रास्वपा सभापति लामिछानेसँग बयान चलिरहँदा जिल्लाका विभिन्न ठाउँबाट आएका नेता, कार्यकर्ता तथा समर्थकको प्रदर्शन
चितवन — साहारा चितवन सहकारीको बचत अपचलनमा पूर्वगृहमन्त्री रवि लामिछानेसँग चितवन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुधबार बयान लिइरहँदा प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्ताले सञ्चारकर्मीलाई कुटपिट गरेका छन् । रास्वपा कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप पनि भएको छ ।
चितवन–२ का सांसदसमेत रहेका रास्वपा सभापति लामिछानेसँग बयान चलिरहँदा जिल्लाका विभिन्न ठाउँबाट आएका नेता, कार्यकर्ता तथा समर्थकले भरतपुरमा प्रदर्शन गरेका थिए । विरोध प्रदर्शन र झडपको स्थलगत समाचार प्रत्यक्ष प्रसारण गरिरहेका बेला सञ्चारकर्मी सन्तोष देउजामाथि रास्वपा कार्यकर्ताले आक्रमण गरेका थिए ।
उनलाई रास्वपा कार्यकर्ताले मुक्का प्रहार गर्दै लखेटेको नेपाल पत्रकार महासंघले जनाएको छ । दौडिएर अस्पताल रोडको एक घरमा शरण लिएका देउजालाई भेट्न गएका नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाश ज्ञवाली र नेपाल प्रेस अनलाइनमा आबद्ध पत्रकार प्रतिमा सिलवाललाई समेत प्रदर्शनकारीले दुर्व्यवहार गरेको महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले बताए ।
प्रहरीसँग झडप हुँदा आफ्ना ४०/५० कार्यकर्ता तथा समर्थक घाइते भएको रास्वपाले जनाएको छ । चौबिसकोठीमा भेला भएका रास्वपाका नेता–कार्यकर्ता नाराबाजी गर्दै अस्पताल रोड भएर सरकारी वकिलको कार्यालयतर्फ जान खोज्दा प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि रोकेको थियो ।
त्यस क्रममा धकेलाधकेल, ढुंगा प्रहार, लाठीचार्ज, पानीको फोहोरा फ्याँक्नेदेखि अश्रुग्यास प्रहार भएको थियो । आठ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताए । प्रहरी र सशस्त्र प्रहरीबाट झन्डै ५० सेल अश्रुग्यास प्रहार भएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट लामिछानेको बयान भइरहेको सरकारी वकिलको कार्यालय सिधा तीन सय मिटर पूर्वमा छ । प्रहरीले प्रदर्शनकारीलाई जिल्ला प्रहरी कार्यालय अगाडिबाट बढ्न नदिएपछि त्यहीँ नेताहरूले भाषण सुरु गरेका थिए । तर केहीबेरपछि नै ढुंगा हानाहान र लाठीचार्ज सुरु भएको थियो ।
‘एक जना डीएसपी ती जिल्लामा बस्ने होइनन्, खोइ कताबाट आएका थिए, उनले मलाई नै इंगित गर्दै लाठी हान्न भने । अर्का एक प्रहरीले अपशब्द बोले । त्यसपछि वातावरण बिग्रियो,’ रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुसालले भने । घाइते भएका प्रदर्शनकारीमध्ये १६ जना अस्पतालमै रहेको उनले बताए ।
एसपी मिश्रले प्रहरीमाथि ढुंगा प्रहार भएपछि अवस्था थप नबिग्रियोस् भनेर सामान्य बल प्रयोग गरिएको बताए । झडपका कारण जिल्ला प्रहरी कार्यालय अगाडि झन्डै आधा घण्टा वातावरण तनावग्रस्त भएको थियो । अवस्था सामान्य हुँदै गएपछि प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चोकमा सभा गरेर दिउँसो ३ बजेसम्म बसेका थिए । उनीहरूले भरतपुर चौबिसकोठी चोकमा केहीबेर चक्काजाम पनि गरे ।
चितवन प्रहरीले लामिछानेलाई मंगलबार भरतपुर ल्याएर बयान सुरु गरेको थियो । मंगलबार भने बुधबारको जस्तो ठूलो प्रदर्शन भएको थिएन । ‘न्यायिक प्रक्रियामा नसघाउने भन्ने हुँदैन, हामी कतै दबाब दिन पनि चाहन्नौं । तर खबरदारी आवश्यक छ । त्यसैले हामी प्रदर्शनमा उत्रेका हौं,’ रास्वपा जिल्ला सभापति भुसालले भने ।
साहारा चितवन सहकारीमा सर्वसाधारणले बचत गरेको १० करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा उजुरी परेपछि चितवन प्रहरीले लामिछानेसँग बयान लिएको हो । रास्वपा कार्यकर्ताको प्रदर्शनअघि साहारा चितवन सहकारी संस्थाका पीडित बचतकर्ताले जिसस चोकमा केहीबेर प्रदर्शन गरेका थिए ।
चितवनमा बयान सकियो, पर्सामा पक्राउ पुर्जी
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग प्रहरीले बयान सकेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत डीएसपी ज्ञानकुमार महतोले लामिछानेसँग जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) शान्तिप्रसाद लुइँटेलसमक्ष मंगलबारदेखि बयान लिएका थिए । बयान बुधबार राति ९ बजे सकिएको हो ।
दुई दिनमा लामिछानेलाई ७४ प्रश्न गरिएको सरकारी वकिल लुइँटेलले जानकारी दिए । बयान सकिएपछि पनि केही प्रक्रिया बाँकी नै रहेको चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए । चितवनमा बयान सकिनुअघि नै लामिछानेविरुद्ध पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । वीरगन्जको सानो पाइला सहकारीको बचत अपचलनमा उनीमाथि अनुसन्धान गर्न पर्सा प्रहरीले अदालतबाट अनुमति लिएको हो ।
