काठमाडौँ — मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (क्राकपाने) को राष्ट्रिय महाधिवेशनले विद्रोहको कार्यदिशा लिने करिब निश्चित भएको छ ।
एक सातादेखि काठमाडाैंको कीर्तिपुरमा जारी महाधिवेशनमा वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै समूह नेताहरूले जनवादी क्रान्तिका कार्यभार पूरा गर्न विद्रोहको नीति लिनुपर्ने मत राखेका छन् ।
क्राकपाने पार्टीका नेता हीरामणि दुःखीका अनुसार विद्रोहको कार्यदिशा पारित हुने करिब निश्चित भएको बताए । ‘जनवादी क्रान्तिको कार्यदिशा पारित गर्नुपर्छ भन्ने अत्यधिक मत छ । विद्रोहको कार्यदिशा पारित हुने करिब निश्चित छ,’ उनले भने, ‘त्यो विद्रोह कस्तो हुने भन्ने कार्यक्रम आएपछि निश्चित हुनेछ ।’ समाजवादी क्रान्तिको कार्यदिशा ल्याउनुपर्नेमा झिनो मत रहेको उनले जानकारी दिए ।
नेपालमा जनवादी क्रान्तिका कार्यभार पूरा भएपछि समाजवादमा जान सकिने भएकाले विद्रोहको नीति लिनुपर्ने धारणा छ । ‘दलाल पुँजीवादबाट मुक्त भएपछि मात्र राष्ट्रिय पुँजीको निर्माण गर्न सकिन्छ,’ वैद्यको प्रतिवेदनमा उल्लेख भएको अंश उद्धृत गर्दै एक नेताले भने, ‘त्यसकारण जनवादी क्रान्ति आवश्यक छ ।’ क्राकपानेको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवादी हुने तय भएको र माओका योगदान सार्वभौम हुन् भन्नेमा एकमत रहेको ती नेताले बताए ।
प्रतिवेदनमा छलफल गर्न २० समूह गठन भएको थियो ।
क्राकपानेलाई महासचिवको एकल नेतृत्वमा राख्ने र स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्य छान्नुपर्ने टोली नेताले आ-आफ्नो मत बन्दसत्रमा राखेका छन् । ‘केहीले बहुपदमा जाँदा राम्रो हुन्छ भन्ने आएको छ,’ एक नेताले भने ।
मंसिर १३ देखि सुरु भएको महाधिवेशन २३ मा सकिनेछ ।
वैद्यले २०६९ असारमा माओवादीबाट अलग भई अर्को पार्टी गठन गरेका थिए । पुष्पकमल दाहालको नेतृत्वले शान्ति प्रक्रियामा सम्झौता गरेको, नयाँ जनवादी क्रान्तिको बाटो छोडेर सम्झौता गरेको भन्दै वैद्य पक्षले माओवादी विभाजन गरेको थियो ।
कीर्तिपुरमा जारी क्राकनेको बन्दसत्रमा वैद्यले राजनीतिक, नीति तथा कार्यक्रम र सामरिक प्रस्ताव पेस गरेका छन् भने सीपी गजुरेलले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास, हेमन्तप्रकाश ओलीले नेपाली कम्युनिस्ट आन्दोलन, रामसिंह श्रीसले सांगठनिक, सन्तबहादुर नेपालीले जलवायुसम्बन्धी, परि थापाले धर्म संस्कृति, पवनमान श्रेष्ठले जातीय, सीताराम तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
महाधिवेशनले पार्टीको नयाँ कार्यदिशासहित केन्द्रीय समितिसहित नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।
