जलवायु परिवर्तनले गरिबी र सामाजिक असमानता फराकिलो बनायो : पूर्वराष्ट्रपति भण्डारी

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Climate change has widened poverty and social inequality: Former President Bhandari

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताएकी छन् । 

त्रिभूवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठूलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको बताएकी हुन् । 

पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, सुख्खा खडेरी जस्ता प्रकोपले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताइन् । जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण गर्न अनुकुलन क्षमता वृद्धि गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो ।

‘जलवायु परिवर्तनले हाम्रो समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई समेत थप फराकिलो बनाएको छ । जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, सुख्खा खडेरी जस्ता प्रकोपले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ,' पूर्वराष्ट्रपति भण्डारीले भनिन्, 'जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण गर्न अनुकुलन क्षमता बृद्धि गर्नुका लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता पर्छ । यस्ता अनुसन्धानबाट जलवायु अनुकुलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्वहरूको पहिचान गर्दै सोहीअनुरुप अनुकुलनमा दिगो र प्रभावकारी उपायहरुको अवलम्बन गर्न सहयोग पुग्छ ।'

जनसंख्याको ठूलो हिस्साले कृषिलाई जीविकोपार्जनको आधार मान्दै आएका नेपाल, भारत, बंगलादेशजस्ता दक्षिण एसिया र चीनमा समेत गरेको अध्ययनले यस क्षेत्रका किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौती सामना गर्न सहज हुने अपेक्षा रहेको भण्डारीको भनाइ थियो ।  

कान्तिपुर

Link copied successfully