ हजार ३ सय रुपैयाँ जितेको जानकारी आयो । भोलिपल्ट उनको खाता नम्बर मागेर पैसा पठाइयो । ‘त्यसपछि त साँच्चै जितिने रहेछ भन्ने लाग्यो,’ स्नातकोत्तर उत्तीर्ण गरेर लोक सेवाको तयारीमा रहेकी ती महिलाले भनिन्, ‘फुर्सदको समयको आम्दानीले फाइदै हुने सोचेर पुनः खेल खेलें ।’ 

पहिले जसरी नै सामान देखाएर ‘टास्क’ सुरु भयो । तर यस पटक ‘टास्क’ पहिलाको जसरी सकिएन । सुरुमै ‘टास्क’ कति खेल्ने भनेर छनोट गर्न लगाइयो । १० वा सोभन्दा माथिको ‘टास्क’ रोजेमा नजिते पनि लगानी गरेको पैसा फिर्ता आउने भनियो । पैसा नभए ऋण पनि लिन सकिने विश्वास दिलाइयो ।

त्यसपछि उनले क्रमशः २ हजार, ५ हजार, १० हजार र त्यसपछि फेरि १ हजार, २ हजार गरेर १० हजारसम्म पठाइन् । तर ‘टास्क’ थपिँदै गयो । सापट तिर्न राखेको १ लाख २० हजार रुपैयाँमध्ये ७१ हजार रुपैयाँ सकियो । उनलाई फरक–फरक बैंकको फरक–फरक व्यक्तिका खाता नम्बरमा उक्त रकम पठाउन भनिएको थियो । 

आफू ठगिएको थाहा पाएपछि ती महिलाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरिन् । त्यही उजुरीबारे बुझ्न आउने क्रममा सोमबार ब्युरोमा भेटिएकी उनी गुनासो गर्दै थिइन्, ‘यो कुरा कसैलाई सुनायो भने यति पढेको मान्छेले के गरेको भन्छन् !’ पैसाकै कारण घरमा श्रीमान्ले पनि गाली गरिरहेको उनले सुनाइन् । ‘सुरुमै ७१ हजार लगानी गर्नुपर्छ भनेको भए त मैले कहाँ पठाउने थिएँ र !’ उनले भनिन् । 

प्रहरीमा कार्यरत एक पुरुष पनि गत महिना यस्तै अनलाइन गेमबाट ठगिएको गुनासो लिएर साइबर ब्युरो पुगेका थिए । ‘उनी १४ लाख १० हजार ठगिएको भन्दै गुनासो लिएर आएका थिए,’ ब्युरोका एक अधिकारीले भने, ‘ह्वाट्सएपमा आएको म्यासेजकै कारण उनले पैसा गुमाएका रहेछन् ।’ 

उनलाई एक महिनाअघि ह्वाट्सएपमा एउटा मेसेज आयो । त्यसमा भनिएको थियो, ‘यो लिंकको भिडियो विज्ञापन अन गरेर लाइक गरेमा दुई सय रुपैयाँ आउँछ ।’ उनले लाइक गर्नासाथ २ सय रुपैयाँ आयो पनि । ‘अनलाइन गेम खेलेर हजारौं कमाउने अफर पनि दिइयो,’ उनले सुनाए । 

सुरुमा आफूले दुई हजार रुपैयाँ राखेर खेल सुरु गरेको उनले सुनाए । खेल जितेको भनेर ३ हजार १ सय रुपैयाँ आयो । भोलि पुनः अरू ‘टास्क’ पूरा गरेर आम्दानी गर्न भनियो । उनीजस्तै साथीहरूको एउटा समूह बनाइयो । त्यसपछि ‘टास्क’ पाँच हजारबाट बढ्दै ६ लाखसम्म पुग्यो । अनि भनियो, ‘तपाईंको भीआईपी एकाउन्ट बनाउनुपर्छ, बल्ल हामी पैसा दिन सक्छौं ।’ अरू साथीले उनलाई आफूले जितेको भन्दै हौसला दिइरहेका थिए । उनले पनि पैसा थप्दै गए । ‘अहिले सम्झँदा ठगकै साथी पो रहेछन् कि जस्तो लाग्छ,’ समूहमा आदानप्रदान भएका मेसेज देखाउँदै उनले भने । 

काठमाडौंमा बस्ने एक महिलाले पनि केही दिनअघि उपहारको लोभमा परी आफू ठगिएको भन्दै साइबर ब्युरोमा उजुरी दर्ता गराएकी छन् । उनलाई विदेशबाट उपहार आएको भन्दै खबर गरिएको थियो । उपहार आएको खबर कसले कसलाई पठाएको हो भन्दै बुझ्न थालिन् ।

