काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले शनिबार पाँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको संगठन निर्माणका क्रममा रास्वपाले कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बुर्लाकोटीका अनुसार सल्यान, बाँके, नवलपुर, नुवाकोट र भक्तपुरमा आयोजित भेलामा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय नेताहरू समेत सहभागी छन् ।
ती जिल्लाका भेलाले पार्टीको संशोधित विधानको सांगठनिक संरचनाअनुसार जिल्ला समिति गठन, संगठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदहरूको पदपूर्ति गर्ने बुर्लाकोटीले जानकारी दिए ।
यस्तै, जिल्लाभित्रका निर्वाचन क्षेत्र, पालिका, वडा संगठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि जिल्ला भेला आयोजना गरिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए । पार्टीको केन्द्रीय संगठन विभाग, प्रदेश संगठन विभाग र जिल्ला सभापतिको समन्वयमा जिल्ला भेलाको आवश्यक तयारी मिति तोक्ने र जिल्ला भेला आयोजना गर्ने काम भइरहेको बताए । रास्वपाले यसअघि देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरिसकेको छ ।
