राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli at the hospital to understand the health condition of President Paudel

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् । 

प्रधानमन्त्री ओलीले शुक्रबार अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे । प्रोस्टेटसम्बन्धी समस्याका कारण केही दिनदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए । 

यही मंसिर १९ गते अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ । 

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका उनको यही मंसिर १९ गते शल्यक्रिया भएको थियो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ ।

कान्तिपुर

Link copied successfully