पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत पनि महिला प्रताडित छन् : गृहमन्त्री लेखक

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Lately, women are being harassed through social media and digital media: Home Minister Author

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । उनले सामाजिक संजाललगायत डिजिटल मिडियाका माध्यमबाट महिलामाथि हिंसा भइरहेको बताउँदै त्यसलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए । 

वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्र क्रियाशील रहेको जानकारी दिए ।

'पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियामार्फत पनि महिला प्रताडित छन्,' गृहमन्त्री लेखकले भने, 'लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढंगबाट गर्नुपर्छ ।'

गृहमन्त्री लेखकले डिजिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुव्र्यवहार नियन्त्रणका लागि पहल भइरहेको बताए । 

संविधानको भावना अनरुप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकीकृत निर्वाचन विधयेक संघीय संसद्को आगामी अधिवेशनमा पेस हुने गरी गृहमन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाइ थियो ।

जातीय आधारमा हुने विभेद्, अपमान र सबैखाले हिंसा अन्त्यलगायतका १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृती महिला महासंघ लगायतका २६ वटा संस्थाका प्रतिनिधि गृह मन्त्रालय  पुगेका थिए । 

कान्तिपुर

Link copied successfully