पेकिङ विश्वविद्यालयले मदन भण्डारी विश्वविद्यालयलाई रणनीतिक सहयोग गर्न प्रधानमन्त्री ओलीको आग्रह

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli's request for Peking University to provide strategic support to Madan Bhandari University

बेइजिङ — प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र बेइजिङस्थित पेकिङ विश्वविद्यालयलाई नेपालको मदन भण्डारी विज्ञान तथा प्राविधि विश्वविद्यालयको शिक्षा क्षेत्रमा स्तरोन्नतीको लागि रणनीतिक सहकार्य गर्न आग्रह गरेका छन् ।

चार दिने औपचारिक चीन भ्रमणमा रहेका ओलीले मंगलबार बिहान पेकिङ विश्वविद्यालयमा सम्बोधनको क्रममा चीन र पेकिङ विश्वविद्यालयलाई मदन भण्डारी विश्विद्यालयसँग सहकार्यको लागि आग्रह गरेका हुन् ।

ओलीले सम्बोधनको सुरुआतमा निमन्त्रणाको लागि पेकिङ विश्वविद्यालयका अध्यक्षलाई धन्यवाद दिएका थिए । उनले भनेका छन्, ‘देशभक्तिको गौरवशाली परम्परासहितको विश्वविद्यालयमा बस्ने यो अवसरले मलाई गहन रुपमा उत्प्रेरित गरेको छ ।’

ओलीले सम्बोधनका क्रममा आफ्नो युवावस्थामा पेकिङ विश्वविद्यालयको प्रेरणादायक यात्राको विषयमा पढेको बताएका थिए । उनले सन् १९१९ मा उक्त विश्वविद्यालयमा साम्राज्यवाद विरोधी र सामन्तवाद विरोधी मे चौथो आन्दोलन सुरु भएको उल्लेख गरे । उनले भने,‘त्यो आन्दोलन आधुनिक चीनको इतिहासमा एउटा महत्त्वपूर्ण मोड थियो । र समृद्ध र लामो इतिहास बोकेको यो संस्थामा आज यहाँ उभिन पाउनु मेरो सौभाग्य हो ।’ 

कान्तिपुर संवाददाता

Link copied successfully