‘मैले सरप्राइज दिन खोजेको, तिमीले थाहा पायौ ?’ पठाइदिने व्यक्तिले उनलाई विश्वास दिलायो । उपहार दिने व्यक्ति अपरिचित भए पनि विश्वासमा परिन् । ‘उपहार ल्याइदिने व्यक्तिले त्यसमा कर लाग्ने भनेपछि मैले ८० हजार रुपैयाँ पनि पठाएँ । पुनः ती व्यक्तिले उपहारभित्र महँगो सामान भएको भन्दै थप पैसा मागे ।

‘पुनः दुई लाख पठाएँ,’ उनले भनिन्, ‘सामान भारतको भन्सारमा आएको भन्दै फेरि पैसा मागियो । पछि सामान छुटाउन म नै भन्सारसम्म आएको छु, मलाई पनि लुटियो, तपाईं मलाई बचाउनूस् भन्दै सामान पठाइदिने मानिसले खबर गरे,’ उनले भनिन्, ‘म विश्वासमा परें । मेरो झन्डै १ करोडभन्दा माथिको रकम उक्त अपरिचित व्यक्तिले खाइदियो ।’ 

यी तीन घटनाजस्तै सामाजिक सञ्जालको खाता ह्याक गरेर, गिफ्ट पठाएको भनेर, अनलाइनबाट जागिर वा ऋण दिन्छु भनेर, बैंक तथा वालेटको अफिसबाट बोलेको भनी झुक्याएर ठगी गरेको तथा नग्न फोटो र भिडियोको आडमा ब्ल्याकमेल गरेको भन्दै थुप्रै उजुरी साइबर ब्युरो, भोटाहिटीमा परेका छन् ।

ब्युरोका अनुसार साउनयता मात्रै परेका उजुरी केलाउँदा अनलाइन गेममा पैसा जितिने भनेर २७ करोडभन्दा बढी रकम ठगी भएको छ । ब्युरोमा आर्थिक वर्ष २०८०/०८१ मा साइबर अपराधका ४ हजार १ सय ४५ उजुरी परेका थिए । यस आर्थिक वर्षको मंसिरसम्म ३ हजार ७५ उजुरी दर्ता भएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार पाँच महिनामा ४३ करोड ८५ लाख ६४ हजार ५ सय ४५ रुपैयाँ ठगी भएको उजुरी परेको छ । गत वर्ष यही अवधिमा १ हजार ४ सय ८९ उजुरी परेका थिए । ‘सामाजिक सञ्जालको प्रयोगमा ध्यान नपुर्‍याउँदा अपराध बढिरहेको छ,’ ब्युरोका प्रवक्ता अवस्थीले भने, ‘साइबर अपराध बढ्नुमा लोभलालच र छिटो पैसा कमाउने उद्देश्य मुख्य देखिएको छ ।’ 

साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा साइबर अपराधसम्बन्धी १४ शीर्षकमा निवेदन परेका थिए भने चालु आर्थिक वर्षमा १६ शीर्षकका उजुरी परेका छन् । गत आर्थिक वर्षमा अनलाइन बजार र सपिङसम्बन्धी १ हजार ३ सय ७३ निवेदन दर्ता भएका थिए । 

जिल्ला प्रहरी कार्यालयहरूमा पनि साइबर ठगीका उजुरी दर्ता हुने गरेका छन् । ब्युरोका अनुसार सामाजिक सञ्जालमार्फत ठगिएर आउनेमा शिक्षित व्यक्ति नै धेरै छन् । कारण, सामाजिक सञ्जालमा उनीहरूलाई आउने म्यासेज अंग्रेजीमा हुन्छ । बैंकसम्बन्धी ज्ञान र खाता भएका मानिस ठगिएकाले पनि उनीहरू शिक्षित छन् भन्न सकिने ब्युरोका प्रवक्ता अवस्थी बताउँछन् ।

उनका अनुसार डाक्टर, शिक्षक, उच्च अधिकृतका सन्तान, प्रहरी नै यस्ता समस्याको उजुरी लिएर प्रहरीमा पुग्ने गरेका छन् । ‘ठग्ने तरिका पनि अनौठो पाइएको छ । जागिर दिन्छु भनेर उनीहरू विज्ञापन खुलाउँछन् । आवेदन दिने नेपाली हुन्छन् । उनीहरूको नागरिकता र बैंक क्यूआर मुख्य ठगसँग हुन्छ,’ प्रवक्ता अवस्थीले भने, ‘त्यसपछि ठगले तिनै खातामा पैसा जम्मा गर्न लगाउँछन् । यो कार्य प्रमाणित नभए पनि विदेशबाट हुने गरेको अनुमान गर्न सकिन्छ ।’

नेपालमा फेसबुक, टिकटकलगायत एपले डेटा पठाउने गरे पनि टेलिग्रामले डेटा नदिँदा मूल अपराधीलाई कानुनी दायरामा ल्याउन नसकिएको उनले बताए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully