सहकारी ठगीमा लामिछानेसँग चितवनमा बयान

मंसिर १९, २०८१

रमेशकुमार पौडेल

चितवन — संगठित रूपमा सहकारी ठगी गरेको कसुरमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग चितवनमा बयान सुरु भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि डेढ महिनाअघि पक्राउ परेका लामिछानेलाई काठमाडौंबाट जहाजमा मंगलबार ल्याएर बयान थालिएको हो । 

चितवन–२ का सांसदसमेत रहेका लामिछानेविरुद्ध भरतपुरस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा संलग्न रहेको उजुरी परेको छ ।

उक्त उजुरीका लागि अनुसन्धान अधिकृत रहेका चितवन प्रहरीका डीएसपी ज्ञानकुमार महतोले जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) शान्तिप्रसाद लुइँटेलसमक्ष लामिछानेको बयान लिन सुरु गरेका हुन् । मध्याह्न १२ बजे सुरु भएको बयान साढे ४ बजेसम्म चलेको थियो । बुधबार बिहानैबाट बयान लिइने तयारी छ । 

साहारा चितवन सहकारीमा सर्वसाधारणले गरेको बचतबाट १० करोड ८० लाख १८ हजार १ सय ५१ रुपैयाँ नियमविपरीत गोर्खा मिडिया प्रालिमा लगिएको उजुरीमा उल्लेख छ । रकम प्रवाह भएका बेला लामिछाने गोर्खा मिडियामा सेयर सदस्य, सञ्चालक तथा प्रबन्ध निर्देशक थिए ।

गोर्खा मिडियाका तत्कालीन सेयरधनी तथा सञ्चालक प्रहरीका पूर्वडीआईजी छविलाल जोशी र साहाराबाट नौ करोड ७३ लाख ८१ हजार रुपैयाँ गएको देखिएको नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सेयरधनी तथा सञ्चालक रामबहादुर खनाललाई आइतबार पोखराबाट चितवन ल्याएर प्रहरीले बयान लिएको थियो ।

बयान सकेर मंगलबार बिहान जोशी र खनाललाई कास्की पठाइएको चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । 

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन अनुसन्धानका लागि जोशी असोज ६, लामिछाने कात्तिक २ र खनाल कात्तिक ९ मा पक्राउ परेका हुन् । प्रहरीले लामिछाने र जोशीलाई कास्कीबाटै भैरहवा लगेर बुटवलको सुप्रिम सहकारी तथा काठमाडौं लगेर स्वर्णभूमि सहकारीको रकम अपचलनका विषयमा बयान लिइसकेको छ । 

लामिछानेलाई बयानका लागि मंगलबार भरतपुर विमानस्थल ल्याइपुर्‍याउँदा समर्थकले प्रवेशद्वारमा भेला भएर नाराबाजी गरेका थिए । लामिछाने चितवन प्रहरीको हिरासतमा आएको यो दोस्रो पटक हो । यसअघि सञ्चारकर्मी नै रहेका बेला लामिछाने अर्का सञ्चारकर्मी शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा २०७६ साउन ३० मा पक्राउ परेका थिए । त्यसमा उनले सफाइ पाएका थिए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully