विपिन जोशी छिट्टै घर फर्कन्छन् : इजरायल

गाजापट्टीसँग जोडिएको इजरायलको दक्षिणी भेगमा अघिल्लो वर्ष असोज २० मा भएको आक्रमणका क्रममा हमासले जोशीसहित विभिन्न मुलुकका करिब २५० जनालाई बन्धक बनाएर लगेको थियो ।

मंसिर २१, २०८१

होम कार्की

Bipin Joshi returns home soon: Israel

काठमाडौँ — प्यालेस्टिनी लडाकु समूह हमासले १४ महिनाअघि इजरायलमाथि आक्रमणका क्रममा बन्धक बनाएका कन्चनपुरका विपिन जोशी गाजापट्टीमा रहेको सूचना इजरायल सरकारले प्राप्त गरेको छ । यो सूचना सुनाउँदै इजरायलका लागि नेपाली राजदूत शमुलिक ए. बासले जोशी चाँडै नेपाल फर्कने आशा व्यक्त गरेका छन् । 

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका जोशीलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात थियो ।

‘उनी जीवितै छन् । यो सत्य हो । उनलाई गाजापट्टीको कुनै स्थानमा राखिएको सूचना पाएका छौं,’ काठमाडौंमा बिहीबार कूटनीतिक पत्रकारसँगको भेटमा नवनियुक्त राजदूत बासले भने । जोशी जिवित रहेको सूचना अरबी मुलुकहरूको स्रोतबाट प्राप्त भएको उनको भनाइ छ । 

गाजापट्टीसँग जोडिएको इजरायलको दक्षिणी भेगमा गत वर्षको अक्टोबर ७ (असोज २०) मा आक्रमण गरेर हमासले जोशीसहित विभिन्न मुलुकका करिब २५० जनालाई बन्धक बनाएर लगेको थियो । आक्रमणमा जोशीसँगै अलुमिम किबुजमा लुकेर बसेका अन्य १० नेपाली विद्यार्थी भने मारिएका थिए ।

कैलालीका नारायणप्रसाद न्यौपाने र आशिष चौधरी, सल्यानका प्रवेश भण्डारी, बझाङका गणेशकुमार नेपाली, सुनसरीका राजेश स्वर्णकार, डोटीका पदम थापा र राजन फुलारा, दार्चुलाका लोकेन्द्र धामी र दीपेशराज विष्ट, तथा धनुषाका आनन्द साहको मृत्यु भएको थियो । 

बन्धकमध्ये ११७ जनालाई हमासले मुक्त गरिसकेको छ । तीमध्ये धेरैजसो मानवीय सहायताका लागि दुई पटक युद्धविराम हुँदा मुक्त भएका हुन् । मुक्त भएकामा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । इजरायली आक्रमणमा ३३ बन्धकको मृत्यु भइसकेको हमासले जनाएको छ । ‘हमासको कब्जामा रहेका नागरिकको रिहाइका लागि पहल भइरहेको छ,’ राजदूत बासले भने ।

इजरायली सञ्चारमाध्यम ‘द टाइम्स् अफ इजरायल’ का अनुसार नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनुअघि इजरायल र हमासबीच सम्झौता गर्ने प्रयास भइरहेको छ । ट्रम्पले जनवरी २० मा शपथ लिँदै छन् । 

ट्रम्प प्रशासनमा मध्यपूर्व हेर्ने राजदूतको जिम्मेवारी पाउन लागेका स्टिभ विटकफले युद्धविराम गर्न र बन्धक छुटाउन रोकिएको मध्यस्थता पुनः अगाडि बढाउनका लागि कतारी प्रधानमन्त्री शेख मोहमम्द बिन अब्दुल रहमान अलथानी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटिसकेका छन् ।

यसमा इजरायल र हमास दुवै पक्ष गम्भीर नभएको भन्दै कतार गत महिना मध्यस्थताबाट बाहिरिएको थियो । स्टिभसँगको भेटपछि कतारी प्रधानमन्त्रीले मध्यस्थतालाई पुनः अगाडि बढाउने संकेत दिएका छन् । 

अमेरिकाको पहलमा इजरायल र हिजबुल्लाहबीच गत नोभेम्बर २६ मा युद्धविराम भएपछि इजरायल–हमास युद्ध पनि रोकिने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलको आक्रमणमा परी करिब १४ महिनामा ४४ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully