चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता गरेको छैन : प्रधानमन्त्री

'सधैँ ऋण, ऋण, ऋण किन सारंगी बजेको छ ऋणको ?'

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

No debt deal with China: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नगरेको बताएका छन् । 

चार दिने औपचारिक चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै चीन भ्रमणका क्रममा ऋण सम्झौता नभएको बताएका हुन् ।

चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको ओ‌लीको भनाइ थियो । ‘अस्तिदेखि मैले हामी कुनै ऋण लिन जाँदै छैनौँ, ऋण लिनेबारे कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ, छलफल पनि भएन । हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गरेका छौँ । हरेक परियोजनाअन्तर्गत हामी छुट्टै छलफल, छुट्टै एग्रिमेन्टहरू गर्छौं र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सन्दर्भमा,' प्रधानमन्त्री ओ‌लीले भने, 'अहिले हामीले जे प्राप्त गरेका छौँ, त्यो ऋण होइन भन्नेकुरा धेरैपल्ट भनिएको छ । अब धेरै दोहोर्‍याउनु नपरोस् भन्ने मेरो आग्रह छ, ऋण होइन, ऋणसम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ यो ? सधैँ ऋण, ऋण, ऋण किन सारंगी बजेको छ ऋणको ? होइन भनेर पटक-पटक भनेका छौँ । ऋणसँग यो सरोकार राख्दैन ।’

चीन भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको प्रधानमन्त्री ओलीले बताए ।

कान्तिपुर

Link copied successfully