रमेश र शर्मिला माझी क्यानडाबाट फर्किएको भोलिपल्टै सिनामंगलस्थित होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
काठमाडौँ — सिनामंगलस्थित एक होटलको रेलिङमा गत साता झुन्डिएको अवस्थामा फेला परेका दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । मंसिर ८ मा क्यानडाबाट फर्किएका दुहबी नगरपालिका–८, सुनसरीका ३४ वर्षीय रमेश माझी र ग्रामथान गाउँपालिका–३, मोरङकी २९ वर्षीया शर्मिला माझी भोलिपल्ट बिहान मृत फेला परेका थिए ।
रमेश र शर्मिलाले २०६९ सालमा विवाह गरेका थिए । रमेश विज्ञानमा स्नातक गरेर स्नातकोत्तर अध्ययनका लागि सन् २०२२ मा क्यानडा पुगेका थिए ।
उनले केही महिनामा शर्मिलालाई पनि डिपेन्डेन्ट भिसामा बोलाएका थिए । मृतक दम्पतीका ६ वर्षका छोरा छन् । रमेश र शर्मिला नेपाल आउने जानकारी परिवारका कसैलाई पनि थिएन ।
‘बाआमालाई पनि क्यानडा लान्छु भन्नुहुन्थ्यो । मृत्युको खबर सुन्नुपयो,’ रमेशका भिनाजु नारदकुमार माझीले भने । दम्पतीबीच कहिल्यै झगडा भएको नसुनेको र उनीहरू क्यानडामा एउटै कम्पनीमा काम गर्ने गरेको भन्ने मात्रै जानकारी रहेको नारदले बताए ।
रमेश र शर्मिला काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेपछि एउटै बोतलबाट कोल्डड्रिक्स पिएका थिए । ‘उहाँहरू मसँगै कलेज पढेको साथीसँग कम्पनीमा काम गर्नु हुँदोरहेछ । साथीले उहाँलाई भेटेर नेपाली पैसा दिन भन्नुभएको थियो । मैले विमानस्थल छेउकै क्याफेमा बोलाएर पैसा दिएको थिएँ,’ रमेशलाई विमानस्थलमा भेटेका सौरभ भट्टले भने, ‘त्यही बेला मैले उहाँहरूलाई चिसो खान प्रस्ताव गरें, दुवै जनाले एउटै बोतलको चिसो खानुभयो ।’
होटलबारे जिज्ञासा राखेपछि आफूले नै चिनेको होटलमा बस्न सिफारिस गरेको पनि भट्टले सुनाए । ‘तर एक्कासि मृत्युको खबर सुन्दा झसंग भएँ,’ उनले भने । उनीहरू चार तलामाथि बरन्डाको रेलिङमा होटलका कामदारले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी सुकदेव खनालका अनुसार उनीहरू सँगसँगै होटल नजिकको किराना पसलमा पुगेको र दुई प्याकेट ब्लेड किनेर ल्याएको पाइएको छ ।
‘कोठाभरि रगत र ब्लेड छरिएको अवस्था थियो । दुवै जनाले ब्लेडले बायाँ हात काटेको प्रस्ट देखिन्थ्यो,’ खनालले भने, ‘पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ ।’
